काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आज (भदौ १६ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन थालेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको थियो।
कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न स्वीकृति पाएको छ। यसअन्तर्गत ८ लाख ३० हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दा र २ लाख ७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन भइसकेको छ। त्यस्तै, १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोषका लागि र ६२ हजार २५० कित्ता कर्मचारीका लागि सुरक्षित राखिएको छ।
अब दोस्रो चरणमा सर्वसाधारणका लागि १७ लाख १ हजार ५०० कित्ता शेयर निष्काशन हुँदैछ। यसमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। निष्काशन छिट्टैमा भदौ १९ गते र ढिलोमा भदौ ३० गते बन्द हुनेछ।
आईपीओ रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई CARE-NP B Issuer Rating प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको १०.७० मेगावाटको माथिल्लो सानिगाड जलविद्युत आयोजना करिब ३ अर्ब २ करोड रुपैयाँ लागतमा बनेको हो। प्रतिमेगावाट लागत २८ करोड २५ लाख रुपैयाँ परेको छ। आयोजनाको विद्युत अनुमतिपत्रमा २६ वर्ष १० महिना बाँकी छ भने साधारण लगानी फिर्ता हुने अवधि ९.८५ वर्ष र डिस्काउण्टेड लगानी फिर्ता हुने अवधि २२.२९ वर्ष रहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ।
Comments are closed.