‘सडक महोत्सवले राष्ट्रिय अर्थतन्त्रमै ठूलो मद्दत गर्छ’

विश्वराज पौडेल, प्रथम उपाध्यक्ष, रेवान पोखरा एवं प्रचारप्रसार संयोजक, २४औं पोखरा सडक महोत्सव

रेवान पोखराको आयोजनामा २४औं पोखरा सडक महोत्सव पुस १३ देखि १७ सम्म पोखरामा हुँदैछ । महोत्सवमा केन्द्रित रहेर रेवान पोखराका प्रथम उपाध्यक्ष एवं प्रचारप्रसार संयोजक विश्वराज पौडेलसँग गरिएको कुराकानीः

कोभिड संक्रमणले पारेको असरका कारण पछिल्लो समय आर्थिक चलायमान कम छ । यसैक्रममा पोखरामा सडक महोत्सव हुँदैछ । महोत्सवले आर्थिक चलायमान र पर्यटन प्रवद्र्धनमा कसरी योगदान पुग्ने विश्वास गर्नुभएको छ ?

कोभिड पछिको अहिलेको अवस्थामा सबै क्षेत्र सुस्ताएको छ । कोभिडको समयमा पनि हामीले समय सापेक्ष कार्यक्रमहरु गर्यौं । कोभिडको समयमा हामीले तीन दिने कार्यक्रम पार्कमा नगरी सडकमै गरेका थियौं । त्यसले केही न केही आर्थिक चलायमान बनायो । यहाँ रहेका पर्यटन उद्योगहरु, जतिपनि आउटलेटहरु छन् यी सबै आउछन् भन्ने ढंगले समय सापेक्ष यहाँको प्रशासनिक निकायहरुसँग अनुमति लिएर त्यही अनुसारको र त्यही मोडलमा कार्यक्रम गर्दै आएका छौं । अहिले कोभिड संक्रमण धेरै हदसम्म निराकरण भइसकेको र हामीले गर्न लागेको कार्यक्रमले पर्यटन क्षेत्र अझै चलायमान गराउने हाम्रो विश्वास छ । यसमा हामीले गरेका यस्ता गतिविधिहरुले अझै थप आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यहाँ आउन ऊर्जा प्रदान गर्नेछ । यसले ठूलो महत्व राख्छ । देशको अर्थतन्त्रको मेरुदण्ड पर्यटन क्षेत्र रहेको र विदेशी मुद्रा आर्जन गर्ने ठूलो स्रोत रहेका कारण पनि पर्यटनलाई फोकस गरेर कार्यक्रमहरु गर्न सक्यौं भने राष्ट्रिय अर्थतन्त्रमै ठूलो मद्दत गर्छ जस्तो लाग्छ ।

पोखरामा आयोजित सडक महोत्सवको तपाईं प्रचारप्रसार संयोजक हुनुहुन्छ । प्रचारप्रसार कसरी गर्नुभएको छ ? कहाँ कहाँका पाहुनालाई आमन्त्रण गर्नुभएको छ ?

प्रचारप्रसारका लागि हामीले सोसल मिडियाहरुलाई बढी प्रयोग गरेका छौं । सोसल मिडियामार्फत देशभरीकै आन्तरिक पर्यटकहरुलाई नयाँ वर्ष मनाउन पोखरा जाउ है भन्ने किसिमको सन्देशमूलक भिडियो क्लिपहरु बनाएका छौं । हामीले विशेष गरी छिमेकी जिल्लाहरुमा फोकस गरेर प्रचार प्रसार गरिरहेका छौं । महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति राम्रो रहन्छ । पर्यटन क्षेत्रमा यो महोत्सवले नयाँ आयाम थप्नेछ ।

रेवान पोखराले आयोजना गर्ने सडक महोत्सव ब्राण्डकै रुपमा विकसित भइरहेको छ । यसमा पोखरेलीहरुको अपनत्व कस्तो छ ?

अवश्य पनि पोखरेलीले यो हाम्रो महोत्सव भनेर अपनत्व देखाइरहेको अवस्था छ । किनभने यो महोत्सव सडकमै खाउँ, सडकमै नाँचौ, सडकमै रमाऔं भन्ने मूल नाराका साथ आयोजना गरिएको छ । यसले धेरै भन्दा धेरै पर्यटकहरु यहाँ आइरहँदा लेकसाइड र तीन किलोमिटरको पेरिफेरिमा भएका होटेल रेष्टुरेन्ट मात्रै चल्ने होइनन् कि यसले काठमाडौंदेखि पोखरा आउँदाखेरि बिच बाटोमा रहेका होटेल रेष्टुरेन्टहरु, यातायातहरुदेखि लिएर विभिन्न प्रडक्सनहरुदेखि लिएर हेन्डमेड सामग्रीदेखि अन्य धेरै सामग्री हुने भएको हुँदा यो सबैको महोत्सव हुन पुगेको छ । यो महोत्सव आइरहदा धेरै भन्दा धेरै आम नागरिकहरुले यो बेलामा यो यो सामान खपत हुन्छ भनेर उत्पादनमा जोड पनि दिइरहेको अवस्था छ । तसर्थ यो मानेमा पनि यो सबैको महोत्सव हो भन्ने कुरा हामीले महसुुस गरेका छौं ।

महोत्सवमा बाह्य पर्यटकहरुको आगमन कस्तो रहन्छ ?

बाह्य पर्यटकहरुका लागि यो अफ सिजन हो । पहिलाको तुलनामा अहिले महोत्सवमा बाह्य पर्यटक धेरै आउने गरेका छन् । सडक महोत्सवमा बाह्य पर्यटकको उपस्थिति राम्रो रहन्छ । यतिखेर पहिलेदेखि नै यो समयमा उनीहरुले आफ्नै देशमा क्रिसमस लगायतका चाडपर्वहरु मनाउने भएका कारण हामीले यहाँ भएका पर्यटकहरुलाई होल्ड गर्न नेपालमै मनाउने उद्देश्यले महोत्सव गरिएको हो । पहिलाको हिसाबमा धेरै सुधार छ ।

महोत्सवमा पहिलेभन्दा फरक के कस्ता गतिविधिहरु हुँदै छन् ?

महोत्सवको मुख्य उद्देश्य भनेको फुड कल्चनर अनि म्युजिक हो । र त्यसैको पेरिफेरिमा रहेर हामीले कार्यक्रमहरु गर्छौं । त्यही कार्यक्रमहरुलाई अलिकति राम्रा कल्चरहरु, विभिन्न जिल्लामा रहेका राम्रा कल्चरहरुलाई कसरी पस्कने र आफ्नो संस्कृतिहरुलाई कसरी जोगाइ राख्ने र यसका पेरिफेरिमा बनेका हेन्डमेड चिजहरुलाई प्रमोशन गर्ने, अलिकति राम्रा परिकारहरुलाई पस्किने र यो बिचमा आएका पर्यटकहरुलाई यहाँको बसाईं सहज अनि सुविधाजनक बनाउने र हाम्रो तर्फबाट उहाँहरुको बसाईं कसरी राम्रो हुन्छ भन्ने कुरामा हामी विशेष जोड गर्छौं ।

कस्ता खानाका परिकारको स्वाद लिन पाइन्छ ?

कुनै समयमा हामीले एम्वेसीहरुसँग विशेष समन्वय गरेर विदेशीका मौलिक खानाहरु पनि पस्किने गरेका थियौंैं । अहिले कोभिड संक्रमण पछि त्यति सहज स्थिति भइनसकेको अवस्थामा हामीले केही एम्वेसीहरुमा पत्राचार गरेको भएपनि त्यत्ति रेस्पोन्स नभएको कारण हामीले विशेषगरी यहाँ भएका होटेल रेष्टुरेन्टहरुलाई आफ्ना मौलिक खानाहरु जे–जे छन् त्यो खानाहरुलाई सडकमा निकाल्दिनुस् र त्यो खानाहरुलाई विशेषगरी प्रवर्द्धन गर्नुस् भनेर आग्रह गरेका छौं । पाहुनाले आफ्नो इच्छा र चाहना अनुसार फरक फरक स्वाद महोत्सवमा लिन पाउनुहुन्छ ।

lcci
You might also like

Comments are closed.