पोखरा । पर्यटन नगरी पोखराको लेकसाइडस्थित प्रतिष्ठितवर पिपल रिसोर्टले नेपाल सरकारबाट ‘ए’ ग्रेड अर्थात अति उत्तम खाद्य सुरक्षा दर्जा प्राप्त गरेको छ । नेपाल सरकार, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले रिसोर्टको खाद्य स्वच्छता, सरसफाइ, सुरक्षित भान्सा सञ्चालन र गुणस्तर नियन्त्रणको मापदण्डको मूल्याङ्कन गर्दै खाद्य सुरक्षाको प्रमाणपत्र प्रदान गरेको हो ।
पर्यटन क्षेत्रमा लामो अनुभव र आतिथ्यताको संस्कृति बोकेको वर पिपल रिसोर्ट पोखराको आतिथ्यता क्षेत्रमा एक भरपर्दो गन्तव्यको रूपमा परिचित छ । पोखराको रमणीय लेकसाइड क्षेत्रमा करिब १०.५ रोपनी जग्गा क्षेत्रफलमा फैलिएको यस रिसोर्टले नेपाली संस्कृति र आधुनिक सुविधाको सम्मिश्रण प्रस्तुत गर्दै ठूलो पुँजी लगानी गरेको छ । प्राकृतिक वातावरणसँग मेल खाने गरी स्थानीय वास्तुकला र सामाग्रीको प्रयोग गरेर निर्माण गरिएको यस रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई विश्वस्तरीय सुविधा प्रदान गर्न भौतिक पूर्वाधारमा निरन्तर लगानी विस्तार गर्दै आएको छ ।
वर पिपल रिसोर्टले नेपालको पर्यटन तथा आतिथ्यता क्षेत्रमा उल्लेख्य रूपमा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसरहरू सिर्जना गरेको छ । यस रिसोर्टमा कार्यकारी शेफ, भान्सा टोली, एफ एन्ड बी टोली, हाउसकिपिङ, इन्जिनियरिङलगायत विभिन्न विभागमा थुप्रै दक्ष नेपाली जनशक्तिले नियमित रोजगारी पाइरहेका छन् । व्यवस्थापनले सम्पूर्ण कर्मचारीहरूको संयुक्त प्रयास, कडा परिश्रम, अनुशासन र टिमवर्कलाई नै यो सफलताको प्रमुख आधार मानेको सञ्चालक अमरजंग (जितु) तमुले बताए । यो रिसोर्टले करिब २ सय जनालाई रोजगारी दिएको छ ।
विगतदेखि नै पाहुनाहरूको स्वास्थ्य, सुरक्षा र सन्तुष्टिलाई सर्वोपरी ठान्दै आएको वर पिपल रिसोर्टले खानपानको गुणस्तरमा कुनै पनि सम्झौता गरेको छैन । खाद्य भण्डारण, सरसफाइ, सुरक्षित खाद्य व्यवस्थापनदेखि लिएर भान्साको अन्तिम सेवाप्रवाहसम्म अपनाइएको कारण आज सरकारी तहबाटै ‘ए’ ग्रेडको मान्यता पाउन सफल भएको सञ्चालन तमुको भनाइ छ ।

सरकारबाट प्राप्त यो सम्मानले पोखराको समग्र पर्यटन उद्योगलाई नै अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश दिएको छ भने वर पिपल रिसोर्टले आगामी दिनहरूमा पनि यी मापदण्डहरूलाई अझ सुदृढ गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।
वर पिपलसँगै फार्म हाउस, घान्द्रुकमा नयाँ रिसोर्ट चलाइरहेका तमुको पोखरा लेकसाइडमै अर्को सिल्भर वार्क होटल सञ्चालनमा गरिरहेका छन् ।




Comments are closed.