खेलकूदमा बजेट वृद्धिः निवृत्त खेलाडीलाई सहुलियत दरमा कर्जा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकूद मन्त्रालयलाई रु दुई अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै युवा मन्त्रालयका लागि उक्त रकम विनियोजन गर्नुभएको हो । यो रकम चालु आर्थिक वर्षका तुलनामा रु ३८ करोडले वृद्धि गरिएको हो । चालू आवमा मन्त्रालयलाई रु दुई अर्ब ३६ करोड बजेट विनियोजन गरिएको थियो ।

बजेटमा सक्रिय खेलजीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय सञ्चालन गर्न सहुलियत दरको कर्जा उपलब्ध गराउने व्यवस्था समेत मिलाइएको छ ।

त्यस्तै मोरङको वैजनाथपुर, काठमाडौँको मूलपानी, रुपन्देहीको भैरहवा, दाङको लमही, बाँकेको नेपालगञ्ज र कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट रंगशाला निर्माण गर्न आवश्यक बजेट छुट्याइएको अर्थमन्त्री पौडेलले बताए ।

त्यसैगरी झापाको दमकमा बन्ने मदन भण्डारी अन्तरराष्ट्रिय रंगशाला आगामी दुई वर्षभित्र सञ्चालनमा आउने गरी निर्माण गरिने छ । यसबाहेक सोलुखुम्बु, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ र जुम्लामा हाइअल्टिच्युड स्पोर्टस सेन्टर निर्माण गर्न आवश्यक रकम बजेटमा व्यवस्था गरिएको छ ।

अन्तरराष्ट्रियस्तरमा पदक हासिल गर्न सक्ने सम्भाव्य खेल पहिचान गरी प्रोत्साहन गरिने बजेटमा उल्लेख छ । त्यस्तै अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता वृद्धि गरिने जनाइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...