पूँजीबजार कुनै पनि देशको अर्थतन्त्रको इन्जिन हो । छरिएर रहेको सानो–सानो बचतलाई संकलन गरी पूँजी निर्माणमार्फत परिचालन गर्न यसले मेरुदण्डको काम गर्छ । जब देशमा एक विकसित पूँजीबजार हुन्छ, तब मात्र अर्थतन्त्रले बचतको अधिकतम उपयोग गर्न सक्छ । सर्वसाधारण र संस्थाहरूले आफ्नो बचतलाई सेयर वा ऋणका रूपमा सरकार र कर्पोरेट क्षेत्रमा लगानी गर्न तब मात्र उत्साहित हुन्छन्, जब दोस्रो बजार स्वस्थ र तरल हुन्छ ।
दोस्रो बजारमा प्रवेश गर्ने लगानीकर्ताका लागि स्टक ब्रोकरहरू मुख्य ‘गेटवे’ हुन् । ब्रोकरहरूको सेवाको गुणस्तर, व्यावसायिक पूर्वाधार, इमानदारी र नैतिक आचरणले नै लगानीकर्तालाई बजारमा आकर्षित गर्ने र टिकाइराख्ने काम गर्छ । त्यसैले, ब्रोकर सेवालाई थप व्यावसायिक र मर्यादित बनाउनु आजको आवश्यकता हो । वि.सं. २०५१ (सन् १९९४) मा स्थापना भएको स्टक ब्रोकर एसोसिएसन अफ नेपाल सबै अनुमति प्राप्त ब्रोकरहरूको छाता संगठन हो । हाम्रो मुख्य उद्देश्य पारदर्शी, प्रतिस्पर्धी र गुणस्तरीय सेवामार्फत स्वस्थ बजारको विकास गर्नु हो । नेपालमा अनुमति प्राप्त ब्रोकरहरू सबै यस संस्थाका सदस्य छन् ।
विगत ३१ वर्षदेखि यो संस्थाले नीतिगत वकालत, सदस्यहरूको व्यावसायिक क्षमता अभिवृद्धि, आचारसंहिता कार्यान्वयन र लगानीकर्ता सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । सरकार, नियामक निकाय, नेप्से र लगानीकर्ताहरूका बीचमा एसोसिएसन एक जिम्मेवार संस्थाको रूपमा स्थापित छ । हाम्रो वर्तमान कार्यसमितिले बजारको वृहत्तर हित र ब्रोकरहरूको व्यावसायिक सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको छ । संस्थाको काम तथा गतिविधिमा सदस्य संस्थाहरूको साथ, सहकार्य र सकारात्मक प्रतिक्रियाले हामीलाई काम गर्न उत्साही बनाउँदै आइरहेको छ ।
देशको मौजुदा ऐन, नियम र कानुनको पूर्ण पालना गर्दै सदस्यहरूलाई थप व्यावसायिक र अनुशासित बनाउने अभियानमा हामी छौं । जसले गर्दा बजार स्वस्थ र पारदर्शी बनोस् भन्ने हाम्रो उद्देश्य हो । सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थागत रूपमै देशभर लगानीकर्ता सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने काममा हामी सक्रिय छौं । जेन जी आन्दोलन पछि बालाजू प्रहरी कार्यालय पुनर्निर्माणमा सहयोग लगायतका गतिविधि पनि गरेका छौं । सदस्यहरू र कार्यरत कर्मचारीहरूको व्यावसायिक दक्षता बढाउन विभिन्न तालिम, गोष्ठी, अन्तक्र्रिया र कार्यशालाहरू आयोजना गर्ने, बजारको विस्तार र सुरक्षाका लागि समय सान्दर्भिक नीतिगत सुझावहरू प्रदान गर्ने र सदस्यहरूको हकहितका लागि वकालत गर्ने लगायत गतिविधि तथा योजना अनुरुप संस्थाले काम गर्दै आइरहेको छ ।
स्टक ब्रोकर एसोसिएसनलाई राजधानी काठमाडौंमा मात्रै सीमित राख्नु हुँदैन भनेर हामीले यस पटक पर्यटनको राजधानी शहर पोखरामा ३१औं साधारणसभा आयोजना गरेका छौं । सम्पूर्ण ब्रोकर सदस्यलाई पोखरामा हार्दिक स्वागत गर्दछौं । पूँजीबजारको विकासमा देखिएका चुनौतीहरूलाई चिर्दै अघि बढ्न हामी प्रतिबद्ध छौँं । हामी सबैको सामूहिक प्रयासबाट हामीले परिकल्पना गरेको ‘सवल र समृद्ध’ पूँजीबजारको लक्ष्य प्राप्त हुनेमा हामी विश्वस्त छौं ।




Comments are closed.