ताइवानी ब्राण्ड ‘चा टाइम’को फ्रेन्चाइज नेपालमा

काठमाडौं । ताइवानी ब्राण्ड ‘चा टाइम’को बिक्री नेपालमा शुरु भएको छ । ३ जना युवा महिला उद्यमीहरुले यो ब्राण्डलाई नेपालमा भित्र्याएका हुन् । यशु श्रेष्ठ, विलाशा श्रेष्ठ र आकृति राणाले चा टाइमका लागि नेपालको फ्रेन्चाइज लिएका हुन् । ठमेलस्थित चाक्सीबारीमा चा टाइमको आउटलेट साउन ६ गते शुक्रबारबाट सञ्चालनमा आएको हो ।

संसारभर ६० भन्दा बढी देशमा चा टाइमको बिक्री वितरण भइरहेको छ । चा टाइमको ६२ वटा आइटम आउटलेटमा उपलब्ध रहेको सञ्चालक यशु श्रेष्ठले जानकारी दिइन् । ‘विदेशमा जाने धेरै नेपालीले चा टाइमको स्वाद लिनु भएको छ,’ उनले भनिन्, ‘नेपालमा पनि यसको माग उच्च हुने हामीले विश्वास लिएका छौं ।’

आइस लेबल र सुगरको लेबलसमेत ग्राहकले छनोट गर्न सक्ने उनले जानकारी दिइन् । ‘धेरै आइटमलाई गर्मीमा चिसो र जाडो मौषममा तातोसमेत बनाउन सकिन्छ,’ उनले भनिन्, ‘ग्राहकले आफ्नो आवश्यकता अनुसार अर्डर गर्न सक्नुहुन्छ ।’ मिल्की, फ्रुटी, ब्रुड टि एण्ड कफी, फ्रस्टी, मिक्सिङ लगायतका फ्लेबरमा चा टाइमको स्वाद लिन सकिन्छ ।

पहिलो चरणमा ठमेलमा आउटलेट खुलेको र एक वर्ष भित्रमा थप २ ठाउँमा सेवा विस्तार गर्ने तयारी रहेको अर्का सञ्चालक विलाशा श्रेष्ठले जानकारी दिइन् । २ वर्षपछि राजधानी बाहिर पनि आउटलेट विस्तार हुने उनको भनाइ छ । ताइवानकै प्रविधि भित्र्याएर नेपालमा चा टाइमको आउटलेट सुरु भएको हो । ‘विदेशको गुणस्तरलाई हामीले कायम गरेर चा टाइमको ब्राण्डलाई नेपाल भित्र्याउन सफल भएका छौं,’ उनले भनिन् ।

ताइवानी ट्रेनरहरु

‘यहाँ युवाहरुसँगै सबै उमेर समूहको आकर्षण देखिएको छ,’ उनले भनिन् । सेवा शुभारम्भको पहिलो चरणमा ताइवानी ट्रेनर नै आउटलेटमा खटिएका छन् । ताइवानी ट्रेनरले नेपालका कर्मचारीलाई ३ सातासम्म तालिम दिनेछन् । चा टाइमको मूल्य १ सय ९० रुपैयाँबाट सुरु भएर ४ सय ४० रुपैयाँ कायम गरिएको छ । ‘मूल्यका दृष्टिले पनि चा टाइम धेरै किफायती छ,’ विलाशाले भनिन् ।

चा टाइमको आउटलेटबाट डेलिभरी सेवासमेत सुरु गर्ने तयारी भइरहेको अर्का सञ्चालक आकृति राणाले जानकारी दिइन् । ‘चा टाइम निकै स्वादिलो छ । एक पटक यसको स्वाद लिएपछि धेरै जना ग्राहक आकर्षित हुनुहुन्छ भन्नेमा हामी विश्वस्त छौं,’ उनले भनिन्, ‘काठमाडौं आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा चा टाइम पर्नेछ ।’

You might also like

Comments are closed.