बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट सुरु : नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउने लक्ष्य

काठमाडौं । नेपाल पर्यटन बोर्डको आयोजनामा बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (बीआईटीएम) २०२५ सुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले शुक्रबार काठमाडौंमा आयोजित एक भव्य समारोहमा कार्यक्रमको औपचारिक उद्घाटन गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाललाई बौद्ध, अध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रका रूपमा विकास गर्ने सरकारको प्रतिबद्धता व्यक्त गरे। “बुद्धको जन्मभूमि लुम्बिनीबाट सुरु भएको शान्तिको सन्देश पुनः नेपालबाटै विश्वभर फैलाउने समय आएको छ,” मन्त्री पाण्डेले उद्घोष गरे।

उनले लुम्बिनीलाई ‘अन्तर्राष्ट्रिय शान्ति सहर’को रूपमा विकास गर्ने योजनाबारे जानकारी दिँदै कपिलवस्तु, रामग्राम, देवदह, र तिलौराकोट जस्ता महत्वपूर्ण बौद्ध सर्किटलाई प्राथमिकता दिइएको उल्लेख गरे। मन्त्री पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र सुदृढ सडक सञ्जालमार्फत बौद्ध पर्यटनको पहुँचलाई सहज बनाउन सरकार क्रियाशील रहेको बताए।

युनेस्कोसँगको हालैको संवादमा लुम्बिनीलाई जोखिमयुक्त सूचीमा नराख्न आग्रह गरिएको र तिलौराकोटलाई युनेस्कोको सम्भावित सूचीमा समावेश गराउने पहल भइरहेका मन्त्री पाण्डेले जानकारी दिए।

“नेपाल अनुभूतिको मुलुक हो” – पर्यटन बोर्डका सिईओ जोशी

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बीआईटीएमको उद्घाटन समारोहमा बोल्दै नेपाललाई यात्रा गन्तव्य मात्र नभई एक आध्यात्मिक अनुभूति भएको देशको रूपमा परिभाषित गरे। उनले भने, “नेपाल आत्मा र शान्तिको यात्राको प्रारम्भ हो। यहाँको बौद्ध सम्पदा, ध्यान केन्द्र, सांस्कृतिक विविधता र आत्मिक ऊर्जा विदेशी पाहुनाका लागि सन्देशवाहक बन्न सक्छन्।”

सीईओ जोशीले बीआईटीएमलाई अन्तर्राष्ट्रिय साझेदारी, दिगो पर्यटन र आध्यात्मिक पुनर्जागरणको माध्यमका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए। उनले बौद्ध सर्किटजस्ता योजनाहरूले नेपाललाई विश्वको प्रामाणिक आध्यात्मिक गन्तव्य बनाउने विश्वास व्यक्त गरे।

सहभागिता र सहकार्य

कार्यक्रममा कोशी प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री सडानन्द मण्डलले प्रदेश सरकारले पर्यटकीय पूर्वाधार विकासमा उच्च प्राथमिकता दिएको बताए। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले यस्ता अन्तर्राष्ट्रिय मार्टहरू नेपाल पर्यटन प्रवद्र्धनमा सहायक हुने विश्वास व्यक्त गरे।

नाटाका अध्यक्ष कुमारमणि थपलियाले बीआईटीएमले शान्ति र अध्यात्म पर्यटनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लार्केल लामाले नेपाल शान्तिको भूमि भएको सन्देश विश्वभर फैलाउन लागिएको जानकारी गराए।

सोही अवसरमा नाटाका वरिष्ठ उपाध्यक्ष जेसवन तुलाधर श्रेष्ठले सहभागीहरूलाई धन्यवाद दिइन्। साथै नाटाका पूर्व अध्यक्षहरू सीएन पाण्डे, अच्युत गुरागाईं र रमेश थापालाई मन्त्री पाण्डेले सम्मान गरेका थिए।

सहकार्य र विमोचन

कार्यक्रममा नेपाल एशोसिएसन अफ टुर एजेण्ट्स (नाटा) र भारतको इण्डियन एसोसिएसन फर टुर अपरेटर्स बीच पर्यटन प्रवर्द्धनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। साथै बीआईटीएम विशेष स्मारिकाको विमोचनसमेत गरिएको छ।

तीन दिनसम्म चल्ने यस मार्टमा भारत, चीन, बंगलादेश, श्रीलंका, थाइल्याण्ड, म्यानमार, भुटान लगायतका मुलुकका सयभन्दा बढी पर्यटन व्यवसायीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

You might also like

Comments are closed.