काठमाडौं । बैंकिङ क्षेत्रको समग्र सुधार तथा सुदृढीकरणका लागि गठित बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई अन्तिम प्रतिवेदन बुझाएको छ ।
कार्यदलका संयोजक डा. रेवतबहादुर कार्कीले सोमबार गभर्नर पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । कार्यदलमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दहाल सदस्य र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सदस्य सचिवका रूपमा रहेका छन् ।
बैंकिङ क्षेत्रको सुधार तथा स्थायित्व कायम गर्न आवश्यक नीति, संरचना र कार्यविधि सम्बन्धी सुझाव पेश गर्ने उद्देश्यले कार्यदल गठन गरिएको थियो । कार्यदलले यसअघि असार २४ गते प्रारम्भिक प्रतिवेदन बुझाइसकेकोमा सोमबार अन्तिम प्रतिवेदन बुझाइएको हो ।
गभर्नर पौडेलले प्रतिवेदनलाई गहन अध्ययन गरी आवश्यक कार्यान्वयनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिवेदनमा बैंकिङ क्षेत्रमा देखिएका वर्तमान चुनौतीहरूको समाधान, जोखिम व्यवस्थापन सुधार, वित्तीय पहुँच विस्तार, तथा नियामक क्षमता मजबुत बनाउने सम्बन्धी विस्तृत सुझाव समावेश गरिएको जनाइएको छ ।
नेपाल राष्ट्र बैंकले कार्यदलको प्रतिवेदनका आधारमा नीति तथा कार्यक्रम तयार पार्ने र सुधारको दिशामा थप कदम चाल्ने जनाएको छ ।
Comments are closed.