बझाङ । सदरमुकाम चैनपुर पानकोटस्थित मोटरेबल पुल निर्माणको काम सकिएको छ । २०७५ मा इस्टिमेट परिवर्तन गरी पुनः टेन्डर भई निर्माण कार्य यसअघि विभिन्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भए पनि चैत २०७५ मा इलाइट कन्स्ट्रक्शन प्रालिसँग करीब ९ करोडमा क्रसब्रिज बनाउने ठेक्का सम्झौता भएको थियो ।
नेपाल सरकार स्थानीय पूर्वाधार विभागको आर्थिक सहयोगमा शुरुको चरणमा २०७२ साल वैशाख ८ गते नीलगिरि र जागृति निर्माण सेवाले संयुक्त रूपमा पुल निमार्णको जिम्मा पाएका थिए । बीचको पिलरका लागि खाल्डो खन्दा ढुङ्गा भेटिएको भन्दै निर्माण कम्पनीले काम गर्न नसक्ने जनाएको थियो ।
कोरोनाका कारण निर्माण कार्यमा ढिलाइ भएको पुल २०७७ साल मङ्सिर महिनाबाट फेरि काम अगाडि बढाइएको र अहिले पुलको सबै काम सकेर स्थानीय सरकारलाई हस्तान्तरण गर्न भने बाँकी रहेको स्थानीय सडक, पुल कार्यक्रमका प्राविधिक अधिकृत हरिशङ्कर जोशीले बताए ।
पुल बनेपछि सेती नदी पारि रहेका स्थानीयवासीलाई आवतजावतमा सहज हुनाका साथै गाउँघरमा उत्पादन भएका स्थानीय स्रोत साधनलाई बजारसम्म पु¥याउन र अन्य निर्माणका सामग्री ढुवानी गर्नसमेत सजिलो हुने जयपृथ्वी नगरपालिका–१ का वडाध्यक्ष गगनबहादुर सिंहले बताए । पुलको लम्बाइ ७० मिटर छ । साथै २०७७ साल पुस १५ गतेभित्र पाउनुपर्ने रकमको भुक्तानी नपाउँदा र अर्कोतर्फ घटिघटाउमा काम गर्दा निर्माण कार्यमा ढिलाइ भएको निर्माण कम्पनी इलाइट कन्सट्रक्शनका प्रतिनिधि कपिल राईले बताए । जिल्ला समन्वय समितिका प्रमुख खडकबहादुर खड्काले अब थलारा, तलकोट, छान्ना लगायतका स्थानीय तहहरुसमेत जोडिने बताए ।
Comments are closed.