इक्यान शैक्षिक मेलाः विद्यार्थी र अभिभावकका लागि उत्कृष्ट अवसर

भुवन क्षेत्री
उपाध्यक्ष, इक्यान केन्द्र
पूर्व अध्यक्ष एवं सल्लाहकार, इक्यान कास्की

नेपाल शैक्षिक परामर्श संघ (इक्यान), शैक्षिक परामर्श क्षेत्रमा काम गर्ने संस्थाहरूको पुरानो र बृहत् छाता संगठन हो । इक्यान केन्द्र र शाखाहरुले विद्यार्थी लक्षित विविध कार्यक्रम गर्दै आइरहेका छन् । इक्यानका शाखाहरु मध्य उत्कृष्ट र सक्रिय शाखा कास्की पनि हो । यस पटक इक्यान कास्की शाखाले पोखरामा आठौं संस्करणको बृहत् शैक्षिक मेला आयोजना गर्न लागेको छ । मेला यही भदौ २० र २१ गते पोखराको सिटिस्क्वायर बैंक्युटमा हुँदैछ ।

इक्यान कास्की शाखाले विद्यार्थी र अभिभावकलाई उच्च शिक्षा सम्बन्धी आवश्यक जानकारी दिने उद्देश्यले मेलालाई व्यवस्थित र सक्रिय रूपमा आयोजना गर्दै आएको छ । मेलामा पोखराका विभिन्न इक्यानियन साथीहरूको सहभागितासँगै विदेश तथा स्वदेशका शैक्षिक परामर्श, विश्वविद्यालय, कलेज, साथै केही परीक्षा आयोजना गर्ने संस्थाहरु जस्तै IELTS, PTE र जापानीज भाषा प्रशिक्षण संस्थाहरू पनि सहभागी हुनेछन् । मेलामा उपस्थित विद्यार्थी र अभिभावकहरूले एउटै छानामुनि विभिन्न देशका उच्च शिक्षा सम्बन्धी जानकारी लिन सक्नेछन् ।

विद्यार्थीको उच्च शिक्षा योजना र आर्थिक व्यवस्थापनबारे अभिभावकहरूमा देखिने जटिलताहरूलाई सम्बोधन गर्न विभिन्न बैंक तथा वित्तीय संस्थासँग पार्टनरिङ पनि गरिएको छ । यसले विद्यार्थी र अभिभावकलाई योजना अनुसारको वित्तीय व्यवस्थापन तथा उच्च शिक्षा हासिल गर्ने मार्गदर्शन प्रदान गर्नेछ । इक्यान कास्कीको टिमले मेलालाई समुदायप्रति जिम्मेवार र जवाफदेही ढंगले आयोजना गर्दै आएको छ । नेपाल सरकारको शिक्षा मन्त्रालय र प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबाट स्वीकृत कन्सल्टेन्सीहरू मात्रै मेलामा सहभागी हुने छन् ।

मेलामा सहभागी भएर विद्यार्थीले विश्वविद्यालय, छात्रवृत्ति, भिजा प्रक्रिया लगायतका सबै जानकारी एकै स्थानमा, छोटो समयमा प्राप्त गर्न सक्नेछन् । प्रवेश निःशुल्क रहेको यस मेलामा उपस्थित भएर विद्यार्थी तथा अभिभावकहरूले भविष्य निर्माणका लागि महत्वपूर्ण निर्णय लिन सहजता पाउनेछन् ।

You might also like

Comments are closed.