व्यवसाय प्रवर्द्धन केन्द्रको चार वर्ष : उद्यमशील पोखराको आधार तयार

धनराज आचार्य, नगर प्रमुख, पोखरा महानगरपालिका

पोखरा प्राकृतिक सौन्दर्य, पर्यटन र संस्कृतिको शहर मात्र होइन, सम्भावनाले भरिएको आर्थिक शहर पनि हो । यहाँ पर्यटनसँगै कृषि, उद्योग, व्यापार, सूचना प्रविधि, हस्तकला, सेवा क्षेत्र र सिर्जनशील उद्यमका प्रशस्त अवसरहरु छन् । तर सम्भावना आफैंमा विकास होइन भन्ने कुरालाई हामीले मसिनो गरि बुझेका छौँ । त्यसलाई उत्पादन, रोजगारी र आयमा रूपान्तरण गर्न आवश्यक पर्ने सीप, पूँजी, प्रविधि, बजार र संस्थागत सहजीकरणको उचित संयोजनको आवश्यकतालाई आत्मसात् गर्दै पोखरा महानगरपालिकाले व्यवसाय प्रवर्द्धन केन्द्र (Business Promotion Centre-BPC) स्थापना गरेको हो ।

पोखरा महानगर क्षेत्रमा युवाहरूको विदेश पलायन, सीमित उद्यमशीलता, नवप्रवर्तनको अभाव, बजार पहुँचको समस्या र व्यवसाय सञ्चालनका लागि आवश्यक परामर्शको कमी थियो । स्थानीय स्रोत र सीप हुँदाहुँदै पनि धेरै युवा रोजगारीको खोजीमा बाहिर जानुपर्ने अवस्था थियो । हामीले सोच्यौँ–यदि स्थानीय युवालाई यहीँ अवसर सिर्जना गर्ने हो भने महानगरपालिकाले सडक, खानेपानी र भौतिक पूर्वाधार निर्माणमा मात्र होइन, स्थानीय अर्थतन्त्र निर्माणमा पनि नेतृत्व लिनुपर्छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को सहकार्यमा सञ्चालित Entrepreneurship and Business Incubation Centre (EBIC) परियोजनाबाट प्राप्त अनुभवलाई संस्थागत गर्दै २०७९ भाद्र १८ गते व्यवसाय प्रवद्र्धन केन्द्रको स्थापना त्यसै सोचको परिणाम हो ।

“समुन्नत पर्यटकीय पोखरा” निर्माणसँगै हरित, समावेशी, उत्पादनशील र उत्थानशील स्थानीय अर्थतन्त्रको विकास गर्नु हाम्रो मूल उद्देश्य हो । महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गत विशिष्टीकृत कार्यालयका रूपमा केन्द्रलाई संस्थागत गरिएको छ । नगर प्रमुखको संयोजकत्वमा निर्देशक समिति र ८औँ तहका प्रमुख कार्यकारी अधिकृतसहितको कर्मचारी संरचनाबाट केन्द्र सञ्चालन भइरहेको छ । यसले व्यवसाय प्रवद्र्धनलाई कुनै एउटा परियोजनाको सीमित कार्यक्रम नभई महानगरपालिकाको संस्थागत जिम्मेवारीका रूपमा स्थापित गरेको छ ।

व्यवसाय प्रवर्द्धन केन्द्रले उद्यमी, व्यवसायी, युवा र महिलालाई केन्द्रमा राखेर चार प्रमुख डेस्कहरु उद्यमशीलता, व्यवसाय प्रवद्र्धन, नवप्रवर्तन र रोजगार सेवा मार्फत सेवा दिइरहेको छ । यी डेस्कमार्फत व्यवसाय परामर्श, अनुसन्धान, प्रविधि हस्तान्तरण, व्यवसाय सहजीकरण, ब्रान्डिङ, लगानी पहुँच र रोजगारीसम्बन्धी सेवाहरू उपलब्ध भइरहेका छन् । हाम्रो बुझाइमा उद्यमीलाई केवल तालिम दिएर मात्र पुग्दैन, सीपपछि पूँजी, पूँजीपछि प्रविधि, प्रविधिपछि बजार र बजारसँगै निरन्तर परामर्श चाहिन्छ । केन्द्रको काम यी सबै पक्षलाई एउटै संस्थागत संरचनाभित्र जोड्नु हो ।

स्थापनाको पहिलो आर्थिक वर्ष २०७९/०८० मा रु. १० करोड बजेटमध्ये रु. ५ करोड ८६ लाख ५३ हजार २२८ अर्थात् ५८.६५ प्रतिशत वित्तीय प्रगति हासिल भयो । त्यो वर्ष कार्यालय व्यवस्थापन र जनशक्ति परिचालनसँगै रोजगार एप्स निर्माण, रणनीतिक अन्तरक्रिया र मागमा आधारित सीपमूलक तालिमको आधार तयार ग¥यौँ । त्यसै वर्ष पोखरा महानगरपालिका, युवा स्वरोजगार कोष र ग्रीन डेभलपमेन्ट बैंकबीच त्रिपक्षीय सम्झौता गरी रु. १० करोडको संयुक्त स्वरोजगार कोष स्थापना गरियो । पहिलो चरणमा २५० जना साना तथा मझौला उद्यमीलाई बिना धितो सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउनु हाम्रो लागि महत्वपूर्ण उपलब्धि हो । यसले “उद्यम गर्छु, तर पैसा छैन” भन्ने युवाको समस्यालाई सम्बोधन गर्ने प्रयास ग¥यो । त्यसै वर्ष २४ जना नवउद्यमीलाई जनही रु. ५० हजारका दरले स्टार्टअप पुरस्कार, ६०० भन्दा बढीलाई वित्तीय साक्षरता र १२ प्रकारका सीपमूलक तालिमबाट ३०४ जनालाई लाभान्वित गरियो । पञ्चेबाजा, बारिस्टा, कुक, ब्युटीपार्लर, प्लम्बिङ, कुटानी–पिसानीलगायतका तालिम र ४०० भन्दा बढी प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरणले सीपलाई रोजगारी र स्वरोजगारीसँग जोड्ने आधार तयार ग¥यो ।

आर्थिक वर्ष २०८०/०८१ मा रु. २ करोड १५ लाख बजेटमध्ये रु. १ करोड ३४ लाख ५२ हजार खर्च भयो । यस अवधिमा तालिम तथा सीप परीक्षण, व्यवसाय प्रवर्द्धन र स्थानीय उत्पादन प्रवर्द्धनमा उल्लेखनीय प्रगति भयो । नेपाली युवा उद्यमी मञ्चसँगको सहकार्यमा ६० जना युवा उद्यमीका लागि लुम्लेमा Business Incubation/Boot Camp तथा १७ जनाका लागि ToT तालिम सञ्चालन भयो । लेखा तथा कर प्रणाली, डिजिटल मार्केटिङ र E-Commerce सम्बन्धी तालिम तथा पर्यटन व्यवसायको उद्यम क्लिनिकले व्यवसाय सञ्चालनमा देखिएका व्यावहारिक समस्यालाई सम्बोधन गर्ने प्रयास ग¥यो ।

स्थानीय उत्पादनलाई प्रविधिसँग जोड्नु हाम्रो अर्को प्राथमिकता हो । हस्तकला, मौरीपालन, कपास, कफी प्रशोधन र कृषि फार्मलगायतका व्यवसायलाई लागत साझेदारीमा प्रविधि अनुदान उपलब्ध गराइएको छ । पोखरा आइडिया मार्ट, सफल उद्यमीका कथा र रोजगार मेलाजस्ता कार्यक्रमले युवालाई “रोजगारी खोज्ने” मात्र होइन, “रोजगारी सिर्जना गर्ने” सोचतर्फ अघि बढाउन मद्दत गरेका छन् । यही सोचमा हामीले पोखराको आर्थिक विकासलाई आत्मनिर्भरता र उत्पादनसँग जोडिरहेका छौँ ।

आर्थिक वर्ष २०८१/०८२ मा पनि केन्द्रको कार्यक्रमले निरन्तरता पायो । लायन्स क्लब ३२५ एमसँगको लागत साझेदारीमा २६० जनालाई विभिन्न तालिम दिइयो । क्यानडाको Ivey Business School का विज्ञमार्फत ५० जनालाई १० दिने Idea Mart Boot Camp सञ्चालन गरियो । स्थानीय उत्पादनको पहिचान र बजार विस्तारका लागि “Make in Pokhara” र “Made in Pokhara” ब्रान्डिङअन्तर्गत व्यवसायीलाई सहयोग गरिएको छ । १९ वटा लघु, घरेलु तथा साना उद्योगलाई महानगर र उद्यमीको लागत साझेदारीमा आधुनिक मेसिनरी तथा प्रविधि हस्तान्तरण गर्नु उत्पादन क्षमता अभिवृद्धिको महत्वपूर्ण कदम हो ।

आर्थिक वर्ष २०८२/०८३ मा केन्द्रले नयाँ पुस्ताको प्रविधि र रोजगारीलाई प्राथमिकता दिएको छ । ५१ राष्ट्रिय रोजगारदाता र १,८०० भन्दा बढी रोजगार खोजकर्ता सहभागी भएको ‘रोजगार मेला २०२६’ ले रोजगारदाता र श्रम बजारबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने प्रयास गरेको छ । ६५ जना उद्यमीलाई Artificial Intelligence (AI) तथा डिजिटल प्रविधिको प्रयोगसम्बन्धी तालिम प्रदान गरिएको छ । अबको उद्यमशीलता परम्परागत ढाँचामा मात्र सीमित रहन सक्दैन । डिजिटल प्रविधि, AI, E-Commerce र नवप्रवर्तनलाई स्थानीय उद्यमको अभिन्न हिस्सा बनाउनुपर्छ ।

हामीले स्थानीय र मौलिक उत्पादनको संरक्षण र बजारीकरणलाई पनि प्राथमिकता दिएका छौँ । पोखरा–८ मा स्थायी “रैथाने हाट बजार” सञ्चालन हुनु यसै अभियानको हिस्सा हो । चाडपर्वमा सुपथ मूल्य पसल, स्थानीय उत्पादनको ब्रान्डिङ, सफल उद्यमीका कथा अभिलेखीकरण तथा विभिन्न नवप्रवर्तन कार्यक्रममार्फत हजारौँ युवालाई जोड्ने काम भएको छ । Hult Prize, CodeFest, Revamp र Policy Lab जस्ता कार्यक्रमले उद्यमशीलतालाई युवा पुस्ताको सिर्जनशीलता, प्रविधि र नीति संवादसँग जोडिरहेका छन् ।

चार वर्षको अनुभवले हामीलाई एउटा महत्वपूर्ण कुरा सिकाएको छ, महानगरपालिकाले सबैलाई जागिर दिन सक्दैन, तर महानगरपालिकाले हजारौँ रोजगारी सिर्जना हुने वातावरण बनाउन सक्छ । त्यसका लागि स्थानीय सरकार आफैं उद्यमी बन्ने होइन; उद्यमी बन्न चाहने नागरिकका लागि सहजीकरण गर्ने, अवरोध हटाउने र अवसर सिर्जना गर्ने संस्थाका रूपमा अघि बढ्नुपर्छ । व्यवसाय प्रवद्र्धन केन्द्र यही दर्शनमा आधारित छ ।

अबको हाम्रो लक्ष्य विगतका कार्यक्रमलाई निरन्तरता दिनु मात्र होइन, तिनलाई अझ संस्थागत र दिगो बनाउनु हो । आगामी दिनमा Co-working Space, Business Incubation Center र हरित अर्थतन्त्र प्रवद्र्धनलाई विशेष प्राथमिकता दिइनेछ । नयाँ विचार भएका युवाले कार्यालय, प्रविधि, परामर्श र नेटवर्किङका लागि अलग–अलग ठाउँ धाउन नपरोस् भन्ने हाम्रो उद्देश्य हो । नवउद्यमीलाई विचारदेखि व्यवसायसम्म र व्यवसायदेखि बजारसम्म पु¥याउने संरचना निर्माण गर्नुपर्छ ।

त्यसैगरी स्थानीय उत्पादनलाई पोखराको पहिचानसँग जोड्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउने, पर्यटनलाई कृषि तथा स्थानीय उत्पादनसँग जोड्ने, हरित प्रविधि र नवीकरणीय ऊर्जामा आधारित व्यवसायलाई प्रोत्साहन गर्ने तथा निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, विकास साझेदार र उद्यमीबीच बलियो सहकार्य निर्माण गर्ने हाम्रो आगामी रणनीति हो । पोखरा महानगरपालिकाको दृष्टिमा व्यवसाय प्रवद्र्धन केन्द्र एउटा कार्यालय मात्र होइन, स्थानीय आर्थिक रूपान्तरणको संस्थागत आधार हो । विगत चार वर्षमा यसले हजारौँ युवा तथा उद्यमीलाई सीप, प्रविधि, पूँजी, रोजगारी र बजारसँग जोड्ने काम गरेको छ। आगामी दिनमा यसको प्रभाव अझ फराकिलो बनाउन हामी प्रतिबद्ध छौँ ।

हाम्रो लक्ष्य विदेश जानुपर्ने बाध्यता घटाउँदै पोखरामै अवसर सिर्जना गर्ने हो । स्थानीय युवाको ज्ञान, सीप र सिर्जनशीलतालाई स्थानीय स्रोत, प्रविधि र पूँजीसँग जोडेर उत्पादन र रोजगारी बढाउने हो । पोखरालाई पर्यटनको राजधानीसँगै उद्यमशीलता, नवप्रवर्तन र हरित अर्थतन्त्रको अग्रणी शहर बनाउने हाम्रो संकल्प हो । व्यवसाय प्रवर्द्धन केन्द्रको आगामी यात्रा यही संकल्प पूरा गर्ने दिशामा केन्द्रित हुनेछ–“सीप भएको युवा अवसरको खोजीमा बाहिर जान नपरोस्, अवसर सिर्जना गर्ने उद्यमीका रूपमा पोखरामै उभिन सकोस् ।” यही नै समुन्नत, आत्मनिर्भर र समावेशी पोखरा निर्माणको हाम्रो आर्थिक विकासको मूल आधार हो ।

You might also like

Comments are closed.