सेवा बिस्तारमा आक्रामक बन्दै बिवाइडी, ललितपुरमा खुल्यो नयाँ शोरुम

काठमाडौं । विद्युतीय सवारी बिवाइडीको बिक्रेता साइमेक्स इंकले सेवा विस्तारलाई तिब्रता दिएको छ । देशभर शोरुम विस्तार र चार्जिङ स्टेसन विस्तारमा बिवाइडी आक्रामक बनेको छ । यसैक्रममा विद्युतीय सवारी बिक्रीमा लिडिङ गरिरहेको बिवाइडीले ललितपुरमा नयाँ शोरुम विस्तार गरेको छ । नयाँ शोरुमसहित नेपालभर १२ शोरुम पुगेको छ । त्यस्तै ९ सर्भिस सेन्टर र १५ चार्जिङ प्वाइन्ट पुगेको छ ।

तलितपुर शोरुमको बुधबार एक कार्यक्रमबीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरे । उक्त अवसरमा बोल्दै उनले विद्युतीय सवारी वातावरणमैत्री रहेको बताउँदै सबैले प्राथमिकता दिनुपर्ने धारणा राखे ।

बिवाइडीको डल्फिन, एट्टो ३, इ ६ नेपाली बजारमा उपलब्ध छन् । फिचर अनुसार तुलनात्मक रुपमा मूल्य सस्तो रहेकाले पनि बिवाइडीको बिक्री बढिरहेको कम्पनीको दावी छ ।

बिवाइडीको ललितपुरका लागि आधिकारिक वितरक इको ड्राइभ अटोमोबाइल प्रालिले पलुचोकमा शोरुम उद्घाटन गरी गाडी बिक्री सुरु गरेको हो । उक्त शोरुममा नयाँ एक्सचेन्ज, फाइनान्सिङका साथै फास्ट चार्जिङ स्टेसनको सुविधा पनि उपलब्ध छ ।

विश्वको नम्बर १ न्यु इनर्जी भेइकल सेल्स च्याम्पियनको रुपमा बिवाइडीले अटोमोटिभ उद्योगमा क्रान्तिकारी परिवर्तन गर्न नेतृत्व गरिरहेको कम्पनीको दावी छ । ललितपुरको नयाँ शोरुमको उद्घाटनसँगै नेपालमा बिवाइडीको उपस्थिति थप बिस्तार भएको नेसनल सेल्स हेड प्रकाश तुलाधरले बताए ।

‘आगामी दिनमा छिट्टै ललितपुर क्षेत्रमा एक समर्पित ग्राहक सेवा केन्द्रको समेत स्थापना गरिने छ, जहाँ विद्युतीय सवारी साधन प्रयोग गर्न चाहने ग्राहकहरुका लागि आवश्यक जानकारी र सहयोग प्रदान गर्न तालिम प्राप्त कर्मचारीहरु रहने छन्,’ उनले भने ।

You might also like

Comments are closed.