दुई फरक गुण, क्षमता र स्वभाव भएका जातबीचको क्रसमार्फत निकालिएको बिउ नै हाइब्रिड बिउ हो । हाइब्रिड बिउले पहिलो पुस्तामा उत्पादन डेड दुई गुणासम्म बढाउँछ । तर दोस्रो पुस्ता पछि भने यसले काम गर्दैन । त्यसकारण हाइब्रिड बीउ हरेक वर्ष किन्न पर्ने बाध्यता किसानलाई छ । उन्नत र वर्णशंकर बिउ देशका कुना कन्दरासम्म पुगेपछि रैथाने बाली नाशिएको मात्र छैन कि बिउ जोगाउन हम्मेहम्मे परेको छ । रैथाने बिउको संरक्षण गर्न नसक्दा जैविक चोरीको जोखिम बढेको छ ।
स्थानीय र परम्परागत बालीको बिनासले अनाज र तरकारीको तिक्खर स्वाद मात्र होइन पोषण र गुण पनि हराउँदै गएको छ । राष्ट्रिय कृषि गणना २०५८ मा वर्णशंकर (हाइब्रिड) बिउको प्रयोग गर्ने परिवार नेपालमा धान २५%, गहुँ ३०%, मकै १५%, आलु २७% र तरकारी ३०% घर परिवार छन् । राष्ट्रिय कृषि गणना २०७८ मा आइपुग्दा यो संख्या बढेर धान ४४%, गहुँ ३३%, मकै २५%, आलु ३६% र तरकारी ३५% ले प्रयोग गर्ने गरेको तथ्यांक छ । यो तथ्यांकले के देखाउँछ भने प्रत्येक वर्ष हाइब्रिड बिउ प्रयोगकर्ताको संख्या बढिरहेको छ र बिउमा परनिर्भरता पनि बढिरहेको छ भन्ने कुरा सजिलै आँकलन गर्न सकिन्छ ।
नेपालमा पहिलो पटक सन् १९६० को दशकमा उन्नत जातको बिउ भित्रिएको थियो । वर्णशंकर हाइब्रिड बिउ देखिन थालेको १९९० देखि मात्र हो । तर यति छोटो अवधिमा आयातित विउविजन देशका कुना कन्दरासम्म फैंलँदा भएकामध्ये आधाभन्दा बढि रैथाने बिउ मासिसकेको अवस्था छ । १५–२० वर्ष अघिसम्म एउटै गाउँमा ५० प्रकारसम्मका धानबाली पाइन्थ्यो अहिले ४/५ प्रकारका पाउन पनि गाह्रो भइसक्यो । कृषि आनुवंशिक स्रोत केन्द्र (जीन ब्यांक) का अनुसार हाइब्रिडको जगजगीले धान मात्रै होइन मकै, गहुँ जस्ता अन्नबाली, तरकारी, फलफुल एवं दलहन र तेलहन बालीका रैथाने बालीसमेत मासिदै छन् । यद्यपि कोदो, फापर, चिनो, कागुनो, उवा र जौ जस्ता भने धेरैजसो स्थानीय बिउ नै छन् ।
हाइब्रिड बिउका कारण कालानमक, झिनुवा, कृष्णभोग, अनदी, मन्सरा, लल्का, बासमती तथा मसिनो पोखरेली जस्ता रैथाने बास्नादार र स्वादिलो धानको बिउ अचेल भेट्न निकै मुस्किल छ । बोडी, सिमीका स्थानीय जात, मसिनो चुच्चे करेला, रैथाने काँक्रो, रायो, ठूलठूला झाल हुने स–साना लोकल गोलभेंडा, कुभिण्डो, पाटे घिरौंला, घैया धान, रातो चामल हुने सिम्ठरो धान, पहेंली मकै, सेती मकै, रैथाने मास–मस्याङ, भट्मासको बिउ समेत भेट्न मुस्किल छ । जुन अन्नबालीहरू मानव स्वास्थ्यका दृष्टिकोणले धेरै महत्वपूर्ण थिए । नेपालका पहाडी तथा हिमाली मौसमसँग सुहाउँदा बालीहरू थिए । रोग तथा किरा लागिहाले पनि तितेपातीको झोल तथा खरानी हाल्नाले ठिक हुन्थ्यो । हाइब्रिड बालीलाई जस्तो बढि मूल्य तिरेर शहरबाट किटनाशक विषादी खरिद गर्नुपर्ने बाध्यता थिएन ।
यस्तो किन भइराखेको छ त ? बुझ्न धेरै गाह्रो छैन प्रतिस्पर्धी बजार छ । बजारमा लोकल सामान भन्दा विकासे सामान बढि आकर्षण देखिदा विकासे सामानै बढी बिक्री हुने गर्दछ । काम गर्न सक्ने जनशक्ति बिदेशिएको छ । ज्यालाले आकाश छोएको छ । लोकल सामान बढि मेहनतका बाबजुत पनि कम उत्पादन हुने र बजार मूल्य पनि बराबर हुने हुनाले कृषकहरूको आकर्षण हाइब्रिड बिउतिर बढेको छ । व्यावसायिक कृषिलाई प्रवद्र्धन गर्न सरकार स्वयंले नै आयातित हाइब्रिड बिउ प्रयोग गर्न किसानलाई उक्साइरहेको छ । जीन ब्यांकका अनुसार नेपालमा वर्षेनी धान, गहुँ र आलुका २ हजार ५ सय थरिका बिउ भित्रिरहेका छन् भने राष्ट्रिय बिउविजन समितिले ३६३ प्रकारका आयातित वर्णशंकर (हाइब्रिड) लाई मात्र बिक्रीबितरण गर्ने सूचीमा राखेको छ ।
जसको कारण बजारमा नक्कली वा गुणस्तरहीन हाइब्रिड बिउ पाइने समस्या छ भने अर्कोतिर किसानको लगानी डुब्ने र माटोको अम्लियपना बढ्ने सम्भावना पनि उत्तिकै छ । हाइब्रिड बिउका असर र प्रभावका बारेमा बुझ्ने काम किसानको होइन यो त सरकारले विराट कृषि योजना अन्तर्गत समेट्नु पर्ने कुरा हो । रैथाने जातको संरक्षण गर्नुपर्ने दायित्व पनि सरकारको हो । किसानलाई त लुकिछिपी आएका बिउको बारेमा समेत जानकारी नभएर कहिले धानमा भुस मात्र फल्ने कहिले मकैको घोगा लाग्ने तर दाना नहुने समस्यामा नेपाली किसान गुज्रिरहेको अवस्थासमेत कहिलेकाहीं समाचारमा आएको सत्यता हामीमाझ छिपेको छैन ।
हाइब्रिड बिउले तत्काल लाभ दिएता पनि आयातित हाइब्रिड बिउमा भर पर्दा अनेकौं जोखिम छन् । हाइब्रिड बिउ एक पुस्तालाई मात्र काम लाग्छ, रैथाने बालीमा पुस्तौंसम्मको प्रजनन् क्षमता हुन्छ । आफ्नो रैथाने बिउ नासिंदै जाँदा विकल्प सीमित हुने हुनाले खाद्य असुरक्षा बढ्छ । हाइब्रिड बिउ दोस्रो पुस्ताबाट राम्रो नहुने र अधिकांश यस्ता बिउ विदेशबाट आउने कारणले गर्दा नेपाल थप हाइब्रिड बिउ आयातको दुष्चक्रमा फस्दै जान्छ । आयातीत बिउमा मात्र भर पर्दा केही कारणले अन्य देशबाट बिउ आउन रोकियो भने बिउ संकटकै जोखिम आइपर्दछ । हरेक वर्ष नेपालमा बिउको आयात बढिरहँदा बिउमा क्रमशः देश परनिर्भर हुँदै जान्छ । यदि नेपाली किसानले आफ्नै खेतबारीको अन्न बिउको रुपमा छनौट गर्न नसक्ने परिस्थित सृजना हुँदै जाने हो भने र बिउमा विदेश निर्भर हुँदै जाने हो भने देशको कृषि प्रणाली नै विदेशको पकडमा जान बेर लाग्ने छैन ।
प्राकृतिक अवस्था फेरिने बित्तिकै वा सामान्य रोगकीरा लाग्ने वित्तिकै हाइब्रिड बाली जोगाउन कठिन हुन्छ । किटनासक विषादीको प्रयोगबिना हाइब्रिड बालीमा लागेको रोग नियन्त्रण गर्न सकिदैन । हाइब्रिड बिउ मात्र हैन यसमा प्रयोग हुने विषादीसमेत विदेशी कम्पनीबाट खरिद गर्नुपर्ने अवस्था छ । त्यसको ठिक उल्टो रैथाने जातमा यस्तो जातीय गुण र क्षमता हुन्छ जसमा सयौं पुस्तासम्म पनि प्रजनन् क्षमता उस्तै रहन्छ । त्यस्तै हावापानी सहन सक्ने र रोगकीरा प्रतिरोधी क्षमता पनि स्थानीय बालीमा बढी हुन्छ ।
हाइब्रिड बिउको प्रयोगसँगै बालीलाई हानी पु¥याउने झार लगायत विरुवाहरूमा लागेका वा लाग्ने रोगहरू नियन्त्रण गर्न वा यस्ता रोगबाट बचाउन कृषिमा विषादीको मात्र प्रयोग गर्नेको परिवार संख्या पनि बढिरहेको छ । राष्ट्रिय कृषि गणना २०७८ अनुसार नेपालमा विभिन्न बालीहरूमा किटनाशक विषादीको प्रयोग गर्ने कृषक परिवारको प्रतिशत: धानमा ४५%, मकैमा २३%, गहुँमा २८%, आलुमा ३६% र तरकारीमा २७% ले प्रयोग गर्ने गरेको पाइन्छ । भने नेपालको अन्न भण्डार मानिने मधेश प्रदेशमा त झन् किटनाशक विषादीको प्रयोग धानमा ७२%, मकैमा ७०%, गहुँमा ६४%, आलुमा ६४% र तरकारीमा ५६% परिवारले प्रयोग गर्ने गरेको पाइन्छ ।
हाइब्रिड बिउबाट धेरै उत्पादन बढाउन र किरा, मुसा, चरा, झार तथा रोगका कारकका रुपमा रहेका शुक्ष्म जिवाणुहरू जस्तै ढुसी, व्याक्टेरिया, भाइरस आदिबाट जोगाई उच्चतम प्रतिफल लिन कृषि विशेषज्ञहरूबाट नै यी विषादीको प्रयोग गर्न कृषकहरूलाई सुझाउने गरेको पाइन्छ । तर यी औषधी नभएर विषका रुपमा रहेका यस्ता सामग्रीहरूको एथोचित सावधानीपूर्वक प्रयोग नगरिएको खण्डमा यसले भविश्यमा मानव स्वास्थ्यका साथै जैविकीय वातावरण समेतमा गम्भिर हानी नोक्सानी पु¥याउने कुरालाई भने कृषि विशेषज्ञहरूले पनि ध्यान पु¥याउन नसकिरहेको अवस्था छ ।
हाइब्रिड विउको कारण उत्पादन बढि नै भएपनि किसानले त्यसबाट अर्को वर्षलाई विउ उत्पादन गर्न तथा बिउको रुपमा अन्यत्र बिक्री वितरण गर्न सक्ने अवस्था छैन । अरु त परै जावस नेपालका पहाडी बहाली तथा कृषि अनुसन्धान केन्द्रलाई समेत हाइब्रिड बिउ उत्पादन गर्ने तरिका सिकाइएको छैन । छिमेकी मुलुक भारत तथा चीनले नेपाललाई अनुदान दिने नाममा नेपाली कृषि भूमिलाई खुलेलाम हाइब्रिड बिउको प्रयोगशाला बनाई हाइब्रिड बिउको परीक्षण गरिरहेका छन् । यस्ता कार्यमा नेपाल सरकारको ध्यान जानु जरुरी छ । राजनीतिक आडमा फस्टाएका विदेशी कम्पनीहरूले भोलि देशलाई बिउमा नै परनिर्भर बनाउन बेर लाग्ने छैन ।
विश्व खाद्य तथा कृषि संगठनले पनि गएको बिसौं शताब्दीमा मात्र विश्वको बाली विविधतामा पूर्ति गर्नै नसकिने गरी करिब ७५% बाली नास भइसकेको उल्लेख गरेको छ । नेपालमा पनि ५०% भन्दा बढि रैथाने बाली नाश भइसकेको नार्ककको आंकलन छ । स्थानीय हावापानी अनुकुल रोग तथा किरा सहने बाली मासिदै जानु खाद्य सुरक्षाका लागि मात्र हैन जैविक विविधताकै कारणले पनि चिन्ताजनक मानिन्छ । बाली विविधतामा ह्रास आएसँगैं नेपाली माटोको विशेषता र विशिष्ट उत्पादन समेत हराउन थालेको छ । स्थानीय र परम्परागत बालीको बिनासले अनाज र तरकारीको तिक्खर स्वाद मात्र होइन, पोषण र गुण पनि हराउँदै गएको छ । उत्पादन धेरै हुने लोभका कारण खेतबारी विकासे जातका तरकारी तथा फलफुलले ढाकिएका छन् ।
यद्यपि, विभिन्न बालीका ३० हजार भन्दा बढी रैथाने जात अझै धेरैथोरै नेपाली माटोमा रहेको अनुमान छ । बेलैमा हाइब्रिड बिउको प्रतिस्थापन गरी स्थानीय रैथाने जातका बिउको संरक्षणमा सरकार तथा सरोकारवाला पक्षको ध्यान नजाने हो भने बिउमा परनिर्भरता, उच्च लागत, जैविक विविधतामा असर, जलवायु अनुकुलनमा समस्या, गुणस्तर नियन्त्रणमा समस्या, मानव स्वास्थ्यमा समस्या आदिले भविश्यका सन्ततीलाई पार लगाउनै नसक्ने गरी कृषि क्षेत्रको झन् ठूलो समस्या आइपर्नेछ ।
‘बिउ जोगाउँ, देश समृद्ध बनाउँ !’
(लेखक दाहाल नेपाल कृषि तथा पशुपंक्षी व्यवसायी संघको सदस्य हुन् ।)





Comments are closed.