काठमाडौं । नेपाली भाषामा डोमेन प्रयोग गरिएको पहिलो वेबसाइट ‘क्यान.संगठन’ सार्वजनिक गर्दै युनिभर्सल एक्सेप्टेन्स (यूए) ह्याकाथन नेपाल २०२५ सम्पन्न भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र अन्तर्राष्ट्रिय संस्था आइकेन (ICANN) को सहकार्यमा शनिबार काठमाडौंमा आयोजित ‘यूए ह्याकाथन नेपाल २०२५: पायोनियरिङ यूए रेडी प्लाटफर्म्स’ कार्यक्रमले इन्टरनेट पहुँचमा समावेशिता र नेपाली भाषाको प्रवर्द्धनमा ऐतिहासिक पाइला चालेको छ ।
सार्वजनिक गरिएको ‘क्यान.संगठन’ वेबसाइटलाई डोमेन नेम सिस्टममा नेपाली भाषाको औपचारिक उपस्थितिको सुरुवात मानिएको छ । यसले सरकारी र सार्वजनिक सेवामा नेपाली भाषाको प्रयोगलाई सहज बनाउने अपेक्षा गरिएको छ । युनिभर्सल एक्सेप्टेन्स (यूए) को अवधारणा अनुसार, कुनै पनि प्रणालीले स्थानीय भाषामा लेखिएको डोमेन र इमेल ठेगाना स्वीकार गर्नुपर्छ, जसलाई ‘यूए–रेडी’ भनिन्छ । यसले स्थानीय भाषा प्रयोगकर्तालाई इन्टरनेट सेवामा जोड्न मद्दत गर्छ ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सहसचिव राधिका अर्यालले नेपाली डोमेनको प्रयोगले भाषा, पहिचान र पहुँचको संरक्षण गर्ने बताइन् । उनले यो कदमले डिजिटल नेपाल निर्माणमा समेत योगदान दिने विश्वास व्यक्त गर्दै डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन, एआई नीति अन्तिम चरणमा पुगेको र साइबर सुरक्षा विधेयक संसदमा दर्ता हुने क्रममा रहेको जानकारी दिइन् ।
सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण शर्मा पौडेलले अंग्रेजीमा दक्ष नभएका करिब ७०% नेपाली इन्टरनेट पहुँचबाट टाढा रहेको उल्लेख गर्दै, नेपाली भाषामा डोमेन तथा इमेल ठेगाना उपलब्ध गराउँदा उनीहरूलाई डिजिटल सेवामा जोड्न मद्दत पुग्ने बताए ।
युनेस्को नेपालका प्रमुख जाको डु तोइतले युनिभर्सल एक्सेप्टेन्स युनेस्कोको बहुभाषिकता सम्बन्धी सिफारिससँग मेल खाने र यसलाई नेपालमा लागू गर्न संस्था तयार रहेको जनाए । क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले यसलाई नेपाली भाषाको कम्प्युटिङ यात्रामा अर्को महत्त्वपूर्ण कदमको रूपमा व्याख्या गर्दै अघिल्लो दशकमा गरिएका नेपाली भाषा स्ट्यान्डर्ड विकास र स्पेल चेकर निर्माण जस्ता कामको स्मरण गरिन् ।
नेपाल इन्टरनेट एक्सचेन्जका सीईओ रुपेश श्रेष्ठले स्थानीय भाषा र सर्भरमार्फत डोमेन सञ्चालन गर्दा स्क्याम नियन्त्रण र प्रमाणिकता बढ्ने उल्लेख गरे । उनले ‘डट एनपी’ (.np) डोमेनलाई नेपालीमै ल्याउने र रजिस्ट्री/रजिस्ट्रार मोडमा लैजानुपर्ने आवश्यकता औंल्याए ।
यूए ह्याकाथन नेपालका टिम लिड विवेक सिलवालका अनुसार, कार्यक्रममार्फत वेबसाइटको सामग्री मात्र होइन, वेबसाइटसम्म पुग्न प्रयोग हुने डोमेन र किवर्डहरू पनि नेपाली भाषामै सम्भव छन् भन्ने सन्देश दिनु थियो । उनले भने, ‘यस वेबसाइटको सुरुवात नेपाली डोमेन नेम उद्योगका लागि एक महत्वपूर्ण माइलस्टोन हो । अब हामीले सरकार, विशेषगरी डोमेन सम्बन्धी विभागको नेतृत्वमा बहुपक्षीय मोडलमार्फत ‘डट नेपाल’ (.नेपाल) डोमेनका लागि आवेदन दिनतर्फ अघि बढ्नुपर्छ ।’ ह्याकाथनले युवालाई नेपाली डोमेन र इमेल स्वीकार गर्न सक्षम प्रणाली निर्माण प्रक्रियाबारे जानकारी दिने प्लेटफर्म प्रदान गरेको उनले बताए ।
कार्यक्रम दुई सत्रमा सम्पन्न भएको थियो । पहिलो सत्रमा करिब १०० जना सरोकारवाला, नीति निर्माता र प्रविधिमा चासो राख्ने व्यक्तिहरूको सहभागिता थियो, जसलाई क्यान महासंघको वेबसाइट र जुममार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो र थप ५० जना अनलाइन सहभागी थिए । दोस्रो सत्रमा आयोजित यूए ह्याकाथनमा करिब ४० जना युवाहरूले नेपाली भाषामा इमेल ठेगाना निर्माण र प्रणालीले त्यसलाई कसरी स्वीकार गर्छ भन्नेबारे अभ्यास गरेका थिए ।
कार्यक्रमका संयोजक तथा क्यान महासंघका प्रबन्धक उद्दिप विष्टले आईसीएएनएन, युनेस्को र एपीनिक जस्ता अन्तर्राष्ट्रिय संस्थासँगको साझेदारीले कार्यक्रमको प्रभाव र पहुँचलाई अझ विशाल बनाएकोमा खुसी व्यक्त गरे ।
कार्यक्रममा सहभागीहरूलाई स्थानीय भाषामा डोमेन र इमेल बनाउने तरिका, प्लेटफर्महरूलाई कसरी यूए–रेडी बनाउने भन्ने विषयमा तालिम दिइएको थियो । यो पहलले भविष्यमा सरकारी तथा निजी संस्थाका वेबसाइटहरू पनि नेपाली भाषामै उपलब्ध गराउने सम्भावनालाई बलियो बनाएको क्यान महासंघले जनाएको छ ।
कार्यक्रम सूचना प्रविधि विभाग (नेपाल सरकार), युनेस्को, एपीनिक, नेपाल इन्टरनेट एक्सचेन्ज, वर्ल्डलिंक कम्युनिकेसन्स (इन्टरनेट पार्टनर), मार्भियन सिस्टम, हिकोल कलेज, र होरिजन इन्टरएक्टिभ बोर्डको सहकार्य र सहयोगमा सम्पन्न भएको थियो । आयोजक संस्थाले यस्ता बहुपक्षीय साझेदारीले कार्यक्रमको प्रभावकारिता र दीर्घकालीन सम्भावना दुवैमा महत्वपूर्ण योगदान पुर्याएको जनाएको छ ।
Comments are closed.