क्यान्सर उपचारमा आम नागरिकको सहज पहुँच हुनुपर्नेमा जोड

ललितपुर । नेपालमा क्यान्सरको उपचारका क्षेत्रमा धेरै प्रगति भएको वक्ताहरुले बताएका छन् । विश्व क्यान्सर दिवस २०२२ को अवसरमा नेपाल क्यान्सर सपोर्ट ग्रुप र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरद्वारा शुक्रबार आयोजित अन्तरक्रियामा बोल्दै क्यान्सर विशेषज्ञहरुले क्यान्सरको उपचार सरल र सहज बन्दै गइरहेको बताए ।

कार्यक्रममा बोल्दै सिनियर कन्सल्टेन्ट डा. गिसुप्निखा प्रसिकोले क्यान्सरको उपचारका लागि प्रविधिका क्षेत्रमा धेरै काम भएको बताए । आगामी दिनमा क्यान्सर उपचारका लागि अझै काम गर्नुपर्नेमा उनले जोड दिए । ‘दिनप्रतिदिन नयाँ–नयाँ प्रविधिको विकास भइरहेको छ,’ उनले भने, ‘क्यान्सर उपचारका लागि आम नागरिकको पहुँच पुग्नेगरी काम गर्न आवश्यक छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका क्वालिटी स्ट्याण्डर्ड तथा रेगुलेसन डिभिजन चिफ डा. मदनकुमार उपाध्यायले क्यान्सर दिवसको दिनमा मात्रै होइन, वर्ष भरी नै क्यान्सर रोग नियन्त्राण्का क्षेत्रमा काम गर्नुपर्ने बताए । क्यान्सर रोगलाई कम गर्नका लागि राजनीतिक प्रतिबद्धतासहित नीतिगत तहबाट काम गर्नुपर्नेमा उनले जोड दिए ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका संस्थापक अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठले पछिल्लो ५० वर्षमा संसारभर क्यान्सरको उपचारमा धेरै प्रगति भएको बताए । नेपालमा पनि क्यान्सर उपचार सहज र सरल बनेको उनको भनाइ छ । यद्यपि क्यान्सर उपचारका क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । औषधिको उत्पादन भएपनि सबै जिल्लामा पहुँच नभएको उनले बताए । ‘क्यान्सरको उपचारमा सरकारबाट केही काम भएको छ,’ उनले भने, ‘आगामी दिनमा क्यान्सर रोग नियन्त्रणका क्षेत्रमा राज्य र निजी क्षेत्र मिलेर अझै धेरै काम गर्र्न सकिन्छ ।’ नेपालमै क्यान्सर उपचार सम्भव भएपनि खर्च गर्न सक्नेहरु विदेशमा जाने गरेको उनले बताए । देशभर प्रदेशस्तरमा र जिल्ला स्तरमा पनि क्यान्सर उपचारका लागि अस्पतालहरु बनाउन सकिने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै नेपाल क्यान्सर सपोर्ट ग्रुपका दिलीप भट्टराईले नेपालमा क्यान्सरका बिरामी बढिरहेकाले नियन्त्रणमा सरोकारवाला सबैले चासो दिनुपर्ने बताए । सहज रुपमा उपचार पाउनुपर्ने नागरिकको अधिकारलाई कसैले पनि बञ्चित गर्न नहुनेमा उनले जोड दिए । कार्यक्रमको सहजी करण नेपाल क्यान्सर सपोर्ट ग्रुपका महासचिव गणेशभक्त श्रेष्ठले गरेका थिए ।

You might also like

Comments are closed.