काठमाडौं । भाटभटेनी समूहले ९ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरेको नयाँ भवन त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताललाई हस्तान्तरण गरेको छ ।
सोमवार एक विशेष समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उक्त भवन अस्पताललाई हस्तान्तरण गरिएको हो । भवन भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले अस्पताल प्रशासनलाई औपचारिक रूपमा बुझाएका हुन् ।
ईएचएस नाम दिइएको सो भवन स्व.पिता वृषबहादुर गुरुङ र स्व.माता धनमाया गुरुङको स्मृतिमा निर्माण गरिएको अध्यक्ष गुरुङले बताए । कार्यक्रममा बोल्दै उनले भाटभटेनी समूहले सदैव देश र जनताको सेवामा अग्रपंक्तिमा रहँदै आएको र समृद्ध नेपाल, सुखी नेपाली अभियानमा योगदान गर्न प्रतिवद्ध रहेको स्पष्ट पारे ।
अध्यक्ष गुरुङले सरकारले केही गर्छ कि भन्ने आशा नराखी आफ्नै तर्फबाट सेवा भावले यो कार्य सम्पन्न गरिएको पनि बताए ।भवन हस्तान्तरणपछि अस्पताल प्रशासनले भाटभटेनी समूहप्रति आभार व्यक्त गर्दै उक्त सहयोगले स्वास्थ्य सेवामा थप गुणस्तर र पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
Comments are closed.