बर्तमान कार्यसमितिमा मैले उपाध्यक्षको जिम्मेवारीमा रहेर नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघमा काम गरिरहेको छु । यसैक्रममा महासंघको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय महाधिवेशन वैशाख १८ गते बिहीबार काठमाडौंमा हुँदैछ । महाधिवेशनमा सहभागी हुन देशभरबाट काठमाडौं आउनुभएका सम्पूर्ण हेभी इक्विपमेन्ट व्यवसायीहरुलाई हार्दिक स्वागत गर्दछु । महाधिवेशनको पूर्व सन्ध्यामा हामीले प्रचारप्रसार लगायत सम्पूर्ण तयारी पुरा गरेका छौं ।
पछिल्लो समय हेभी इक्विपमेन्ट व्यवसायले भोग्नुपरेका समस्याहरुको समिक्षासहित भावी योजना तर्जुमा गर्नका लागि यो महाधिवेशन विशेष महत्वपूर्ण रहने हामीले विश्वास गरेका छौं । हामीले भोग्नुपरको विविध समस्याहरुको समाधानका लागि महासंघले आगामी दिनमा थप विशेष रणनीति बनाउन जरुरी छ । महासंघको महाधिवेशनबाट थप म्यान्डेट लिदै यो क्षेत्रको व्यावसायिक हितमा महासंघले थप जिम्मेवारीका साथ काम गर्नेछ भन्ने हामीले विश्वास लिएका छौं ।
राजधानी काठमाडौं मात्र नभइ देशभरको व्यवसायमा उत्साह ल्याउने जिम्मेवारी हाम्रो हो । योे जिम्मेवारीमा महासंघले आफ्नो भूमिकालाई आगामी दिनमा अझै सशक्त बनाउनुपर्ने महसुस गरेको छु । हामी सबै मिलेर महासंघलाई थप बलियो र एकताबद्ध बनाउन म देशभरका सम्पूर्ण व्यवसायी साथीहरुमा आग्रह गर्दछु । नयाँ बन्ने कार्यसमिति सशक्त र राम्रो बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
Comments are closed.