विभिन्न अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण

पोखरा । गण्डकी प्रदेश चेम्बर अफ कमर्सले विभिन्न सरकारी अस्पतालहरुलाई मंगलबार अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।
कास्की पोखरा समाज जापानको व्यवस्थापनमा चेम्बरले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २५, संक्रामक तथा सरुवा रोग अस्पताल गण्डकी प्रदेशलाई १५, पोखरा महानगरपालिका वडा नम्बर २१लाई ५, म्याग्दीलाई ५ गरी ५० थान सिलिण्डर हस्तान्तरण गरेको हो । चेम्बरले २० र समाजले ३० थान सिलिण्डर व्यवस्थापन गरेको हो ।

गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले सरकारले प्रदेशका कोभिडका बिरामीको उपचारको लागि स्वास्थ्य सामाग्रीको व्यवस्थापनमा प्रयाप्त ध्यान दिएको बताए । प्राप्त सहयोगलाई व्यवस्थापकीय कौशलका साथ नागरिकको पक्षमा उपयोग गर्ने चर्चा गर्दै सचिव कँुवरले पछिल्लो समयमा अक्सिजन सिलिण्डरको व्यवस्थापन पक्ष राम्रो भएकोले होम आइसोलेशनका बिरामीलाई परामर्श लगायतका सेवा आवश्यक रहेको जानकारी दिए । उनले स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले नर्सिङ कलेजका १सय स्टाफ नर्स मार्फत होम आइसोलेसनका बिरामीलाई परामर्श दिने बताए ।

गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले प्रदेशका सबै जिल्लामा १सय४ अक्सिजन सिलिण्डर वितरण गरेको जानकारी दिए । उनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य क्षेत्रमा सहयोग गरेर नागरिकको जीवन रक्षामा चेम्बर लागेको बताए । उनले पहिलो चरणमा पोखरा महानगरको वडा नम्बर २७को वडा कार्यालय(साविक लेखनाथ नगरपालिकाको भवन)मा रहेको कोभिड अस्पताललाई ३० थान सिलिण्डर प्रदान गरेको जनाए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीले प्राप्त सहयोगको शत प्रतिशत सहयोग गर्ने प्रतिबद्धता जनाए । संक्रामक तथा सरुवा रोग गण्डकीका कार्यकारी निर्देशक डा विकास गौचनले सरकारको स्वास्थ्य क्षेत्रको ग्यापलाई सहयोगले फुलफिल गरेको बताए । चेम्बरको एक व्यवसायी एक अक्सिजन सिलिन्डर अभियान अन्तर्गत अध्यक्ष किसान सुनारले ४ सल्लाहकार माइकल कर्मचार्यले ५ महिला उद्यमी टिका गुरुङले ५ र अमृत न्यौपानेले १ थान सिलिण्डर प्रदान गरेका छन् ।

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष निरज थापाले कास्कीबाट वैदेशिक रोजगारीमा गएकाहरुबाट आएको सहयोग एकद्धार नीति अन्तर्गत सहयोग गरेको जानकारी दिए । कार्यक्रममा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव अमृत आचार्य, कास्की पोखरा जापानका महिला उपाध्यक्ष अन्जु भण्डारी, कास्की पोखरा समाज नेपालका प्रतिनिधि हरि पहारी, कास्की पोखरा समाजका सल्लाहकार प्रकाशलाल श्रेष्ठ, पोखरा चेम्बर अफ कमर्स कास्कीका सचिवालय सदस्य रवीबहादुर विक लगायतले सहयोगको बारेमा बोलेका थिए ।

You might also like

Comments are closed.