‘नेपाललाई सूचना तथा प्रविधिमा अन्तर्राष्ट्रिय हब बनाउन सकिन्छ’

विज्ञान श्रेष्ठ, सभापति, सूचना प्रविधि समिति, नेपाल चेम्बर अफ कमर्स

नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित ‘चेम्बर एक्स्पो’मा पहिलो पटक सफ्टवेयर एण्ड एआई प्रोजेक्ट सोकेस हुँदैछ । नेपालमा विकसित सफ्टवेयरहरू र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा भएका नविनतम प्रगतिहरूलाई एक्स्पोमा प्रस्तुत गरिनेछ । माघ १७ मा भृकुटीमण्डपमा एक्स्पो हुँदैछ । यसबारेमा केन्द्रित रहेर नेपाल चेम्बर अफ कमर्सका सूचना तथा प्रविधि समिति सभापति विज्ञान श्रेष्ठसँग गरिएको संक्षिप्त कुराकानीः

नेपाल चेम्बर अफ कमर्सले आयोजना गर्न लागेको ‘चेम्बर एक्स्पो’मा सूचना तथा प्रविधिलाई विशेष प्राथमिकतामा राख्नुको मुख्य उद्देश्य के हो ?

नेपाल चेम्वर अफ कमर्सले आठौं संस्करणको ‘चेम्बर एक्स्पो’ आयोजना गर्दा सूचना तथा प्रविधिलाई प्राथमिकतामा राखेको छ । एक्स्पोमा हामीले सफ्टवेयर एण्ड एआइ प्रोजेक्ट सोकेस गर्नेछौं । नेपालमा नै कस्ताखालका सफ्टवेयर बनेका छन् र एआइमा के कस्ता काम भएका छन् भनेर एक्स्पोज पनि हुँदैछ । सरकार, कर्पोरेट सेक्टर लगायत सरोकारवाला सबैले सूचना तथा प्रविधिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न एक्स्पोले सकारात्मक भूमिका निर्वाह गर्नेमा हामी विश्वस्त छौं । प्रविधिको प्रयोग बिना मुलुकको समृद्धिको परिकल्पनासमेत गर्न सकिदैन । रोेजगारीको सिर्जना तथा भोलिको भविष्यका लागि पनि हामीले यस क्षेत्रमा काम गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न पनि एक्स्पोमा हामीले सूचना तथा प्रविधिको क्षेत्रलाई प्राथमिकतामा राखेका छौं ।

नेपालमा सफ्टवेयर र एआईको विकास कसरी भइरहेको छ ?

संसारभर सूचना तथा प्रविधिका क्षेत्रमा तिब्र काम भइरहेको छ । सूचना तथा प्रविधिको विकास बिना आर्थिक समृद्धिको परिकल्पना गर्न सकिदैन । नेपालमा पनि सूचना तथा प्रविधिको राम्रो सम्भावना छ । हामीले यही सम्भावनालाई मध्यनजर गर्दै सूचना तथा प्रविधिका क्षेत्रमा काम गरिरहेका छौं । नेपालमा आईटी क्षेत्र विस्तार हुँदैछ । युवाहरूमा प्रविधिप्रति क्रेज निकै बढिरहेको छ । नेपालमा सरकारले पनि सूचना तथा प्रविधिका क्षेत्रलाई प्राथमिकतामा राखेको देख्न सकिन्छ । राम्रो सम्भावना भएकाले यो क्षेत्रका अझ धेरै काम गर्न जरुरी छ । सरकार, निजी क्षेत्र तथा सम्बन्धित निकायहरूले यस क्षेत्रका प्रवद्र्धन तथा विकासमा काम गर्न जरुरी छ ।

आईटी क्षेत्रलाई प्रवर्द्धन गर्न के गर्नुपर्छ ?

नेपाललाई आईटीको हब बनाउन व्यापक मात्रामा दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ । लाखौं आईटी म्यानपावर उत्पादन गर्न सकिएमा नेपाललाई प्रविधिको प्रमुख केन्द्र बनाउन सकिन्छ । डाटा बैंक स्थापना आवश्यक भइसकेको छ, जसले अर्बौंको लगानी नेपाल भित्र्याउन सहयोग गर्छ । राम्रोसँग काम गर्ने हो भने नेपाललाई डाटा सेन्टर हब बनाउन सकिन्छ । विगतमा लोडसेडिङका कारण आईटी क्षेत्रले ठूलो असर बेहोर्नु पर्यो । अब भने ऊर्जा व्यवस्थापन सहज भएकाले नेपाललाई आईटी हब बनाउन सकिन्छ । सरकारले आईटी क्षेत्रमा कर छुट दिन आवश्यक छ । सरकारले आइटी क्षेत्रलाई कर छुट दिएर प्राथमिकतामा राखेमा यस क्षेत्रको विकासले फड्को मार्नेछ ।

एक्स्पोले आइटी क्षेत्रका लागि सकारात्मक भूमिका निर्वाह गर्न सक्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ?

आईटी तथा आर्थिक गतिविधिलाई प्रवद्र्धन गर्न एक्स्पोहरू महत्वपूर्ण छन् । हामीले २०१५ देखि एक्स्पो आयोजना गर्दै आएका छौं । अहिले आठौं संस्करणसम्म आइपुगेका छौं । यो एक्स्पोमा हामीले नेपाली मात्र नभई विदेशी ब्रान्ड तथा प्रविधिहरूलाई पनि समेट्दैछौं । पाँच दिनसम्म सञ्चालन हुने एक्स्पोमा हामीले सूचना तथा प्रविधिका क्षेत्रमा भएका नविनतम प्रविधिलाई सोकेस गर्नेछौं । ‘सफ्टवयर एण्ड एआई प्रोजेक्ट’ले एक्स्पोलाई थप आकर्षित गर्नेछ । सूचना तथा प्रविधि क्षेत्रको सम्भावनाहरुको पहिचान गराउन र लगानीका लागि आकर्षित गर्न सकारात्मक भूमिका निर्वाह हुनेछ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.