काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को उपाध्यक्षमा विकल्पराज पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । पुस २८ गते हुने निर्वाचनका लागि उनले उम्मेदवारी सार्वजनिक गरेका हुन् । वर्तमान कार्यसमितिमा उनी सहकोषाध्यक्ष भएर काम गरिरहेका छन् ।
शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि क्रियाशील पोखरेलले संस्थागत सुदृढीकरण, क्षमता विकास र आर्थिक अनुशासनलाई मुख्य एजेन्डा बनाउँदै उम्मेदवारी सार्वजनिक गरेका छन् । हाल इक्यानको केन्द्रीय कार्यसमितिमा सहकोषाध्यक्षसँगै तालिम विभाग संयोजकको जिम्मेवारीमा रहेका उनले आफ्नो अनुभवलाई संस्थाको बृहत्तर हितमा लगाउने बताएका छन् ।
इक्यानलाई व्यक्ति केन्द्रित नभई प्रणालीमा आधारित र सदस्यहरूको हित गर्ने साझा संस्थाको रूपमा विकास गर्ने, केन्द्र र शाखाहरूबीचको सम्बन्ध मजबुत बनाउँदै कार्यसमितिमा बलियो समन्वय र सामूहिक नेतृत्व स्थापित गर्ने, ७०० भन्दा बढी सदस्यहरूको व्यावसायिक सुरक्षा, सशक्तीकरण र हकहितका लागि काम गर्ने, संस्थाभित्र आर्थिक अनुशासन र पारदर्शिता कायम राख्दै क्षमता विकासका कार्यक्रमहरूलाई प्राथमिकता दिने लगाायत प्रतिबद्धता उनले गरेका छन् ।

‘अहिले इक्यानलाई केवल पदाधिकारी होइन, टीमवर्कमा विश्वास गर्ने र निर्णय कार्यान्वयन गर्न सक्ने नेतृत्व आवश्यक छ । म अध्यक्ष र सम्पूर्ण कार्यसमितिसँग सहकार्य गर्दै यस व्यवसायलाई मर्यादित र दीर्घकालीन रूपमा सशक्त बनाउन प्रतिबद्ध छु,’ उनले भनेका छन् ।
यसअघि कार्यसमिति सदस्यका रूपमा समेत काम गरिसकेका पोखरेलले आफ्नो विगतको अनुभव र वर्तमानको जिम्मेवारीले आफूलाई उपाध्यक्ष पदका लागि योग्य बनाएको दाबी गरेका छन् ।




Comments are closed.