पोखरा । हाइग्राउन्ड एड्भेन्चर्स नेपालद्वारा संचालित पोखराको हेम्जामा रहेको बन्जी जम्पमा चैत्र १५ गते फागु पूर्णिमाको रातमा ‘फुलमुन बन्जी’ हुने भएको छ ।
साहसिक खेलमा फरक स्वाद दिन फुलमुन बन्जी संचालन गर्न लागेको कम्पनीका सीओओ दिनेश मर्हजनले बताए। पोखरामा साहसिक पर्यटनका लागि अन्य खेलहरु भएपनि बन्जी जम्प रातमा अन्यत्र नभएको उनले बताए ।
रातिमा जम्प गरिने भएकोले झन थ्रील र रोमाञ्चकता थप्ने महर्जन तर्क गर्छन्। फुलमुन बन्जी सुरु हुनु अगाडि म्युजिकल इभेन्टहरु समेत संचालन हुनेछन् । कार्यक्रम साँझ ७ बजे देखि राति ११ बजे सम्म सञ्चालन गरिनेछ ।
फुलमुन बन्जी गर्न प्रतिव्यक्ति ५ हजार लाग्ने महर्जनले बताए । फुलमुन बन्जीको यस छैठौं संस्करणमा करिब ५० जनालाई सहभागी गराउने लक्ष्य कम्पनीले लिएको र प्रिबुकिङ सुरु भएको बताइएको छ। फोन मार्फत तथा हाइग्राउण्डको अफिसियल वेबसाईट मार्फत बुकिङ गर्न सकिने महर्जनले बताए।
मंगलम ग्रुप र गोल्छा अर्गनाइजेसनको संयुक्त लगानीमा हेम्जामा बन्जीजम्प संचालन भएको करिब एक दशक भैसकेको छ । यो नेपालमा संचालित पहिलो टावर बन्जीजम्प पनि हो ।
४५ मिटर लामो पुल आकारको क्यान्टिलिभर टावरबाट ७२ मिटर तलको याम्दी खोला किनारमा बन्जीजम्प गराउने गरिएको छ। कम्पनीले पोखरामै सराङकोटदेखि हेम्जासम्म नेपालकै पहिलो र लामो जीपलाइन समेत संचालन गरिरहेको छ ।
Comments are closed.