कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले माघ २४ देखि २८ औं संस्करणको क्यान इनफोटेक मेला आयोजना गर्दैछ । मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२३ को तयारी कसरी अगाडि बढिरहेको छ ? प्रदर्शनीका विशेषता के छन् ? नेपालका आइटीको वर्तमान अवस्था र क्यानको भूमिकाको विषयमा केन्द्रित रहेर क्यानका महासचिव चिरञ्जिवी अधिकारीसँग आर्थिक आवाजले गरेको कुराकानीः
क्यान इन्फोटेक गर्दै हुनुहुन्छ, तयारी कस्तो भइरहेको छ ?
क्यान इन्फोटेक हाम्रो नियमित कार्यक्रम हो । यसपटक हामीले क्यान इन्फोटेक अलि फरक तरिकाले गर्ने योजनामा छौं । हालसम्म ९० प्रतिशत स्टलहरु बुकिङ भइसकेका छन् । यसपटक हामीले अलिकति स्टार्टअप र नवीन अनुसन्धानका उत्पादन र स्कूल प्रोजेक्टलाई लक्षित गरेका छौं । अगाडिका इन्फोटेकमा हार्डवेयरमा मात्र जोड दिइयो भन्ने गुनासो आइरहेको थियो, सोही सुझावलाई आत्मसाथ गर्दै यो पटक आइटीको परामर्श कार्य (काउन्सिलिङ) देखि विद्यार्थी, कलेज, नवीन अनुसन्धानसँग जोडिएका फरक फरक प्रदर्शनी (प्याविलियन) को व्यवस्था गर्छौं । अपांगता भएका अवलोकनकर्ताका लागि एप्लिकेशन सोलुशन बनाएका छौं, जसको पनि छुट्टै प्रदर्शनी हुनेछ ।
इन्फोटेकमा प्रदर्शनीको साथसाथै हरेक दिन विभिन्न विषयमा छलफल चलाउन कन्फ्रेन्स गर्ने योजना बनाएका छौं । उदाहरणको लागि जस्तो अहिले च्याट जेपिटीले गर्दा मान्छेको सिर्जनशिलता हरायो भन्ने छ, त्यसको निराकरण कसरी गर्न सकिन्छ ? त्यसको सम्भाव्यताहरु के–के छन् ? भन्नेबारेमा हामीले कन्फ्रेन्समा छलफल गर्न सक्छौं । अर्को हामीले फाइभजी प्रविधि लगायत अन्य फरक–फरक ५÷६ वटा विधामा कन्फ्रेन्स गर्दैछौं । यसपालीका अवलोकनकर्ताहरुले केही न केही नयाँ कुराको जानकारी लिएर जाने वातावरण बनोस भन्ने कुरामा सचेत छौं ।
आइटी क्षेत्रमा संसारभरका नवीनतम प्रविधिहरु छन् । जसको प्रदर्शन कसरी हुन्छ ? नवीनतम प्रविधि सिक्न र बुझ्न क्यान इन्फोटेक कतिको प्रभावकारी हुन्छ ?
नवीनतम प्रविधि हार्डवेयर, सफ्टवेयर र सोलुशनसँग जोडिएका कुरा हो । सोलुशन र सर्भिससँगै आउँछ । हार्डवेयरमा धेरै खालको परिवर्तन देखिन्छ यसको अपडेटेड डिभाइसहरु हुने भएका कारणले त्यो डिभाइसमा भएका फिचर्स, त्यो फिचर्सबाट हामीले पाउने सुविधा र हाम्रो दैनिक जीवनमा त्यो फिचर्स कहाँ–कहाँ कुन–कुन ठाउँमा प्रयोग हुन्छन् त्यसका बारेमा हामीले हार्डवेयर प्रदर्शनी कक्षबाट सिक्न सक्छौं । त्यसैगरी हामीले सफ्टवेयर कक्षबाट नेपालमा बनेका उत्पादन कस्ता बनेका छन्, कुन–कुन सेक्टरमा बनेका छन्, जस्तो कृषि, पर्यटन, स्वास्थ्यदेखि विभिन्न क्षेत्रमा देखिने समस्याको समाधानमा यी सफ्टवेयर सहयोगी बन्छन् ।
ती सफ्टवेयरमा रहेका फिचर्सबाट लिइने सेवा त छँदै छ त्यसका अतिरिक्त यसले नेपाली उत्पादन, अनुसन्धान र क्षमताको अवस्था कहाँ छ ? भनेर बुझ्न सघाउने छ । हाम्रा अनुसन्धानमुलक उत्पादन अनुसन्धान पछि व्यावसायिक बन्न सकेका छैनन् । एक दुई वर्ष आउँछ अनि त्यत्तिकै हराएर जान्छ । पर्याप्त लगानी र अनुन्धानलाई दीगोपना दिने योजना नबन्दा यी व्यावसायिक बन्न सकेका छैनन् । व्यावसायिक प्रवर्द्धन कसरी गर्न सकिन्छ भन्ने कुराको समाधान खोज्नु पनि हाम्रो उद्देश्य हो ।
क्यान इन्फोटेकमा कुल कति स्टलहरु रहन्छन् ?
यसपटक इन्फोटेकमा कुल २ सय वटा स्टलहरु रहनेछन् । जसमा ९० प्रतिशत बुकिङ भइसकेका छन् ।
क्यानले काठमाडौंसँगै हरेक प्रदेशमा पनि क्यान इन्फोटेक गर्दै छ । केन्द्रले देशभरीका आइटी व्यवसायीलाई समेट्ने गरी कसरी अभिभावकको भूमिका निर्वाह गरिरहेको छ ?
क्यान आइटी व्यवसायीको छाता संगठन हो । आइटीसँग जोडिएका सफ्टवेयर, हार्डवेयरका सवालदेखि यससँग जोडिएका विद्यार्थी र व्यवसायीका व्यक्तिगत समस्या कसरी समाधान गर्न भन्ने कुरामा हामी जिम्मेवार छौं । आर्थिक समृद्धिका लागि नेपाललाई सफ्टवेयरबाट समृद्ध बनाउन नेपालमै उत्पादन हुनुपर्छ र नेपालीले नेपाली उत्पादन प्रयोग गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ । त्योसँगसँगै हामीले विद्यार्थीलाई आइटीमा प्रतिस्पर्धा गराएर नेपालमा पनि आइटीको संभावनामा जोड दिन जरुरी छ । जहाँ ठूलो व्यवसाय भइरहेको छ त्यहाँ सरकारको कर नीतिले गर्दा उनीहरुसँगको ग्यापलाई सहजीकरण गर्न नसक्दा त्यहाँ हामी जान सकेका छैनौं । क्यान आइटी व्यवसायीको छाता संगठन भएकोले अभिभावकत्व निभाउन विभिन्न अर्गनाइजेशनले कस्ता काम गर्दै आएकाछन्, तिनीहरुलाई क्यानकै छातामुनि ल्याएर उनीहरुको इनर्जी र हाम्रो अनुभवलाई एकै ठाउँमा लिएर कन्फ्रेस मार्फत छलफल गर्ने योजना बनाएका छौं ।
क्यान इन्फोटेकमा आउने अवलोकनकर्ताले प्रत्यक्ष रुपमा त्यहाँबाट लिन सक्ने लाभ के हो ?
लाभको कुरा त एउटा ज्ञानका कुरा भयो । पहिलो कुरा लाभ लिने अवलोकनकर्ता विद्यार्थी छ भने क्यारियर काउन्सिलको पार्ट हुनसक्छ । व्यवसायी छ भने उसको संभावनाको खोजीको कुरा हुनसक्छ । आइटीमा चासो राख्ने व्यक्ति छ भने उसले कन्फ्रेन्सबाट लिने ज्ञानहरु हुनसक्छ । चाहना र धैर्यता हुनुपर्यो सिक्ने ठाउँहरु थुप्रै छन् । अनुभवहरु छन्, नेपालको अहिलेकोको आइटीको अवस्था कस्तो छ । कसरी व्यवसाय अगाडि बढिरहेको छ । नेपालको सफ्टवेयर इन्डष्ट्रिजको अहिलेको अवस्था कस्तो छ ? अहिले टेटावेसको कुराहरु एकदमै खटकेको छ । न त्यो आइटी कलेजसँग टेटावेस छ, न त्यसको युनिर्भसिटी छ । जसरी इन्जिनियर काउन्सिल वा मेडिकल काउन्सिल बन्छ त्यसरी नै आइटी काउन्सिल क्याम्पको सदस्य अनिवार्य पासआउट भइसकेपछि बनाउने व्यवस्था गर्ने भन्ने जुन हाम्रो लक्ष्य छ ।
पछिल्लो समय संसार नै डिजिडलाइज प्रविधिमा अगाडि बढिरहेको छ । नेपालले पनि आइटीलाई हरेक सेक्टरमा प्राथमिकता दिएको छ । तर, त्योसँगसँगै साइबर सेक्युरेटीको जोखिम पनि बढ्दै गएकोे छ । यसलाई क्यानले कसरी हेरिरहेको छ ?
साइबर सेक्युरेटीको सवाल एकदमै ठूलो चूनौती बनेको छ । पहिलो कुरा त नीतिगत रुपमा हाम्रो साइबर सेक्युरिटी ऐन बनाउन सकेका छैनौं, त्यो नै ठूलो चूनौती भयो । दोस्रो कुरा, हामीले नेपालकै जनशक्तिलाई परिचालन गर्न सकिरहेका छैनौं । बाहिरबाट एक्स्पर्ट ल्याउँदा के–के न हुन्छ भन्ने महसुस गरेका छौं । हामीसँग भएको एक्स्पर्टिजलाई प्रयोग गरेका छैनौं । साइबर सेक्युरिटीमा पहिलो कुरा नीतिदेखि लिएर मापदण्ड नै छैन, आधार नै बनेको छैन । यसको लागि नीति, मापदण्ड, निर्देशिका चाहिन्छ, यसका लागि छुट्टै प्राधिकरण बनाएर संसदबाट पारित गराएर छट्टै स्वतन्त्र संयन्त्र बनाएर काम गर्नुपर्छ ।
Comments are closed.