होटल एसोसिएसन नेपाल: पर्यटनको जगदेखि ‘डायमण्ड जुबिली’सम्म

विनायक शाह, अध्यक्ष, होटल एसोसिएसन नेपाल

वि.सं. २०२२ सालमा केवल ८ वटा होटलहरूको सानो समूहबाट सुरु भएको होटल एसोसिएसन नेपाल (हान) आज मुलुकको पर्यटन क्षेत्रको एउटा बलियो खम्बा बनेको छ । ६ हजारभन्दा बढी सदस्य र २० खर्ब रुपैयाँको लगानी समेटेको यस संस्थाले पर्यटन ऐनको सुधारदेखि होटललाई उत्पादनमूलक उद्योगको मान्यता दिलाउनेसम्मका ऐतिहासिक उपलब्धि हासिल गरेको छ । आफ्नो स्थापनाको ६०औं वर्ष (डायमण्ड जुबिली) मनाउने तयारीमा रहेको हानको गौरवमय यात्रा, विद्यमान नीतिगत चुनौती र आगामी लक्ष्य लगायतका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश

होटल एसोसिएसन नेपाल (हान) को स्थापनाकालीन समय र यसको प्रारम्भिक संरचना कस्तो थियो ?

होटल एसोसिएसन नेपालको यात्रा वि.सं. २०२२ सालबाट सुरु भएको हो । त्यतिबेला नेपालको पर्यटन र होटल व्यवसाय अत्यन्तै प्रारम्भिक चरणमा थियो । देशभर होटलको संख्या औँलामा गन्न सकिने मात्र थियो । केवल आठवटा होटलहरू मिलेर यो संघ स्थापना भएको थियो । पञ्चायत कालको त्यो समयमा निजी क्षेत्रलाई संगठित हुनु आफैँमा चुनौतीपूर्ण थियो । न त स्पष्ट ऐन–कानुन थिए, न त सरकारी संरक्षण नै । सुरुमा अनौपचारिक रूपमा सुरु भएको यो संस्था २०२३ मा विधिवत दर्ता भयो र २०३४ को संघ–संस्था दर्ता ऐनपछि यसले थप कानुनी मजबूती पायो ।

हानले नेपाली पर्यटनको विकासमा के–कस्ता निर्णायक पहलहरू गरेको छ ?

हामीले गरेको सबैभन्दा ठूलो पैरवी ‘खुला आकाश नीति’ (इउभल क्पथ एयष्अिथ) का लागि हो । सुरुमा नेपाल एअरलाइन्सको मात्र एकाधिकार जस्तो थियो । हाम्रो निरन्तरको दबाब र पहलपछि आज ३० भन्दा बढी अन्तर्राष्ट्रिय एअरलाइन्सहरू नेपाल आउने वातावरण बनेको छ । यसबाहेक, नेपाल पर्यटन बोर्डको स्थापनामा पनि हाम्रो भूमिका महत्वपूर्ण रह्यो । नेपाल टुरिजम इयर १९९८, २०११ र भिजिट नेपाल २०२० जस्ता राष्ट्रिय अभियानहरूमा हानले नेतृत्वदायी भूमिका निर्वाह गर्दै सरकारसँग हातेमालो गर्दै आएको छ । नेपालको पर्यटनको विकासमा हानको नेतृत्वदायी भूमिका रहँदै आएको छ ।

अहिले संघीय संरचनामा हानको उपस्थिति र सदस्यहरूको अवस्था कस्तो छ ?

संघीयतासँगै हान अहिले राष्ट्रिय महासंघको स्वरूपमा रूपान्तरण भएको छ । अहिले सातै प्रदेशमा हाम्रो सक्रिय उपस्थिति छ । आजको मितिसम्म हामीसँग ६ हजारभन्दा बढी सदस्य होटलहरू दर्ता छन् । यसमा देशभरका हस्पिटालिटी क्षेत्रका अगुवा व्यवसायी र मार्केटिङ लिडरहरू आबद्ध हुनुहुन्छ ।

नेपाली अर्थतन्त्रमा होटल क्षेत्रको योगदान र यसको प्रभावलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

होटल एउटा यस्तो सेवा उद्योग हो जसले पर्यटक नेपाल आउनेबित्तिकै आर्थिक गतिविधि चलायमान बनाउँछ । विमानस्थलमा पाइला टेकेपछि भिसा शुल्क, ट्याक्सी, होटल, हस्तकलादेखि यातायातसम्मका क्षेत्रमा आम्दानी सिर्जना हुन्छ । रेमिट्यान्सपछि नेपाली अर्थतन्त्रलाई बलियो आधार दिने क्षेत्र यही हो । होटल क्षेत्रमा मात्रै अहिले राष्ट्रिय बजेट बराबर अर्थात् १८ देखि २० खर्ब रुपैयाँ लगानी भइसकेको छ । प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब १० लाख मानिसले यसमा रोजगारी पाएका छन् ।

पछिल्लो समय बजेटमार्फत होटल उद्योगलाई ‘उत्पादनमूलक उद्योग’को मान्यता दिइएको छ, यसलाई कसरी लिनुभएको छ ?

यो हाम्रा लागि ऐतिहासिक उपलब्धि हो । यो माग संघका पूर्व अध्यक्ष प्रभाकर शमशेर राणाले सोल्टी होटल स्थापनाकै समय (वि.सं. २०२२) मा उठाउनुभएको थियो । संयोगवश, म अध्यक्ष हुँदा अर्थमन्त्री विष्णु पौडेलको कार्यकालमा यसले मान्यता पायो । यद्यपि, यो घोषणा भएपनि पूर्ण रूपमा कार्यान्वयनमा आउन र सोही अनुसारको छुट सुविधाहरू प्राप्त गर्न अझै बाँकी छ । हामी यसको प्रभावकारी कार्यान्वयनको पर्खाइमा छौँ ।

होटल क्षेत्रमा लगानी ठूलो छ । प्रतिफलको अवस्था कस्तो छ ? चुनौतीहरू के–के देख्नुहुन्छ ?

हामीले वार्षिक ५० लाख भन्दा बढी पर्यटकलाई सेवा दिन सक्ने पूर्वाधार तयार पारिसकेका छौँ । तर विडम्बना, अहिले हामी हाम्रो क्षमताको मुस्किलले एक–तिहाइ मात्र प्रयोग गरिरहेका छौँ । सन् २०२५ को तथ्याङ्क हेर्ने हो भने ११ लाख ७० हजार पर्यटक मात्र भित्रिएका छन् । यसको मुख्य कारण कमजोर कनेक्टिभिटी, पुराना नीति र अव्यवहारिक कानुनी व्यवस्था हुन् । आज पनि हामी पर्यटन ऐन २०३५ बाट चलिरहेका छौँ, जुन आजको समयसापेक्ष छैन । नीतिगत कमजोरी र भ्रष्टाचार जस्ता समस्याहरूले गर्दा सोचेजस्तो प्रतिफल आउन सकेको छैन ।

हाम्रा छिमेकी देशहरू भारत र चीनको बजारबाट हामीले कसरी लाभ लिन सक्छौँ ?

भारत र चीन विश्वकै ठूला जनसंख्या भएका देश हुन् । हरेक वर्ष करिब १० करोड भारतीय र २० करोड चिनियाँ नागरिक विदेश भ्रमणमा निस्कन्छन् । यदि हामीले तीमध्ये मात्र २ प्रतिशत पर्यटक मात्र नेपाल भित्र्याउन सक्यौँ भने पनि ५० देखि ६० लाख पर्यटक सजिलै पुग्छन् । यसका लागि सरकारले नीतिगत सुधार र प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्छ ।

‘हान’को आगामी योजना र ‘डायमण्ड जुबिली’को बारेमा केही बताइदिनु हुन्छ कि ?

हाम्रो मुख्य लक्ष्य भनेको होटल अकुपेन्सी बढाउने, रोजगारी सिर्जना गर्ने र राजस्वमा योगदान पु¥याउने नै हो । यही सन्दर्भमा, होटल एसोसिएसन नेपालले स्थापनाको ६० वर्ष पुगेको अवसरमा २०२६ जनवरी १६ देखि २०२७ जनवरीसम्म देशैभरि प्रदेश–प्रदेशमा डायमण्ड जुबिली विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । यो उत्सवले नेपाली पर्यटनलाई नयाँ उचाइमा पु¥याउने र विश्व बजारमा नेपालको सकारात्मक सन्देश दिने हाम्रो विश्वास छ ।

You might also like

Comments are closed.