गणेश भट्टराई नेपाली काँग्रेस प्रवेशले कास्की उत्साहित : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले पर्यटन व्यवसायी गणेश बहादुर भट्टराई सहित १२ जनाको नेपाली काँग्रेस प्रवेशले कास्की जिल्ला उत्साहित भएको बताएका छन् । नेपाल पर्यटन व्यवसायी संघ (निट) ले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै मन्त्री थापाले भट्टराईको पार्टी प्रवेशले कास्कीमा संगठन थप बलियो भएको उल्लेख गरे ।

भट्टराईको आगमनले कार्यकर्ता र पार्टी पंक्तीमा थप हौसला मिलेको उनले बताए । मन्त्री थापाले नेपाली कांग्रेसलाई कास्कीमा बलियो बनाउन गणेश भट्टराईको भूमिका महत्वपूर्ण रहने विश्वास गरेका छन् ।

उनले व्यवसायीक क्षेत्रका व्यक्तिहरु पनि विस्तारै राजनीतिक क्षेत्रमा आबद्ध हुनुपर्नेमा जोड दिए । ‘व्यवसायिक व्यक्तिको मर्का व्यवसायिक व्यक्तिले बुझ्छ’, उनले भने,‘त्यसैले राजनीतिमा अब व्यवसायिक व्यक्तिको प्रवेश हुनुपर्ने आवश्यकता छ ।’

कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आफु प्रतिबद्ध रहेको मन्त्री थापाले बताए । उहाँले खोपको उचित व्यवस्थापन गरी लामो समयदेखि बन्द रहेको पर्यटन क्षेत्रलाई माथि उकास्नुपर्ने आवश्यकत्तालाई औंल्याएका छन् ।

मन्त्री थापाले लेकसाइड राति ८ बजेसम्म मात्र नभई ११ बजेसम्म नै खुल्ने वातावरण मिलाउन आफुले सक्दो प्रयास गरिरहेको जानकारी गराए । आवश्यक खोपको सुनिश्चितता गरी गण्डकी प्रदेशको ट्रेकिङ एरियालाई समेत खोल्नुपर्ने विषयमा मन्त्री थापा प्रतिबद्ध छन् ।

उनले भने, ‘पर्यटन व्यवसाय चल्यो भने अरु व्यवसाय चल्छ । लेकसाइड राम्रो सँग चलेको खण्डमा महेन्द्रपुलका पसलहरुको व्यापार व्यवसाय राम्रो हुन्छ । त्यसैले अब हाम्रा ट्रेकिङ एरियाहरुलाई समेत विस्तारै खोल्नुपर्छ । यसमा म प्रतिबद्ध छु ।’

jutta mela

पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारको तर्फबाट आफ्नो पहल कदमी रहने तर यसमा पर्यटन व्यवसायीहरुको समेत सहयोगको अपेक्षा मन्त्री थापाले गरेका छन् ।

पोखराका पुराना पर्यटन व्यवसायी तथा भर्खरै मात्र नेपाली काँग्रेस प्रवेश गरेका गणेश बहादुर भट्टराईले विचारले आफु काँग्रेसमा प्रवेश गरेको बताए । उनले राजनीति भीडमा नभई विचारमा हुनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । कुनै पनि देशको बेस राम्रो नभए देश नरहने भनाई भट्टराईको छ । आज आफुलाई देश कमजोर भएको महशुस भएर नेपाली काँग्रेसमा प्रवेश गरेको उनले बताए ।

‘मेरो प्रवेशले पदका लागि काँग्रेस प्रवेश गरेको हो भन्ने कुरा उठेको छ । म पदका पछाडि लाग्ने मान्छे होइन । विचारको राजनीति गर्न आएको हुँ’, उनले भने ।

आफु पर्यटन क्षेत्रबाट राजनीतिमा आएकाले सिङ्गो पोखराको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने गरी सेवा प्रदान गर्ने प्रतिबद्धता उनकोे छ ।

निटका अध्यक्ष सोम थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ६ का वडाध्यक्ष जगत बहादुर पहारी, टेवान संस्थापन अध्यक्ष लक्की क्षेत्री, युवा पर्यटन व्यवसायी हेमराज अधिकारी, नेपाली काँग्रेस वडा ६ का इकाई सभापति बलराम गिरी लगायतले बोलेका थिए ।

गणेश भट्टराई सहित गोपीबहादुर भट्टराई, धर्मेन्द्र कुमार बाटाजु, अशोक कुमार भण्डारी, जीवन भट्टराई, ई.विकाश भट्टराई, ई. विशेष थापा, जयराम तिमिल्सिना, सुनिल बहादुर भट्टराई, अमित थापा, सरोज भट्टराई र अमृत ढकाल काँग्रेसमा प्रवेश गरेका हुन् ।

You might also like

Comments are closed.