काठमाडौं वाराही होटल अन्तिम चरणमा, सेदीमा पनि पाँचतारे होटल खोल्दै वाराही ग्रुप

सुरेन्द्र पौडेल, काठमाडौं । वाराही ग्रुपको लगानी रहेको ‘होटल वाराही काठमाडौं’को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । काठमाडौंको कान्तिपथ केशरमहलमा सञ्चालनमा आउन लागेको चार तारे होटलको भवन निर्माणको काम सकिएको छ । सन् २०२२ भित्र सञ्चालनमा ल्याउने गरी रुमहरु फिनिसिङ र फर्निसिङको काम भइरहेको सञ्चालक विप्लव पौडेलले आर्थिक आवाजलाई जानकारी दिए ।

वाराही प्लाजाको पहिलो ३ तला व्यावसायिक प्रयोजनका लागि प्रयोग हुनेछ । ‘पहिलो तीन फ्लोर भाडामा दिनेगरी तयार भएको छ,’ पौडेलले भने । भवनमा डबल बेसमेन्ट पार्किङका लागि प्रयोग हुनेछ । जहाँ ७० वटा भन्दा बढी गाडी अट्नेछन् ।

माथिका ७ वटा तलामा होटल सञ्चालन हुनेछ । होटलमा ८० वटा रुम हुनेछन् । वल्र्डक्लास होटलमा ८ वटा स्विट र ७२ वटा डिलक्स रुम हुने पौडेलले जानकारी दिए । इन्फिनिटी स्विमिङ पुलसहित होटलमा लाउन्ज बार, मिटिङ हलहरु, २ वटा रेष्टुरेन्ट, कफी सप लगायत रहने बताइएको छ । होटलमा १ अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको छ । बैंकिङ पार्टनरमा कुमारी बैंक रहेको छ ।

jutta mela

होटल वाराही पोखराबाट पर्यटनमा पाइला अगाडि बढाएको वाराही समूहले पर्यटन क्षेत्रमा आक्रामक रुपमा लगानी विस्तार गरिरहेको छ । यो समूहको लगानीमा चितवनको मेघौलीमा वाराही जंगल लज र कास्कीको सराङकोटमा सराङकोट माउन्टेन लज सञ्चालनमा छ ।

यसैबीच, वाराही समूहको नेतृत्वमा पोखराको लेकसाइडस्थित सेदीमा पाँचतारे होटलमा लगानी हुने भएको छ । ‘वाराही सेदी लि. फाइभ स्टार होटल’ मा १ सय ५० रुम हुनेछन् । यो प्रोजेक्टलाई पब्लिक लिमिटेड कम्पनीको अवधारणाबाट अगाडि बढाउन लागिएको पौडेलले जानकारी दिए । ‘यो प्रोजेक्ट निर्माणको काम भदौ अन्तिमबाट सुरु हुनेछ,’ उनले भने ।

वाराही ग्रुपले नेतृत्व गर्ने यो प्रोजेक्टमा अन्य लगानीकर्ताहरु पनि आबद्ध हुने पौडेलले बताए । ६५ रोपनी जग्गामा यो प्रोजेक्ट सञ्चालन हुनेछ । निर्माण सम्पन्न हुन साढे ३ वर्ष लाग्ने उनले बताए । ‘यो प्रोजेक्टका बारेमा विस्तृत योजना केही दिनपछि सार्वजनिक गर्नेछौं,’ उनले भने । वाराही ग्रुपले लुम्बिनीमा पनि छिट्टै होटल निर्माण सुरु गर्ने तयारी गरेको छ । वाराही ग्रुपबाट हाल ८ सय भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

You might also like

Comments are closed.