काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले हालैको बाढीपहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गका विभिन्न खण्डको अनुगमन गरेका छन् । मन्त्री घिसिङको नेतृत्वमा मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसी सहितको टोलीले आज प्रभावित क्षेत्रको निरीक्षण गरेको हो ।
टोलीले बाढीले बगाएको सडक खण्डमा बनाइरहेका अस्थायी ‘डाइभर्सन’को प्रगति र पुनःसञ्चालनका तयारीबारे अवलोकन गरेको थियो । बाढीले क्षतिग्रस्त राजमार्गको करिब चार किलोमिटर क्षेत्रमा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालनको तयारी भइरहेको छ ।
यसै क्रममा मन्त्री घिसिङले कार्यस्थलमा खटिएका इञ्जिनियर र निर्माण व्यवसायीलाई तत्काल मर्मत कार्य तीव्र पार्न निर्देशन दिएका छन् ।उनले वाग्मती, मधेस र कोशी प्रदेशका जिल्लाहरुलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने ‘लाइफ लाइन’का रूपमा रहेको बीपी राजमार्गलाई जतिसक्दो चाँडो सञ्चालनयोग्य बनाउन आग्रह गरे ।
गत वर्षको बाढीले पनि सो राजमार्गको भकुण्डे–नेपालथोक खण्डमा ठूलो क्षति पुर्याएको थियो । त्यसपछि अस्थायी डाइभर्सनमार्फत सञ्चालन गरिएको सडक हालैको बाढीले पुनः करिब चार किलोमिटर क्षेत्रमा बगाएको हो ।
मन्त्री घिसिङको निजी सचिवालयका अनुसार, गत वर्षको बाढीबाट क्षतिग्रस्त सडकलाई स्थायी रूपमा पुनर्निर्माण गर्न केही खण्डमा ठेक्का प्रक्रिया सम्पन्न भइसकेको र केही खण्डको ठेक्का अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ ।
Comments are closed.