वीर अस्पतालको सेवा सुधार गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एक हप्ताभित्र बिरामीले महसुस हुने गरी र सुधार भएको देखिने गरी वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिएका छन् ।

शुक्रबार वीर अस्पतालको आकस्मिक निरीक्षणपछि मन्त्री बस्नेतले अनलाइन टिकटको व्यवस्था, अस्पतालको सरसफाइ, शय्याबारे वेबसाइटमार्फत जानकारी र सघन उपचार कक्षमा शय्या थप्दै सेवा सहजरूपमा प्रवाह गर्न अस्पताललाई निर्देशन दिएका हुन् ।

उनले भने, “वीर अस्पताल देशकै उत्कृष्ट अस्पतालको रूपमा चिनिनुपर्छ । एक हप्ताभित्र अनलाइन टिकट, फोहोर व्यवस्थापन, इमरजेन्सी र डाइलासिसमा शय्या थपेर सेवा सुधार गर्नुहोस् । ”

jutta mela

मन्त्री बस्नेतले वीर अस्पतालमा सञ्चालनको तयारीमा रहेको नौ शय्याको सघन उपचार कक्ष एक हप्ताभित्रै सञ्चालनमा ल्याउन अस्पताललाई निर्देशन दिए ।

उनले वीर अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई कार्यालय अवधिभर नबसे कारवाही गर्न चेतावनीसमेत दिए । “सुरुमा हामी चिकित्सकलाई कार्यालय समयमा निजी अस्पताल क्लिनिकमा नगइदिन अनुरोध गर्दछौं । तर हाम्रो अनुरोधलाई कमजोरी ठाने कारवाही गरिने छ”, उनले भने ।

मन्त्री बस्नेतलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स०)निमित्त उपकुलपति प्राडा भुपेन्द्र बस्नेत र वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले वीर अस्पतालले प्रदान गरिरहेका सेवा र सुविधाका विषयमा जानकारी दिएका थिए ।

न्याम्सका निमित्त उपकुलपति प्राडा बस्नेतले स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनअनुसार एक सातामा अस्पतालको सेवामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

विश्व स्वास्थ्य सङ्गठनको महासभामा भाग लिएर आजै बिहान काठमाडौं आइपुग्नुभएका मन्त्री बस्नेतले वीर अस्पतालको अनुगमन गरेका हुन् । निरीक्षण टोलीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल, देवकुमारी गुरागाईं, अतिरिक्त सचिव डा सङ्गीता मिश्र र मन्त्रालयका अधिकारी थिए । रासस

You might also like

Comments are closed.