लेखा र अर्थ समितिको विपरीत निर्देशनले बोर्ड अन्यौलमा छ: अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले सार्वजनिक लेखा समिति र अर्थ समितिबाट आएका दुईथरी निर्देशनका कारण बोर्ड अन्यौलमा परेको बताएका छन्।

बिहीबार बसेको संसद्को अर्थ समितिको बैठकमा अध्यक्ष श्रेष्ठले आईपीओ स्वीकृतिको प्रक्रियामा दुई समितिबीचको निर्देशन बाझिँदा निर्णय लिन कठिनाइ भएको बताएका हुन्।

श्रेष्ठका अनुसार सार्वजनिक लेखा समितिले ९० करोड रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ जारी गर्न नदिने निर्देशन दिएको थियो भने अर्थ समितिले भने उल्टो रूपमा ९० करोडभन्दा कम नेटवर्थ भएका कम्पनीलाई पनि आईपीओ ल्याउन अनुमति दिने निर्देशन दिएको छ।

‘दुई समितिबाट विपरीत निर्देशन आउँदा हामी अन्यौलमा परेका छौँ,’ श्रेष्ठले बैठकमा भने, ‘अर्थ समितिको निर्देशन आएपछि फेरि लेखा समितिले निर्देशनको कार्यान्वयन अवस्थाबारे समेत सोधेको छ।’

यसैबीच, अध्यक्ष श्रेष्ठले बोर्डको पछिल्लो बैठकमा नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिनुका साथै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई पुनर्संरचना गर्ने विषयमा समेत छलफल भइरहेको जानकारी दिएका छन्।

You might also like
Ram Tulasi Palpa

Comments are closed.