बजेट घट्यो, अनियन्त्रित चालु खर्च

काठमाडौं– आइतवार अर्थमन्त्री विष्णु पौडेलले संसदमा आर्थिक वर्ष २०७९/८० को अनुमानित बजेटको आकार घटाउँदै अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरे ।

कोभिड–१९ को लामो असरले गर्दा हाम्रा आर्थिक गतिविधिहरू प्रभावित हुँदा अर्थतन्त्रका प्राय सबै क्षेत्रमा त्यसको नकारात्मक प्रभाव परेको र कोभिड–१९ को असरबाट संकुचन भएको अर्थतन्त्र बिस्तारै तंग्रिदै गरेको समयमा युक्रेनमा भएको युद्ध, विश्वव्यापी रुपमा सिर्जित आपुर्तिजन्य अवरोध तथा ठुला अर्थतन्त्रले लिएका कसिला नीतिहरूको प्रभावका कारण हाम्रो आर्थिक पुनरुत्थानको प्रयासमा चुनौती थपिएको भन्दै सरकारले बजेट घटाउने कडा निर्णय लिएको बताए । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक अवधिसम्म आई पुग्दा यस अवधिमा गरिएको आयात नियमनको असर तथा आर्थिक गतिविधिमा आएको सुस्तता लगायतका कारणले राजस्व वृद्धिदर नकारात्मक हुन गई सरकारी वित्त सन्तुलनमा चरम दबाब परेको उनको दाबी छ ।

सार्वजनिक खर्चतर्फ अनिवार्य दायित्वका शीर्षकहरूमा छुट्याइएको बजेट नपुग हुनुको साथै सिर्जित दायित्व भुक्तानीको लागि स्रोतको जोहो गर्न कठिनाई भइरहेको छ। विभिन्न समयमा सिर्जना गरिएका तत्कालीन तथा दीर्घकालीन प्रकृतिका दायित्वहरूले स्रोत व्यवस्थापन कार्य झनै अप्ठ्यारो भएको अर्थमन्त्रीको भनाई छ ।

कति घट्दै छ बजेट ?

सरकारले अघिल्लो सरकारले अनुमान गरे भन्दा १४ प्रतिशत बजेट कम आकंलन गरेको छ । चालु आर्थिक वर्षमा कूल सरकारी खर्च रू. १७ खर्ब ९३ अर्ब ८३ करोड हुने शुरु अनुमान गरिएकोमा रू.१५ खर्ब ४९ अर्ब ९९ करोड हुने सरकारको संशोधित अनुमान छ, जुन शुरू विनियोजन भन्दा रू.२ खर्ब ४४ अर्ब कम हो ।

चालु खर्च तर्फ रू.११ खर्ब ८३ अर्ब २३ करोड शुरु विनियोजन भएकोमा रू.१० खर्ब २१ अर्ब ९२ करोड हुने संशोधित अनुमान छ। जुन शुरु विनियोजनको ८६.३७ प्रतिशत हुन आउँछ। त्यसैगरी , पुँजीगत खर्च तर्फ रू.३ खर्ब ८० अर्ब ३८ करोड शुरु विनियोजन भएकोमा रू.३ खर्ब १३ अर्ब ८५ करोड हुने संशोधित अनुमान छ। जुन शुरु विनियोजनको ८२.५१ प्रतिशत हो। वित्तीय व्यवस्था तर्फ रू.२ खर्ब ३० अर्ब २१ करोड शुरु विनियोजन भएकोमा रू.२ खर्ब १४ अर्ब २१ करोड हुने संशोधित अनुमान छ। जुन शुरु विनियोजनको ९३.०५ प्रतिशत हो।

त्यस्तै सरकारले सङ्कलन गर्ने राजस्वतर्फ शुरु अनुमान रू.१४ खर्ब ३ अर्ब १४ करोड रहेकोमा रू.१२ खर्ब ४४ अर्ब ७५ करोड मात्र सङ्कलन हुने संशोधित अनुमान छ जुन शुरु अनुमानको ८८.७१ प्रतिशत हो। संशोधित अनुमान गरिएको राजस्वमध्ये नेपाल सरकारबाट रू.११ खर्ब १ अर्ब परिचालन हुने र रू.१ खर्ब ४३ अर्ब ७५ करोड प्रदेश र स्थानीय तहलाई बाँडफाँट हुने अनुमान छ। वैदेशिक अनुदान तर्फ रू.५५ अर्ब ४५ करोड शुरु अनुमान गरिएकोमा रू.३८ अर्ब ४५ करोड परिचालन हुने र वैदेशिक ऋण तर्फ रू.२ खर्ब ४२ अर्ब २६ करोड परिचालन हुने शुरु अनुमान रहेकोमा रू.१ खर्ब ७० अर्ब ५३ करोड मात्र परिचालन हुने संशोधित अनुमान छ। आन्तरिक ऋण तर्फ रू.२ खर्ब ५६ अर्बको शुरु अनुमान गरिएकोमा रू.२ खर्ब ४० अर्ब परिचालन गर्नुपर्ने संशोधित अनुमान छ।

अनियन्त्रित चालु खर्च

अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल सरकारी खर्च रू.५ खर्ब ७६ अर्ब ३४ करोड भएको छ जुन गत वर्षको तुलानामा १३.७ प्रतिशतले बढी हो। गत वर्षको तुलनामा चालु खर्चतर्फ ११.९ प्रतिशतले ले वृद्धि भई रू.४ खर्ब ५५ अर्ब १२ करोड, पुँजीगत तर्फ ५.३ प्रतिशतले वृद्धि भई रू.५३ अर्ब ४५ करोड र वित्तीय व्यवस्थातर्फ ३७.० प्रतिशतले वृद्धि भई रू.६७ अर्ब ७६ करोड खर्च भएको छ।
समीक्षा अवधिमा वैदेशिक अनुदान रू.७ अर्ब २१ करोड, वैदेशिक ऋण रू.२८ अर्ब ५७ करोड र आन्तरिक ऋण रू.३० अर्ब परिचालन गरिएको छ ।

 

 

 

 

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.