व्यवसायबाट संसदसम्म पुगे यी १० व्यवसायी

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट विभिन्न क्षेत्रका व्यवसायीहरू पनि संसदमा प्रवेश गर्ने भएका छन् । हालसम्मको मतगणनाअनुसार करिब एक दर्जन व्यवसायी उम्मेदवारले प्रत्यक्षतर्फ विजय हासिल गर्दै संसदीय यात्रा सुरु गरेका छन् ।

सोमबारसम्म सार्वजनिक परिणामअनुसार प्रत्यक्ष निर्वाचनबाट १० जना व्यवसायी निर्वाचित भएका छन् । निर्वाचनमा सहभागी भएका करिब तीन दर्जन व्यवसायी उम्मेदवारमध्ये हालसम्म १० जनाले जित हात पारेका हुन् ।

निर्वाचित व्यवसायीमध्ये अधिकांश राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रहेका छन् । रास्वपाबाट मात्रै ६ जना व्यवसायी प्रतिनिधिसभामा पुगेका छन् । रास्वपाका तर्फबाट उद्योग वाणिज्य महासंघका महासचिव रुकेश रञ्जित भक्तपुर–२ बाट विजयी भएका छन् । त्यस्तै, सिन्धुपाल्चोक–१ बाट ऊर्जा व्यवसायी भरतप्रसाद पराजुली, बारा–३ बाट आईएमईमा लगानीकर्ता अरविन्द साह र उदयपुर–१ बाट व्यवसायी पारसमणि गेलाल निर्वाचित भएका छन् ।

यसैगरी, स्याङ्जा–१ बाट पर्यटन व्यवसायी तथा नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका कृष्ण रिजाललाई पराजित गरेका हुन् । सर्लाही–१ बाट होटल व्यवसायी नितिमा भण्डारी कार्की पनि निर्वाचित भएकी छन् ।

नेपाली कांग्रेसबाट चार जना व्यवसायी प्रतिनिधिसभामा पुगेका छन् । सोलुखुम्बु–१ बाट कुरियर तथा कार्गो व्यवसायी प्रकाशसिंह कार्की, रसुवा–१ बाट निर्माण व्यवसायी मोहन आचार्य, मुस्ताङ–१ बाट पर्यटन व्यवसायी योगेश गौचन तथा मनाङ–१ बाट पर्यटन व्यवसायी टेकबहादुर गुरुङ निर्वाचित भएका हुन् ।

यस्तै, नेपाली कम्युनिष्ट पार्टीबाट डोल्पा–१ मा निर्माण व्यवसायी धनबहादुर बुढा विजयी भएका छन् । निर्वाचनमा विभिन्न दलबाट व्यवसायी उम्मेदवार उठे पनि सबैले सफलता पाउन सकेनन् । विशेषगरी नेकपा एमालेबाट उम्मेदवार बनेका धेरै व्यवसायी पराजित भएका छन् भने कांग्रेसका पनि केही व्यवसायी उम्मेदवारले जित हासिल गर्न सकेनन् ।

 

You might also like

Comments are closed.