दोधाराचाँदनीको सुक्खा बन्दरगाहलाई चाँडै कार्यान्वयनमा ल्याउछौं : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले कञ्चनपुरस्थित दोधाराचाँदनीको सुक्खा बन्दरगाहलाई चाँडै कार्यान्वयनमा ल्याउने बताए ।

कैलाली उद्योग वाणिज्य सघंले आज धनगढीमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा भण्डारीले वर्तमान सरकार कञ्चनपुरस्थित दोधाराचाँदनीको सुक्खा बन्दरगाहलाई चाँडै कार्यान्वयनमा ल्याउने कुरामा वचनबद्धता व्यक्त गरेका हुन् ।

अझै थुप्रै औद्योगिक क्षेत्रका सम्भावना, त्यसका सम्भाव्यताबारे पहिचान गरेर आगामी आर्थिक वर्षमा सुदूरपश्चिमवासीले औद्योगिक क्षेत्रको विकासमा केही नयाँ उपलब्धि पाउने मन्त्री भण्डारीले जानकारी गराए।

साथै, उनले कुन ठाउँमा कुन वस्तुको सम्भाव्यता छ भनेर सम्पूर्ण अध्ययन पूरा गर्ने गरी मातहतका निकायलाई निर्देशन दिइसकिएको जानकारी दिए।

उनले भने,’आज पनि दार्चुलामा कपर खानी छ, सिसा खानी छ, बैतडीमा फलाम खानी छ, र अन्य जिल्लामा पनि थुप्रै सम्भावना छन्, यी कुरालाई पनि हामी प्राथमिकतामा राख्छौँ।’

उनले छिटोछरितो राज्यबाट हुने सेवा प्रवाहलाई कार्यान्वयन गर्ने कुरा सरकारको पहिलो प्राथमिकतामा रहेको बताए। आगामी फागुन १ गते प्रधानमन्त्रीको उपस्थितिमा सुक्खा बन्दरगाहको अवलोकन गर्ने र त्यसलाई नेपाल-भारत सरकारबीचको समझादारीमा निर्माण कार्यलाई चाँडै प्रारम्भ गरिने समेत उनले बताए।

 

You might also like

Comments are closed.