एकीकृत कार्यक्रमलाई प्राथमिकता दिएर काम गरिरहेका छौं: अध्यक्ष पौडेल

विश्वनाथ पौडेल, अध्यक्ष, आँधिखोला गाउँपालिका, स्याङ्जा

मुलुक संघीय अभ्यासमा गएपछिको दोस्रो कार्यकालको रूपमा स्थानीय तहले काम गरिरहेका छन् । स्थानीय तहलाई स्वायत्तता दिएर काम गर्न दिने नीति छ । तथापि यस भित्रका आफ्नै मापदण्ड विद्यमान छन् । स्थानीय सरकारले आफैले आफैलाई परीक्षण गर्दै गएको समय पनि हो यो । पालिकालाई कसरी अगाडि बढाउने र समृद्ध बनाउने भन्ने अभियानमा स्थानीय तह छन् । स्याङ्जाको आँधिखोला गाउँपालिका मुलुककै उत्कृष्ट गाउँपालिका मध्येको एक हो । कार्य सम्पादनमा जिल्लाकै उत्कृष्ट र देशभरिमै नवौं नम्बरमा परेको आँधिखोलाले पालिकाका गतिविधिलाई कसरी अगाडि बढाइरहेको छ ? पालिकाका प्राथमिकता कुनकुन कुुरामा छन् ? नागरिकले पालिकाबाट कति लाभ लिन सकेका छन् ? यीनै सन्दर्भ भित्र रहेर आर्थिक अवाजले पालिका अध्यक्ष विश्वनाथ पौडेलसँग कुराकानी गरेको छ ।

पालिकाले आफ्ना गतिविधिलाई कसरी अगाडि बढाइरहेको छ ?

हाम्रो कार्यकाल शुरू भएकोे करिब १ वर्ष पुग्न लागेको छ । यस अवधिमा हामीले आर्थिक वर्ष २०७९÷८० का लागि बजेट प्रस्तुत गर्यौं । अघिल्लो कार्यकालमा शुरू गरिएका तर पूरा नभएका कतिपय गर्नैपर्ने कामका लागि बजेट विनियोजन गरेर काम गर्यौं । कार्यसम्पादन मुल्यांकनमा आँधिखोला गाँउपालिका स्याङ्जा जिल्लामा उत्कृष्ट र नेपालभरिमा नवौं स्थानमा पर्न सफल भएको छ । यसले पनि हामीलाई काम गर्न थप हौसला मिलेको छ ।

पालिकाले कुनकुन क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको छ ?

भौतिक संरचना निर्माण र पूर्वाधार विकासमा हामीले प्राथमिकता दिएका छौं, यी क्षेत्रमा प्रगति पनि देखिएको छ । कृषिलाई आधुनिकीकरण तथा व्यावसायिक बनाउनतर्फ ध्यान दिएका छौं । यसका परिणाम देखिन केही समय लाग्छ । स्वास्थ्य क्षेत्रअन्तर्गत पालिकास्तरमा एउटा अस्पताल सञ्चालन गर्ने प्रारम्भिक चरणमा रहेको कामले गति लिएको छ । भौतिक संरचना निर्माणका कामलाई त्यसको परिणामको रूपमा हामीले देख्न सक्छौं । कृषि, स्वास्थ्य, शिक्षा, विकास निर्माण लगायत कामलाई प्राथमिकतामा राखेर अगाडि बढाएका छौं ।

पालिकाले गर्ने मुख्य काम सेवा, विकास र समृद्धि, लगायतका कामअन्तर्गत हामीले उत्कृष्ट सेवा प्रवाह गरिरहेका छौं । जनप्रतिनिधि तथा कर्मचारी सबैले सहज तरिकाले सेवा प्रवाह गर्नुभएको छ । सेवाग्राहीलाई पहिला प्राथमिकता दिएका छौं । साउनबाट हामीले सुविधा सम्पन्न प्रशासकीयभवनबाट काम शुरू गरेका छौं । भवनलाई सेवाग्राहीमैत्री बनाएका छौं । ६ वटै वडा कार्यालयबाट अनलाइन मार्फत सेवा प्रवाह भइरहेका छन् ।

प्रत्येक विद्यालय तथा बजार क्षेत्रमा सिसी क्यामरा जडान गरेका छौं । पालिकाबाटै सबै विद्यालय तथा बजार क्षेत्रको अनुगमन गर्न सकिने बनाएका छौं । शिक्षकको क्षमता विकासका लागि विशेष तालीमको व्यवस्था गरी इसिडीका शिक्षकहरुबाट यसको शुरुवात गरेका छौं । शैक्षिक स्तर सुधारअन्तर्गत अन्य विभिन्न कार्यक्रम ल्याएका छौं ।

निर्माणाधीन अवस्थामा रहेको सेती दोभान आधारभूत अस्पताललाई पालिकास्तरको बनाउने तथा १० शैय्या सञ्चालन गर्ने भनेर कर्मचारी व्यवस्थापन लगायत प्रारम्भिक चरणमा रहेका छौं । शुरूको चरणमा हेर्दा हामीले केही विकासका काम, केही सेवाका काम र केही आय आर्जनसँग जोडिने कामलाई प्रारम्भिक रूपमा अगाडि बढाएका छौं । विकासको पनि विकास भनेर पूर्वाधार विकासलाई भनिन्छ । अघिल्लो कार्यकालमा बाँकी रहेका पूर्वाधारका कामलाई सम्पन्न गर्नेतर्फ लागेको छौं । ५ वर्षको कार्यकालमा चालूदेखि नयाँसम्म गरेर करीब ६० किलो मिटर पक्की सडक गाउँपालिका भित्र निर्माण गर्ने योजना बनाएका छौं । कहाँ कहाँ बनाउने भनेर डिपिआर तयार गरेर काम गरिरहेका छौं । हरेक टोलमा जुनसुकै समय पनि एम्बुलेन्स संचालन गर्नसक्ने गरी सडक बनाउनतर्फ लागेका छौं । कुन कुन क्षेत्रमा सिंचाइका लागि नहर निर्माण गर्ने भनेर तोकेर संघ र प्रदेश सरकारसँग जाने निर्णय गरिसकेका छौं ।

स्थानीय तहले पर्यटनलाई पनि प्राथमिकता दिँदै आएको पाइन्छ, यहाँको पालिकको हकमा के कस्ता काम भएका छन् ?

आँधिखोलाको आफ्नै पहिचान तथा मौलिकता छ । ऐतिहासिक तथा धार्मिक महत्व र पहिचान छ । पर्यटनका लागि पनि आँधिखोला गाउँपालिका राम्रो स्थान हो । प्राकृतिक दृश्यावलोकनका लागि राम्रा राम्रा ठाउँ छन् । दक्षिण एसिया कै पहिलो होमस्टे ‘शिरुवारी होम स्टे’ पनि आँधिखोला गाउँपालिकामा पर्छ । बाँझो भञ्ज्याङमा पार्क छ । यसमा पनि पर्यटकको आकर्षण बढिरहेको छ । डहरे देउराली, जुम्ली थान दरवार, श्रवणकुमार समाधिस्थल, पञ्चासेसँग जोडिएको क्षेत्र लगायतका उत्कृष्ट पर्यटकीय गन्तव्य छन् । स्थानीय संस्कृतिको जगेर्ना गर्दै आँधिखोलालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न हामी लागेका छौं । सम्भावित सबै ठाँउलाई समेटेर पर्यटन प्रवद्र्धन गुरुयोजनाको डीपीआर समेत तयार गरेका छौं ।

कृषि क्षेत्रको विकासमा के–के पहल भएका छन् ?

किसानहरूले बजार भएन भन्नुहुन्छ । व्यावसायिक रूपमा हामीले हेर्दा उत्पादन नभएको देख्छौं । बजार र उत्पादन जोडिन नसकेको अवस्थामा हामीले किसानले उत्पादन गरेका सामानलाई न्युनतम् मूल्य लागत तोकेर खरीद गरी बिक्री गर्ने जिम्मा पालिकाको हुन्छ भनेका छौं । कृषि र पर्यटनको यस क्षेत्रमा धेरै सम्भावना छ । हरेक वडामा कोल्डरुम बनाउने र पालिकामा कोल्स्टोर भनेर अभियान सञ्चालन गरेका छौं । कोल्डस्टोरमा किसानका कृषि उत्पादन राख्छौं । सुन्तला राखेर यसको शुरुवात गरेका छौं । यस क्षेत्रमा कागती उत्पादनको सम्भावना पनि धेरै छ । कुनै क्षेत्रमा अकवरे खुसार्नीको सम्भावना छ । कृषिलाई आयआर्जनसँग जोड्ने सोंच बनाएका छौं । बाख्रापालनका लागि पनि राम्रो सम्भावना छ । कृषकलाई प्रोत्साहन गर्नतर्र्फ हामी लागेका छौं । हामीले योजना बनाएर हप्तामा एक दिन प्रत्येक वडामा पुगेर किसानले उत्पादन गरेका कृषि तथा पशुपन्छीजन्य उपज संकलन गर्ने, कृषकले आफूले उत्पादन गरेका सामान वडामा रहेका कृषि उपज केन्द्रमा संकलन गर्ने र सहकारीमार्फत बजारीकरण गर्ने काममा पालिकाले सहयोग गर्नेछ । आगामी वर्षबाट विविध कार्ययोजना बनाएर नै हामी यसमा अगाडि बढ्नेछौं । किसानले उत्पादनको मात्र चिन्ता लिए हुन्छ बजारीकरणमा समस्या हँुदैन । कृषकलाई यान्त्रीकरण तथा व्यावसायीकरणमार्फत आयआर्जनमा जोड्ने छौं ।

स्थानीय तहलाई ‘गाउँको सिंहदरबार’ पनि मानिन्छ । नागरिकले स्थानीय सरकारको कति अपनत्व महसुस गरेका छन् ?

हामी जनताका सुखदुखका साथी हौं । उहाँहरूको सुखदुखमा साथ दिन घरदैलोमा पुग्ने गरेका छौं । उहाँहरूले नबुझेका कुरा बुझाउने, सिफारिस गरेर सेवा प्रदान गर्ने, घर वरिपरि कृषिसँग जोडिएका कुरा, विकास निर्माणका साना साना काममा पनि हामी सहयोग गर्छौं ।
झाडीले ढाकिएर गाउँवस्ती नै नदेखिने गरेको तथा जंगली जनावरको डर रहेको किसानको गुनासो छ । यसको लागि ‘उघारौं बस्ती अभियान’ भनेर पनि हामीले झाडी फडानीका काम गरेका छौं । गाउँमा बसोबास गर्ने जनताका लागि ठूला ठूला कामभन्दा पनि उहाँहरूका साना साना समस्या समाधान स्थानीय सरकारले गरोस् भन्ने चाहना राख्ने हँुदा सोहीअनुुसारका काम पनि गरेका छौं । स्वास्थ्य, शिक्षा, कृषि, विकास निर्माण लगायतका क्षेत्रमा स्थानीय सरकारको महसुस गराउने गरी काम गर्न रोड म्याप तयार गरिसेका छौं ।

स्थानीय तहले मात्र सबै विकास निर्माणका काम सम्पन्न गर्न सक्दैन । बजेट संघ र प्रदेशले स्थानीय तहलाई दिन नचाहने अवस्था छ । स्थानीय क्षेत्र तथा जनतासँग जोडिनुपर्ने सरकार स्थानीय सरकार हो । जनताले धेरै नजिकबाट महसुस गर्ने भनेकै स्थानीय सरकार हो । संघ र प्रदेश सरकारले दिएको बजेटलाई नीति नियमभित्र रहेर स्थानीय जनताको माग तथा आवश्यकतालाई हेरी विशेष क्षेत्र छुट्याएर विनियोजन गर्छौं । गाउँपालिका भित्र रहेका मानवीय स्रोतको परिचालन गर्नेछौं ।

lcci
You might also like

Comments are closed.