अर्बपति विनोद चौधरी नवलपरासी–१ मा पराजित

काठमाडौं । नेपालका प्रमुख उद्योगपति तथा अर्बपति व्यवसायी विनोदकुमार चौधरी प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन् । पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट चुनावी मैदानमा उत्रिएका चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विक्रम खनालले फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचन परिणामअनुसार खनालले ४५ हजार २४१ मत प्राप्त गर्दै स्पष्ट विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले भने ९ हजार ५०२ मत मात्रै प्राप्त गरेका छन्। यसरी खनालले चौधरीलाई ३५ हजार ७३९ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

व्यवसायिक क्षेत्रमा प्रभावशाली व्यक्तित्वका रूपमा परिचित चौधरीको पराजयलाई यसपटकको निर्वाचनमा देखिएको नयाँ राजनीतिक लहरसँग जोडेर हेरिएको छ । विशेषगरी युवा मतदाता र परिवर्तनको पक्षमा उभिएको मतले रास्वपाका उम्मेदवारलाई ठूलो समर्थन दिएको विश्लेषण गरिएको छ ।

यस परिणामसँगै पश्चिम नवलपरासी–१ मा नयाँ राजनीतिक समीकरण देखिएको छ भने पुराना दलका प्रभावशाली उम्मेदवारहरूलाई पनि मतदाताले कडा सन्देश दिएको रूपमा विश्लेषकहरूले टिप्पणी गरेका छन् ।

You might also like

Comments are closed.