काठमाडौं । पोखराको लेकसाइडस्थित सेन्टरपोइन्टमा सञ्चालित ‘बिजी बि क्याफे’को शाखा राजधानी काठमाडौंमा समेत विस्तार भएको छ । पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्न सफल बिजी बीले काठमाडौंको ठमेलस्थित चाक्सीबारीमा पहिला शाखा सञ्चालनमा ल्याएको हो ।
पोखरामा करिब ३ दशक अगाडिबाट बिजी बी सुरु भएको थियो । बिजी ग्रुपका लगानीकर्ताहरुको संयुक्त लगानीमा काठमाडौंमा समेत शाखा विस्तार भएको हो । सम्पूर्ण तयारी सकिएको र भदौ पहिलो सातासम्म बिजी बीको शाखा सञ्चालनको तयारी भइरहेको सञ्चालक योगेश भट्टराईले जानकारी दिए । ‘केही वर्ष अगाडिबाटै काठमाडौंमा शाखा सञ्चालनको तयारी भएको थियो,’ उनले भने, ‘कोभिडका कारण केही वर्ष ढिलो भएपनि सेवा सञ्चालनको तयारीको अन्तिम तयारीमा हामी जुटेका छौं ।’
विशेष गरी बिजी बी क्याफे युवाहरुको रोजाईमा पर्ने गरेको छ । ‘काठमाडौंका सेवा ग्राहीले फरक खालको स्वाद बिजी बी क्याफेबाट लिन पाउनेछन्,’ उनले भने । करिब २ रोपनी क्षेत्रफलमा बिजी बी क्याफेको शाखा विस्तार गरिएको छ । करिब १० करोड लगानीमा सञ्चालनमा आउन लागेको बिजी बीमा काठमाडौं आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्ने लगानीकर्ताहरुको विश्वास छ ।
पोखरामा उपलब्ध सम्पूर्ण सेवा काठमाडौं शाखामा पनि उपलब्ध हुने अर्का सञ्चालक वसन्त महतले जानकारी दिए । म्युजिक, फुड र ड्रिङसका लागि बिजी बी प्रशिद्ध छ । ‘बिजी बी पोखराले धेरै सेवाग्राहीको विश्वास जित्न सफल छ । अब काठमाडौं शाखाले पनि ग्राहक तथा सेवाग्राहीको माया पाउनेमा हामी विश्वस्त छौं,’ उनले भने ।
बिजी बी काठमाडौं शाखामा मात्रै ५० जनाले रोजगारी पाउने बताइएको छ । सोही ग्रुपले यस अगाडि पोखरामा बिजी बी रिसोर्टसमेत सञ्चालनमा ल्याइसकेका छन् । ग्रुप अन्तर्गत १ सय ५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाउन सफल भएको भट्टराईले जानकारी दिए । उनीहरुले प्याराग्लाइडिङमा पनि लगानी गरेका छन् ।
Comments are closed.