कृष्ण न्यौपाने/दमौली । आगामी वर्ष २०७८÷७९ का लागि सरकारले सार्वजनिक गरेको बजेटको तनहुँका निजी क्षेत्रले स्वागत गरेका छन् । सरकारले सार्वजनिक गरेको बजेट व्यवसायीमैत्री रहेको व्यवसायीको प्रतिक्रिया छ । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले सरकारले सार्वजनिक गरेको बजेट पछिल्लो दशककै उत्कृष्ट रहेको बताए । “बजेटमा सम्बोधन भएका विषयले पछिल्लो दशककै उत्कृष्ट बजेट आएको महसुस भएको छ”, श्रेष्ठले भने ।
श्रेष्ठले बजेटमा निजी क्षेत्रको माग सम्बोधन भएको बताए । उद्योग वाणिज्य महासङ्घको परामर्श समितिमार्फत सरकारलाई दिइएको मागलाई बजेटले सम्बोधन गरेको श्रेष्ठको भनाइ छ । उनका अनुसार बजेटले विशेषगरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिए पनि सबै क्षेत्रलाई महत्व दिएको छ ।
नेपाल चेम्बर अफ कमर्स तनहुँले सरकारले ल्याएको बजेटको स्वागत गरेको छ । व्यवसायीले दिएको सुझावलाई आत्मसाथ गर्दै आगामी वर्षको बजेट आएको कमर्सका जिल्ला उपाध्यक्ष कविराज श्रेष्ठले बताए । “चेम्बर अफ कमर्सले सरकारलाई दिएको सुझावअनुसार नै बजेट आएको छ, सरकारले ल्याएको बजेटको चौतर्फी स्वागत गरिएको छ”, श्रेष्ठले भने, “जनमुखी बजेट आएकाले यसको कार्यान्वयनमा सरकार उत्तिकै गम्भीर भएर लाग्नुपर्छ ।”
बजेटले व्यवसायीको हकहितका विषयलाई पनि सम्बोधन गरेको श्रेष्ठले बताए । कोरोना कहरका कारण थला परेको उद्योग व्यवसाय क्षेत्रलाई पनि बजेटले छोएको उनको भनाइ छ । “विस्तृतमा अध्ययन गर्न नपाए पनि व्यवसायीलाई राजश्व छुटका कार्यक्रम बजेटमा समावेश भएको छ”, उनले भने । उनले व्यवसायीलाई प्रोत्साहन गर्नका लागि सहुलियत दरको ऋण उपलब्ध गराउन माग गरे ।
बजेटले सबै क्षेत्रलाई समेट्नु एकदमै राम्रो भएको उनको भनाइ छ । युवा वर्गदेखि वृद्धवृद्धा, कर्मचारीलगायत सबै क्षेत्रलाई बजेटले समेटेको श्रेष्ठले बताए । “सबैले आकाङ्क्षा गरेभन्दा पनि राम्रो बजेट आएकाले कार्यान्वयन पक्षमा चुनौती हुनसक्छ, त्यसतर्फ सरकारले सोच्नुपर्छ”, श्रेष्ठले भने ।
बजेटमा तनहुँका विभिन्न योजना समेटिएका छन् । आँबुखैरेनी पोखरा सडकखण्ड विस्तार, बालसुधार गृह निर्माण, तामाखानी उत्खनन, औद्योगिक क्षेत्र निर्माण लगायतका जिल्लाका योजना बजेटमा समावेश भएका छन् ।
आँबुखैरेनी–पोखरा सडक विस्तार
तनहुँको आँबुखैरेनीबाट पोखरासम्मको सडकखण्ड विस्तारका लागि रु सात अर्ब २७ करोड विनियोजन भएको छ । यो सडकका लागि बोलपत्र आह्वान भएर ठेकेदार छनोट पनि भइसकेको छ । बजेट सुनिश्चित भएपछि सडक विस्तारकार्य निर्माण हुने भएको छ । असी किलोमिटर लामो आँबुखैरेनी–पोखरा सडकखण्डलाई ४०–४० किलोमिटरको दुई प्याकेज बनाइएको छ । पहिलो चरणमा आँबुखैरेनी–पोखरा र दोस्रो चरणमा मुग्लिन–आँबुखैरेनी विस्तार गरिनेछ ।
पोखरा–मुग्लिन सडकखण्डको भौगोलिक बनावट र जनघनत्वलाई आधार मानेर सडक चौडा निर्धारण गरिनेछ । घनाबस्ती भएको स्थानमा सडकको चौडाइ ४१ मिटरसम्मको हुनेछ । विस्तारित सडक दुवैतर्फ सात÷सात मिटरको हुनेछ ।
व्यासमा औद्योगिक क्षेत्र
व्यास नगरपालिका–५ चिन्तुटारमा औद्योगिक क्षेत्र निर्माण हुने भएको छ । औद्योगिक क्षेत्र निर्माणका लागि आगामी वर्ष सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरे । औद्योगिक क्षेत्रमा निजी क्षेत्रको भूमिका बढाउने र पूर्वाधार निर्माणका लागि अन्तर्राष्ट्रिय लगानीकर्ता आकर्षित गरिनेछ ।
बाल सुधारगृह र तामाखानीको सम्भाव्यता अध्ययन
आँबुखैरेनी गाउँपालिका–२ ढकालटारमा बाल सुधारगृह निर्माण हुने भएको छ । सरकारले बाल सुधारगृह निर्माणका लागि बजेट विनियोजन गरेको छ । ढकालटारमा बालगृह स्थापनाका लागि गत चैत महिनामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले स्थलगत अनुगमन गरेकी थिइन् । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा मन्त्रालयले बालगृह स्थापना गर्न लागेको छ । ढकालटारमा विद्युत प्राधिकरणको स्वामित्वको ५४ रोपनी जग्गा छ । त्यसमध्ये २८ रोपनी जग्गामा बालगृह निर्माण गरिनेछ । यसैगरी आँबुखैरेनीमा तामाखानीको सम्भाव्यता अध्ययन गरी उत्खनन गरिने बजेट भाषणमा समावेश छ ।
भानुभक्त प्राणी उद्यान
बजेट भाषणमा भानुभक्त प्राणी उद्यानको निर्माण कार्य सम्पन्न गर्ने उल्लेख छ । नेपालका विभिन्न स्थानमा पाइने वन्यजन्तुको प्रतिनिधिमूलक वनका रूपमा संरक्षण गर्ने, मध्यपहाडी वन क्षेत्रका घाइते तथा टुहुरा वन्यजन्तुको उद्धार गरी संरक्षण एवं संवद्र्धन गर्ने, वंशाणुगत विविधता संरक्षण गर्ने, प्रयोगशाला अध्ययन, अनुसन्धान प्रवद्र्धन गर्दै संरक्षित क्षेत्रमा वन्यजन्तुको वैज्ञानिक व्यवस्थापनमा विकास गर्नेलगायतका उद्देश्य राखेर सरकारले भानुभक्त प्राणी उद्यानको कामलाई अगाडि बढाएको छ । प्राणी उद्यानले १३ वन क्षेत्रलाई समावेश गरेको छ । प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन गरी १३ वन क्षेत्र समावेश गरिएको छ ।
तनहुँ जलविद्युत आयोजना
यसैगरी तनहुँ जलविद्युत आयोजनालाई तीव्रता दिइने सरकारको घोषणा छ । ऋषिङ गाउँपालिका–१ मा १४० मेगावाट क्षमताको आयोजना अगाडि बढिरहेको छ । तीनवटा प्याकेजअन्तर्गत आयोजनाको काम अगाडि बढेको छ ।
बन्दीपुर
त्यसैगरी पर्यटकीय नगरी बन्दीपुरलाई पुनःजागृत गर्ने सरकारले घोषणा गरेको छ । जिल्लाको पुरानो सदरमुकाम बन्दीपुरमा पूर्वाधार विकास गरी पुनःजागृत गर्ने योजना सरकारले ल्याएको हो ।
रासस






Comments are closed.