निशेधाज्ञा थप नगर्न पोखरा चेम्बरको आग्रह

पोखरा ।
कोरोना भाइरस (कोभिड १९)रोकथाम तथा नियन्त्रणको लगाइएको लकडाउन तथा निषेधाज्ञा लामो समयसम्म कायम रहे राष्ट्रिय अर्थतन्त्रमा गंभिर असर पर्ने भन्दै पोखरा चेम्बर अफ कमर्स कास्कीले निशेधाज्ञाको अवधीलाई थप नगर्न आग्रह गरेको छ ।

निशेधाज्ञा लामो समयसम्म कायम रहेको खण्डमा सानो आकारको अर्थतन्त्र भएको मुलुकले धान्न नसक्ने दावी गर्देै चेम्बरले स्थानीय प्रशासनले लगाएको निशेधाज्ञाको अवधीलाई थप नगर्न ध्यानाकर्षण गराएको हो । पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले मंगलबार प्रेस विज्ञप्ति जारी गरी कोरोना महामारी बिचमा पनि नेपाल सरकारले लागु गरेको स्वास्थ्य तथा सुरक्षा मापदण्ड एवं सावधानीलाई पालना गर्दै उत्पादन, व्यापार व्यवसायलाई नियमित गर्न पाउनु पर्ने बताए । अध्यक्ष सुनारले निशेधाज्ञाको विकल्पमा कोरोना रोकथामका अन्य सुरक्षा सावधानी अपनाई लकडाउनको स्वरुप परिर्वतन गरि, विश्वका अन्य मूलुकले अपनाएका विधीलाई अपनाई आर्थिक गतिविधीलाई नियमित गरी निजी क्षेत्रलाई चलायमान बनाउन आग्रह गरेका छन् ।

सबै उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय र विकास निर्माणका काम रोकिदा राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर परेको दावी गर्दै अध्यक्ष सुनारले लकडाउन र निषेधाज्ञाको स्वरुप परिवर्तन गरी विस्तारै जन जिवनलाई सामान्य बनाउन आग्रह गरेका छन । चेम्बरले सरुवा तथा संक्रामक रोगको बढी जोखिम भएको स्थानहरुको पहिचान गरी निषेधाज्ञालाई कढाई गर्दै कम जोखिम भएको स्थानहरुमा उत्पादन, व्यापार र व्यवसायलाई नियमित गर्न माग गरेको छ ।

नेपाल सरकारले विगतमा लामो समयसम्म लगाएको लकडाउनको कारण अर्थतन्त्रमा नकारात्मक असर परेको चर्चा गर्दै अध्यक्ष सुनारले कोरोना कहरको कारण मारमा परेको निजी क्षेत्रलाई सरकारले ल्याएको राहात तथा पुर्नस्थापनाकोषले केही हदसम्म निजी क्षेत्रलाई सम्वोधन गरेको चर्चा गर्दै, पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति सकारात्मक भएकोले कार्यान्वयनमा जोड दिन माग समेत गरेको छन् ।

उनले स्वास्थ्य तथा सुरक्षा मापदण्ड एवं सावधानीलाई पालना गर्दै नीजि क्षेत्रलाई पेशा व्यवसायको अधिकार सुनिश्चित गर्न आग्रह गरेका छन । कोरोना भाइरस संक्रमण बढ्दै गएकोले त्यसको रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय कास्कीले सुरुमा भदौ २ देखि ७ गतेसम्मको लागि निशेधाज्ञा जारी गरेको थियो । पोखरा महानगरपालिकाको सिफारिसमा प्रशासनले भदौ ७ देखि १२ गतेसम्म ५ दिनको लागि निशेधाज्ञाकोे म्याद थप गरेको छ ।

You might also like

Comments are closed.