काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) अन्तर्गतको ई–स्पोट्र्स तथा ड्रोन कमिसनले उपत्यकाका विभिन्न कलेजहरूमा ड्रोन रेसिङ्ग ट्रेनिङ्ग सुरु गरेको छ । आज थापाथली क्याम्पसबाट सुरु गरिएको उक्त कार्यक्रमको उद्देश्य युवाहरूलाई प्रविधिसँग जोड्दै सुरक्षित र प्रतिस्पर्धात्मक ड्रोन रेसिङ्गतर्फ प्रोत्साहित गर्नु हो ।
ट्रेनिङ्गमा ड्रोनको परिचय, प्रविधिक पक्ष, सुरक्षा र कानुनी पक्ष, रेसिङ्ग कार्यविधि र आगामी कार्यक्रमहरूको क्यालेण्डरबारे नासा नेपाल तथा ड्रोन हब नेपालका प्रतिनिधिहरुले जानकारी दिए । कार्यक्रममा नासा नेपाल ई–स्पोट्र्स तथा ड्रोन कमिसनका सचिव अंकित भण्डारी, ट्रेनिङ्ग तथा मार्शल कमिसनका सचिव आशिष रौनियार, ड्रोन हब नेपालका निर्देशक प्रवीण भट्टराई र शास्वत रिजाल लगायतले विद्यार्थीहरूसामु प्रस्तुति दिएका थिए ।
हालको समय युवावर्ग माझ लोकप्रिय बन्दै गएको ड्रोन प्रविधि हाम्रो समाजको अभिन्न अंग बन्दै गएको छ । नेपालमै पहिलोपटक ड्रोनलाई खेलको रूपमा मान्यता दिइएको छ र नासा नेपालले यसलाई आफ्नो कार्यक्षेत्रमा समेटी विधानमै समावेश गरेको छ ।
ड्रोनको व्यवसाय र व्यावसायिक हितको लागि विभिन्न संघसंस्था क्रियाशील भइरहेका अवस्थामा ड्रोन हब नेपाल, नासा नेपालकै कर्पोरेट पार्टनरका रूपमा क्रियाशिल पनि छ ।
निकट भविष्यमा हुने नेशनल ड्रोन रेसिङ्ग च्याम्पियनसिपको तयारीमा रहेको नासा नेपालको ई–स्पोट्र्स तथा ड्रोन कमिसनले, देशभरका विभिन्न कलेजहरूमा सिम रेसिङ्ग र ड्रोन प्रतिस्पर्धा प्रारम्भ गर्ने तयारीमा समेत रहेको छ ।
Comments are closed.