बतास अर्गनाइजेसनमाथि एकतर्फी प्रहार गम्भीरः महासंघ

काठमाडौं । मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढि हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फीरुपमा चरित्र हत्या र मानमर्दनप्रति भइरहेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ चिन्ता व्यक्त गरेको छ । महासंघले शुक्रबार विज्ञप्ती जारी गरी पछिल्लो समय नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया संचालन सम्बन्धी विवादमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘बतास अर्गनाइजेसनले सरकारले आव्हान गरेको टेन्डरमा कानूनी रुपमा सहभागी भई आवश्यक भाडा बुझाउने शर्तमा क्याफ्टेरिया संचालनको अनुमति पाएको हो । सरकारी निकायले अनुमति दिएकोमा स्वभाविक रूपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु कुनै गैर कानुनी र आपराधिक गतिविधि नभएकोतर्फ महासंघ सबैको ध्यानाकर्षण गराउन चाहान्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रक्रिया र कानूनविपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारवाही गर्ने कुरालाई महासंघले कहिल्यै पनि अन्यथा लिंदैन तर त्यसको सत्यतथ्य खोजी हुनुु पर्छ भन्ने हाम्रो मान्यता छ । संचारमाध्यममा आएका समाचारकै भरमा, स्पष्टिकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु कदापी न्याय संगत होइन ।’

सरकारी स्रोतमा व्यवसाय गर्न अनुमति दिइसकेको सन्दर्भमा एकतर्फीरुपमा व्यवसायीलाई मात्र दोष दिएर निजी क्षेत्रको मनोबल गिराउन भइरहेका गतिविधिले मुलुकमा लगानी नहुने र यसले रोजगारीमा समेत गम्भीर असर पर्न जाने भन्दै महासंघले चिन्ता व्यक्त गरेको छ ।

‘महासंघ मर्यादित र विधिसम्मत व्यवसायको पक्षधर हो । तर विधिसम्मत पेशा व्यवसाय गर्न पाउने आम नागरिकको संवैधानिक अधिकारमाथि प्रहार हुन नदिने विषयमा पनि महासंघ प्रष्ट छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः व्यवसायीमाथि एकतर्फीरुपमा विना कुनै प्रमाण कहि कतैबाट पनि प्रहार नगर्न नगराउन महासंघ सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहान्छ ।’

You might also like

Comments are closed.