पोखरा । नेपालको प्रतिष्ठित व्यावसायिक घराना बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले पोखरामा अक्सिजन प्लान्ट बनाउने अभियानको नेतृत्व गरिरहेका छन् । अक्सिजन प्लान्टका लागि उनको सक्रियतामा सहयोग संकलन जारी छ ।
बतासले सहयोग संकलन मात्रै होइन आफ्नै तर्फबाट पनि प्लान्टका लागि ठूलो धनराशी सहयोग गरेका छन् । उनले ५३ लाख रुपैयाँ सहयोग गरेका हुन् । बतास फाउन्डेसन मार्फत २५ लाख रुपैयाँ, बतास अर्गनाइजेसको सिस्टर अर्गनाइजेसन बि रिभर माइनिङ प्रालिबाट २५ लाख रुपैयाँ र लाइफ अटोमोबाइल्स प्रालिबाट ३ लाख रुपैयाँ बतासले सहयोग गरेका छन् ।
कोरोना संक्रमित बढिरहेका र हस्पिटलहरुमा अक्सिजन अभाव भइरहेको अवस्थालाई मध्यनजर गरी बतासको अग्रसरता र पहलमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा अक्सिजन प्लान्ट स्थापना हुँदैछ । प्लान्टका लागि करिब ५ करोड रुपैयाँ लाग्ने र सहयोग संकलन हुने क्रम जारी रहेको बतासले आर्थिक आवाजलाई जानकारी दिए ।
आफूले नेतृत्व गरे पनि यो अभियान पोखरेलीहरुको साझा अभियान भएको बतासले बताए । ‘भोलि पोखरामा हजारौं बिरामीलाई एकैपटक अक्सिजन आवश्यक पर्यो भने के गर्ने ?’ उनले भने, ‘त्यसका लागि आजैबाट काम गरौं ।’ पोखरा तथा गण्डकी प्रदेश क्षेत्रका बिरामीहरुका लागि आवश्यक पर्ने अक्सिजन पुरा गर्न यो योजनाले योगदान पुर्याउने विश्वास गरिएको छ ।
Comments are closed.