काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि, वन, जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताको माध्यमबाट स्वावलम्बी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने बताएकी छन् ।
पर्वतको जलजला गाउँपालिका-२ पूर्ण गाउँमा निर्माण भएको आदि बराह मन्दिरको आज उद्घाटन गर्दै कृषि, वन, जलस्रोत र पर्यटनमा आधारित उद्यमशीलताको माध्यमबाट स्वदेशी उत्पादनमा वृद्धि एवम् रोजगारीको सिर्जना गर्दै र स्वावलम्बी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने बताएकी हुन् । साथै उनले जैविक विविधताको संरक्षण र कृषि उपजको बजारीकरणको माध्यमबाट ग्रामीण अर्थतन्त्रको विकासमा टेवा पुर्याउन सकिने बताएकी हुन् ।
‘सार्वजनिक रूपमा ध्यान पुग्न नसकेका धेरै ऐतिहासिक मठमन्दिर र पर्यटकीय स्थल मुलुकका विभिन्न स्थानमा छरिएर रहेका छन्’, उनले भनिन्, ‘स्थानीय, प्रदेश र सङ्घीय सरकारले अग्रसरता लिएर यस्ता स्थलको संरक्षण, सम्बद्ध र प्रचार गरेको खण्डमा त्यसको प्रत्यक्ष लाभ स्थानीय जनसमुदायलाई हुनेछ ।’
जलजलाको जैविक विविधतायुक्त कालञ्जर पहाड, मल्लाज दरबार, फलामे डाँडालगायत पर्यटकीय, धार्मिक र ऐतिहासिक स्थलको पूर्वाधार विकासमा ध्यानाकर्षण भएको राष्ट्रपति भण्डारीले बताइन् ।
‘प्रसिद्ध बराहताल संरक्षणका लागि समुदाय स्तरबाट भएको प्रयासका लागि धन्यवाद दिन चाहन्छु’, उनले भनिन्, ‘पर्वत जिल्लाका पर्यटकीय स्थलको प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सकिने प्रशस्त सम्भावना रहेको अनुभूत भएको छ ।’
पर्वतका लामिछाने र घर्ती क्षेत्री समुदायले एक करोड ५० लाखको लागतमा दुई वटा मन्दिर निर्माण गरेको आयोजकले जनाएका छन् ।
समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा रहेको बराहताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । करिब तीन मिटर गहिरो तालको पृष्ठभूमिमा धौलागिरि र निलगिरि हिमाल रहेका छन् ।
जनै पूर्णिमामा लाग्ने विशेष मेलामा पर्वतसहित, म्याग्दी, बागलुङ, पोखरा, चितवन, काठमाडौँ लगायतका ठाउँबाट भक्तजन आउने गर्दछन् ।
Comments are closed.