हजारबाट सुरु भएको सहकारीमा २ अर्बको कारोबार कसरी सम्भव भयो ?

भीम गुरुङ, प्रमुख कार्यकारी अधिकृत, पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.

नेपालको उत्कृष्ट सहकारी मध्येमा पर्न सफल पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि. स्थापनाको २०औं वर्ष प्रवेश गरेको छ । दुई चार सय र केही हजारको कारोबारबाट शुरु भएको यो सहकारी अहिले २ अर्बको कारोबार गर्न सफल छ । समय क्रम अनुसार स्तरउन्नति हुँदै सदस्यमैत्री सेवा गर्न सफल पोखरा रोयल सहकारी प्रविधिमैत्री सेवामा समेत अग्रणी छ । यसैक्रममा सहकारीका विविध विषयम केन्द्रित रहेर प्रमुख कार्यकारी अधिकृत भीम गुरुङसँग आर्थिक आवाजले गरेको कुराकानी प्रस्तुत छः

कोरोना महामारीका कारण अहिले निशेधाज्ञा लागु भएको छ । यो विषम परिस्थितिमा सहकारीले कसरी सेवा प्रदान गरिरहेको छ ?
वर्तमान अवस्था अत्यन्त विषम परिस्थितिबाट गुज्रिरहेको छ । यो अवस्था कति लामोसम्म जाने हो कसैलाई थाहा छैन । सहकारीमा खासगरी मध्यम वर्गीय र न्यून आय भएका मानिसहरु आवद्ध छन् । तसर्थ, यो महामारीले कसैलाई बढी नोक्सान गरेको छ भने त्यो सहकारी क्षेत्र नै हो । पहुँच नभएका, धितो नभएका, आयस्रोत देखाउन नसक्ने, ठूला बैंक तथा वित्तीय संस्थासम्म पहँुच पुर्याउन नसक्ने र साहुले पनि नपत्याएकाहरुलाई सेवा दिने सहकारी संस्थाको दैनिकी बडो अप्ठ्यारोमा परेको छ । महामारी छ, बन्दाबन्दी छ, उद्योगधन्दा व्यापार व्यवसाय र रोजगारी ठप्प छ । तथापि, हामीले सरकारले तोकेको मापदण्ड र स्वास्थ्य सुरक्षा अपनाउदै सम्पर्क व्यक्तिहरु मार्फत सदस्यहरुको अत्यावश्यक समस्याहरु समाधान गरिरहेका छौं । व्यवसाय निरन्तरता योजना निर्माण गरेका छौं । जोखिम कार्यदल मार्फत कर्मचारीहरुको बैकल्पिक ढाँचा निर्माण गरेका छौं । कार्यालय परिसरमा पूर्ण रुपमा स्वास्थ्य र सुरक्षाको मापदण्ड लागु गरेका छौं । वीमाको व्यवस्था गरेका छौं भने प्रोत्साहन भत्ताको व्यवस्था गरेका छौं । कर्मचारी र सदस्यहरुलाई विभिन्न आचार संहिता बनाई लागु गरेका छौं । एटिएम सेवा र मोबाइल बैकिङ, एस.एम.एस.साथै हेल्लो सदस्य अभियानमार्फत नियमित रुपमा सदस्यहरुको सेवामा हाजिर भएका छौं ।

हेल्लो सदस्य अभियान कस्तो अभियान हो ? यसको खास उद्देश्य बताइदिनुहुन्छ कि ?
जब महामारी र बन्दाबन्दी शुरु भयो अनि हामीले भौतिक रुपमा सदस्यहरुलाई नियमित सेवा दिन सक्ने कुरा भएन । यतिखेर सबै कर्मचारी घरमै बसेर वर्क फ«म होमको माध्यमबाट कार्यालयको काम भइरहेको छ । यस्तो बेलामा सदस्यहरुसंग प्रत्यक्ष संवाद कसरि गर्ने भन्ने कुरामा हामीेले एउटा रणनीति बनायौ, अनि वरिष्ठ कर्मचारीहरुको एउटा समूह निर्माण गरि सबै सदस्यहरुलाई घरबाटै प्रत्यक्ष फोन सम्वाद गरि उनीहरुको आर्थिक, सामाजिक तथा स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने र सम्भव सबै खाले समस्या समाधान गर्ने प्रणका साथ हामीले हेल्लो सदस्य अभियान सञ्चालन गरेका हौं । अभियान सञ्चालन गरेको एक हप्तामा हामीले करिब ४० प्रतिशत अर्थात ४३०० सदस्यहरुसंंग प्रत्यक्ष संवाद गरिसकेका छौं । यो अभियान मार्फत सबै सदस्यहरुसंग सम्पर्क गरि सके पश्चात सदस्यहरुको समस्या र सुझाव बमोजिम हामीले आवश्यक रणनीति तयार गर्नेछौं ।

jutta mela

संस्था स्थापनाको २०औं वर्षमा प्रवेश गरेको छ । यो दिवसलाई कसरि मनाइरहनुभएको छ ?
स्थापनाको २०औं वार्षिकोत्सव अभौतिक रुपमा प्रविधिमार्फत शुभकामना आदानप्रदान गरिहेका छौं । यसै अवसरमा हामीले नागरिकहरुको सेवामा दिनरात खट्ने स्वास्थ्यकर्मी र सुरक्षा कर्मीहरुको मनोवल उच्च बनाउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २५०० थान मास्क र ५० लिटर स्यानिटाइजर र जिल्ला प्रहरी कार्यालय कास्कीलाई पनि २५०० थान मास्क र ५० लिटर स्यानिटाइजर हस्तान्तरण गरेका छौं । यहि बीचमा हामीले संस्थाले दुई दशकको अवधिमा गरेका उत्कृष्ठ कार्यहरुको भिडियो निर्माण गरि सार्वजनिक गरेका छौं । त्यसैगरी सदस्यहरुलाई वर्तमान महामारीबाट बच्न आवश्यक सर्तकता सम्वन्धी सूचनाहरु प्रवाह गरिरहेका छौं ।

२० वर्षसम्मको अवधिमा भए गरेका असल अभ्यासहरुकोे कसरी स्मरण गर्नुहुन्छ ?
अवस्य पनि यस अवधिमा संस्थाले थुप्रै महत्वपूर्ण कार्यहरु सम्पादन गरेको छ । यस अवधिमा हामीले नागरिकहरुलाई सहकारी भनेको के हो, यसबाट सदस्यले कसरि फाइदा लिन सकिन्छ भन्ने कुरा सिकाउन सफल भएका छौं । ७३०० सदस्यहरु मार्फत २ अर्ब बढीको कारोबार गर्न सफल भएका छौं । ५० बढीलाई प्रत्यक्ष रोजगारी र हजारौंलाई स्वरोजगारी बनाउन सफल भएका छौं । ५०० निरक्षर महिलाहरुलाई साक्षर बनाउने, उनीहरुलाई समूहमा आवद्ध गरि वित्तीय तथा व्यावसायिक सीप सिकाउने, सामाजिक गतिविधिमा उच्च योगदान, कार्यक्षेत्र विस्तार तथा अन्य संस्थाहरुसंगको एकीकरण, कार्यक्षेत्र विस्तार र सेवाकेन्द्रहरुको स्थापना, नियमित रुपमा संस्थाको बुलेटिन तथा सहकारी पुस्तकहरुको प्रकाशन, श्रष्ठाहरुको सम्मान, ज्येष्ठ नागरिकहरुलाई वार्षिक रुपमा पेन्सन, जन्मैदेखि मृत्यूसम्म विविध राहत जस्ता कार्यक्रमले आकर्षण बढेको छ । त्यसैगरि संस्थाले उत्कृष्ट करदाता, उत्कृष्ट सहकारी, उत्कृष्ट अध्यक्ष तथा उत्कृष्ट व्यवस्थापक जस्ता पुरस्कार प्राप्त गर्नु यस अवधिका सफलताका सूचकको रुपमा लिएका छौं । सहकारीलाई नीति, विधि र प्रविधिमा सञ्चालन गरि संस्थागत सुशासनको लागि चालिएको अभियान समेत सम्झन लायक छन् । पछिल्लो समयमा संस्थाले प्रविधिलाई आत्मसाथ गरि एटिएम सेवा, मोबाइल बैकिङ, क्यूआर कोड र इटेलर मार्फत भुक्तानीको व्यवस्था, एस एम एस बैकिङ जस्ता सेवाहरु सहकारीको इतिहासमा नविनतम छलाङ नै मान्नुपर्छ । यो सबै कामहरुले गर्दा पोखरामा सहकारी पर्यटनको एउटा अवलोकन केन्द्र बनेको छ रोयल सहकारी ।

थोरै सेयर सदस्य र केही हजारको कारोबारबाट शुरु भएको र निरक्षर सदस्यहरुसँग सहकार्य गर्दागर्दै यो एटिएम सेवा र २ अर्ब कारोबारको कुरा कसरी सम्भव भयो ?
हामी नीतिगत सर्वोच्चतामा विश्वास गर्छौं । समूह कार्यमा अडिग छौं र सेवा र नेतृत्वमा निरन्तरता दिइरहेका छौं । सदस्यलाई नियमित रुपमा सहकारी शिक्षा, वित्तीय साक्षरता र व्यवसायको कुरा सिकाउने काममा जुट्यौं । हामी समुदायमा आधारित छौं, सदस्य केन्द्रियतामा विश्वास गछौं, हामीलाई विश्वास थियो, समूहमा काम गर्दा जस्तो कठिन काम पनि सम्भव छ, हामीले रणनीतिक योजनाका साथ काम गर्यौं । हामीले बोलेको कुरा लेख्छौं, लेखेको गर्छौैं र गरेको लेख्छौं । सहकारीले किन एटिएम प्रयोग सक्दैन भन्ने छलफल चलायौं, पछि सम्भव भयो । अहिले हामी नवीन प्रविधिहरुलाई अनुशरण गरेका छौं । सरकार र सहकारी अभियानको मार्गदर्शन पालना गरेका छौं र चुस्त दुरुस्त व्यवस्थापन नै हाम्रो सफलताको सूत्र हो भन्ने हाम्रो बुझाई छ ।

यो महामारी पश्चात संस्थाको गतिविधि कसरि अगाडि बढाउने योजना छ ?
यतिखेर हामी महामारीको चरम उत्कर्षमा छौं । सामान्य अवस्थासम्म आउन पक्कै पनि केहि समय लाग्ने नै छ । फेरि पनि व्यवसाय निरन्तरता योजना बमोजिम कर्मचारी र सदस्यहरुको स्वास्थ्य सुरक्षा प्रमुख विषय हो । यसको लागि आवश्यक सुरक्षा मापदण्डका साथ सदस्य सेवामा हाजिर हुने नै छौं । अब हरेक सदस्यहरुलाई प्रविधिमैत्री शिक्षा दिन जरुरी देखिन्छ । यसले संस्थाको कारोबारलाई पूर्ण रुपमा प्रविधीमैत्री बनाउन मद्दत गर्नेछ । क्यासलेस, पेपरलेस, चेकलेस र मानवरहित सेवा आजको माग हो । स्वास्थ्य, वीमा र मनोपरामर्श सम्वन्धी थप कार्यक्रम सञ्चालन गर्नेछौं । सोच र कार्यक्रममा परिवर्तन ल्याउनेछौं । अझ भनौं हामी ठूलो र दीगो सहकारी निर्माणमा जुट्नेछौं । युवा र वित्तीय पहुँच बाहिरका आम नागरिकहरुको मौलिक कार्यक्रमको रुपमा सहकारीलाई विकास गर्नेछौं । अन्य सहकारी संस्थाको सहकार्य र एकीकरण मार्फत थप रोजगारी सिर्जना र गरिबी न्यूनीकरणमा हाम्रो ध्यान जानेछ । समग्रतामा सहकारीलाई जनताको विश्वाशिलो वित्तीय संस्थाको रुपमा स्थापित गर्नेछौं ।

You might also like

Comments are closed.