राजस्व चुहावट रोक्न सबै सामर्थ्र्य प्रयोग गर्ने अर्थमन्त्रीको दृढता

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि सबै सामथ्र्य प्रयोग गर्ने र अनियमित कार्यमा संलग्न हुनेप्रति कठोररुपमा प्रस्तुत हुने दृढता व्यक्त गरेका छन् । “राजस्व चुहावटप्रति सहिष्णु हुन सक्दैनौँ, शक्तिका साथ प्रस्तुत हुन्छौँ”, केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बिहीबारको अर्थ मन्त्रालयमा भएको बैठकमा अर्थमन्त्री पौडेललेभने, “व्यवसाय अभिवृद्धि र संरक्षणलाई पनि उत्तिकै ध्यान दिन्छौँ ।”

अर्थमन्त्री पौडेलले निर्दोष नपरुन् र दोषीले उन्मुक्ति नपाउने गरी काम गर्न निर्देशन दिँदै राजस्व परिचालनमा नकारात्मक असर नपरोस् भन्नेमा पनि सजगता अपनाउन सम्बनिधत विभाग र सुरक्षा निकायलाई आग्रह गरे । उनले चुहावट नियन्त्रणका लागि समन्वयात्मक ढङ्गले काम गर्न सम्बद्ध निकायका अधिकारीहरूलाई निर्देशन पनि दिए ।

स्थानीय र केन्द्रीय तहमा अनुगमन बढाउनुपर्नेमा जोड दिँदै अर्थमन्त्री पौडेलले समस्या समाधानलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिए । प्रणालीमा रहेका कमजोरीहरूलाई सुधार गर्दै प्रविधिको प्रयोग र त्यसमा रहेका कमजोरीलाई हटाउँदै काम गर्न जरुरी रहेको उनले बताए ।

अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले मन्त्रालय, विभाग र सुरक्षा निकायबीच समयमै सूचना आदानप्रदान गर्न आवश्यक भएको बताए । राजस्व सचिव रामशरण पुडासैनीले चुहावट नियन्त्रणका लागि नीतिगत र प्रणालीगत सुधार गरिरहेको जानकारी दिँदै आर्थिक गतिविधि बढेसँगै चुहावट हुने सम्भावना रहेकाले त्यसको नियन्त्रणमा सचेत रहन आवश्यक भएको बताए ।

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले दोषीलाई कानुनअनुसार कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै राजस्व चुहावट रोक्न नियमित रुपमा छलफल गर्नुपर्नेमा जोड दिए । साथै उनले भने, ‘नियमित रुपमा अनुमगन गर्नुपर्छ’ राजस्व व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दङ्गालले राजस्व चुहावट हुन नदिन विभिन्न निकायबाट निरन्तर प्रयास भइरहेको जानकारी दिँदै चुहावटमा संलग्नहरूविरुद्ध पनि कडाइका साथ कारवाही भइरहेको बताए ।

भन्सार विभागका महानिर्देशक यमलाल भुसालले छोटी भन्सारहरूलाई प्रभावकारी बनाइने बताए । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले जिल्लास्तरमा रहेका चुहावट नियन्त्रण समितिलाई प्रभावकारी बनाउन आवश्यक भएको धारणा व्यक्त गरे ।

You might also like

Comments are closed.