बेष्ट फाइनान्सको ‘ग्रीन सेभिङ्स डिपोजिट’ सार्वजनिक, गोदावरीमा ५०० बिरुवा रोपण

काठमाडौं । जलवायु परिवर्तनका जोखिम न्यूनीकरण, प्राकृतिक स्रोतको संरक्षण तथा वातावरणीय प्रदूषण नियन्त्रण गर्ने उद्देश्यसहित नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी, २०२४’ कार्यान्वयनतर्फ निजी क्षेत्रका वित्तीय संस्थाहरु पनि अग्रसर हुन थालेका छन्।

यसै सन्दर्भमा, बेष्ट फाइनान्स लिमिटेडले ‘ग्रीन फाइनान्सिङ’ को प्रवर्द्धन गर्न र दिगो वित्तीय अभ्यासलाई समर्थन गर्न ‘ग्रीन सेभिङ्स डिपोजिट प्रडक्ट’ ग्राहक माझ ल्याएको छ। यस योजनामार्फत निक्षेप गर्ने प्रत्येक ग्राहकको तर्फबाट एक वटा बिरुवा रोप्ने व्यवस्था कम्पनीले मिलाएको छ।

बिरुवा रोप्नका लागि आवश्यक स्थानको छनोट, गोडमेल, संरक्षण तथा हुर्काइ कार्यका लागि बेष्ट फाइनान्सले लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपालसँग साझेदारी गरेको छ। यो साझेदारीमा बेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती र लायन्सको तर्फबाट एरिया चिफ कोअर्डिनेटर चिन्तन वज्राचार्यले सहमति हस्ताक्षर गरेका छन्।

यस साझेदारीको प्रारम्भस्वरूप गोदावरी नगरपालिका वडा नं. १ गोदामचौरस्थित खाली जग्गामा संयुक्तरुपमा ५०० बिरुवा रोपिएको छ। वृक्षारोपण कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. १ का अध्यक्ष श्रीराज थापा, बेष्ट फाइनान्सका अध्यक्ष प्रा.डा. रामजी गौतम, प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती, कर्मचारीहरू, तथा लायन्सका क्षेत्रीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एस नेपालअन्तर्गत ५० भन्दा बढी क्लबहरूले वृक्षारोपण अभियानप्रति ऐक्यबद्धता जनाएका थिए। बेष्ट फाइनान्सले यस कार्यक्रमलाई दीर्घकालीन रूपमा लैजाने प्रतिबद्धता जनाएको छ, जसअन्तर्गत ५ वर्षसम्म बिरुवाको संरक्षण गरी पछि स्थानीय निकायलाई हस्तान्तरण गरिनेछ।

यस अभियानले ग्रीन फाइनान्सिङमार्फत जलवायु प्रतिरोधात्मक आर्थिक विकासमा निजी क्षेत्रको भूमिका बलियो बनाउने अपेक्षा गरिएको छ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.