‘फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?’ कास्कीको अर्घौं अर्चलेका कविशिरोमणि लेखनाथ पौडेल आफ्नो जीवनकालमा बागलुङको अमलाचौर गए कि गएननन् कुन्नि ? तर, उनले जे लेखे, सही लेखे । अमलाचौरमा जन्मेका चन्द्रप्रसाद ढकालको जीवनसँग मेल खाने गरी लेखेर गए । चन्द्रप्रसाद ढकाल । परिचयको लागि फुर्को जोड्न जरुरी छैन । आइएमई ग्रुप उनको कल्पना, पसिना र मिहिनेतको उपज हो । उद्योगी÷व्यवसायीहरुको साझा र सर्वोच्च संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पद नि ? एसएलसीपछि हिँडेर पोखरा झरेका र बस चढेर काठमाडौं पुगेका ढकालको नेतृत्व क्षमताप्रति आम उद्योगी/व्यवसायीले जिताएको भरोशा हो ।
हो, ढकाल अहिले नेपालको निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदमा आसिन छन् । निजी क्षेत्रका सरोकार र आवाज उठाउँदै गर्दा उनको काँधमा देशको समग्र अर्थतन्त्रबारे चिन्ता गर्ने एवं सही दिशा निर्देश गर्ने दायित्व पनि छ । नरम तर आफ्नो कुरामा अडिग ढकालले अध्यक्षको रुपमा नेपाल उद्योग वाणिज्य महासंघका २ वर्ष बिताइसकेका छन् । अध्यक्षको रुपमा यी उद्यमीले २ वर्षमा के गरे त ? उनी एक्लै जस लिन अगाडि सरेनन् ।
मैले हैन, हामीले !
अर्थतन्त्रमा बाह्य प्रभाव, त्यसले निम्त्याएको आर्थिक सिथिलता तथा नेपाल सरकारको आवश्यकताभन्दा बढी सावधानीका कारण अर्थतन्त्रमा एकखालको नैराश्यता र अन्यौल थियो । नेपाल उद्योग वाणिज्य महासंघमा हाम्रो टिम आएपछि हामीले त्यही नैराश्यता र अन्यौल हटाउने कार्यलाई पहिलो प्राथमिकतामा राख्यौँ । महासंघ कार्यकारी निकाय नभए पनि सरकारको सहयात्री हो, थिंक ट्यांक पनि हो । निजी क्षेत्र राजश्वको स्रोत र रोजगार सिर्जनाकर्ता पनि हो । निजी क्षेत्र कुरा चपाएर बोल्दैन । नतिजामुखी काम गर्छ । सरकार र निजी क्षेत्रसँगै हिँड्दा नतिजा निस्कन्छ । प्रत्यक्ष वैदेशिक लगानी होस् या स्वदेशी लगानी अभिवृद्धि गरेर व्यावसायिक वातावरण बनाउन हामीले सरकारलाई वस्तुगत र यथार्थपरक सुझाव दियौँ । उच्चस्तरीय आर्थिक सुधार आयोग हामीले नै पहल गरेर गठन भएको हो । अहिले कानुनमा पनि धेरै सुधार भएको छ, केही अध्यादेशहरु आए र ती ऐन बन्ने प्रक्रियामा छन् । हामीले दिएका सुझाव अनुसार कानुनमा सुधार गरेर लगानीको वातावरण बनाउने प्रयास सरकारले गरेको पाएका छौं ।
तर, हामी नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आउँदाको बेला सरकार र निजी क्षेत्रबीच एक किसिमको अविश्वासको वातावरण थियो । निजी क्षेत्रलाई पनि अख्तियारले छानविन गर्नसक्ने र मुद्दा चलाउनसक्ने भन्ने विषयमा गर्न खोजिएको नीतिगत व्यवस्थाले त्यस्तो भएको थियो । यो विषयलाई हामीले गम्भीरतापूर्वक लियौँ । १७० भन्दा धेरै सांसदहरुलाई एकैठाउँमा राखेर हाम्रा असहमति बुझाउने कोसिस गरियो । हाम्रै पैरवीका कारण निजी क्षेत्रलाई अख्तियारको दायरामा नआउने भनेर संसदीय समितिबाट निर्णय भएको छ । निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा ल्याउने विवादित प्रावधान हटाएर मिति २०८१ माघ ६ गते प्रतिनिधि सभाले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक पारित गरेको छ । यो पनि निजी क्षेत्रको लागि ठूलो उपलब्धि नै हो भन्ने लाग्छ ।
हाम्रो प्रयास
महासंघका गतिविधिहरु मुख्यतया नीतिगत पैरवी, लगानी प्रवद्र्धन, अन्तर्राष्ट्रिय एवं राष्ट्रियस्तरमा सम्बन्ध विस्तार, सदस्यलाई दिइने सेवा एवं क्षमता अभिवृद्धि र महासंघको नीतिगत तथा कार्यगत सुधारमा केन्द्रित भएका छन् ।
सबैभन्दा महत्वपूर्ण निजी क्षेत्रले निर्वाध काम गर्न पाउने वातावरण सुनिश्चित गर्न लगानी प्रवद्र्धनका लागि कानुन सुधार र महासंघको संस्थागत अभिवृद्धिमा विधान संशोधनसम्मका विषयमा महासंघले सफलतापूर्वक काम सम्पन्न गरेको छ । लामो समयदेखि अल्झिएको डेडिकेडेट फिडर र ट्रंकलाइन सम्बन्धी विवाद समाधानका लागि महासंघको आग्रहमा आयोग गठन भयो । उक्त आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्ले निर्णय पनि गरेको छ । करिब एक दशकदेखि अल्झिएको यस विषयमा देखिएको जटिलता समाधान हुनेमा महासंघ विश्वस्त छ । विद्यमान आर्थिक शिथिलताबाट सुधार गरि अर्थतन्त्र चलायमान बनाउनुका साथै मध्य र दीर्घकालीन रुपमा नयाँ चरणको आर्थिक सुधारका लागि महासंघले निरन्तर पैरवी ग¥यो । महासंघले आयोगको खाका समेत तयार पारेर पेश गरेको थियो । सोही अनुरुप पूर्व अर्थ सचिव रामेश्वर खनालको अध्यक्षतामा आयोग गठन भएको छ भने महासंघ अध्यक्ष सहित निजी क्षेत्रको पनि प्रतिनिधित्व छ । यसले अन्तरिम प्रतिवेदन सरकारसमक्ष पेश गरिसकेको छ । आर्थिक सुधार तर्फको यात्रामा डोर्याउन सक्नुलाई महासंघको इतिहासमै उल्लेखनीय सफलताको रुपमा रहने छ ।
विधान संशोधन
महासंघको विधान संसोधन संस्थागत सुधार र सवलीकरणमा अर्को महत्वपूर्ण कोशेढुंगा हो । महासंघको २०८० चैत्र २८ र २९ गते सम्पन्न ५८ औं वार्षिक साधारणसभाले पदाधिकारीलाई विधान संसोधनको जिम्मेवारी दिएको थियो । त्यसपछि पूर्व अध्यक्षहरु, पदाधिकारी समिति, स्थायी समितिमा छलफल गरी २०८१ असार २४ गतेको कार्यकारिणी समिति बैठकले दफाबार छलफल गरि मस्यौदालाई सर्वसम्मत रुपमा पारित गरि सदस्यहरु समक्ष पठायो । २०८१ मंसिर २५ गते आयोजित विशेष साधारण सभाले सर्वसम्मत रुपमा विधानको सातांै संशोधन पारित ग¥यो । महासंघको विशेष साधारण सभाबाट पारित भएको विधानलाई नेपाल सरकारले स्वीकृति प्रदान गरेसँगै नेपाल उद्योग वाणिज्य महासंघको विधान २०४९ सातौं संशोधन लागू भइसकेको छ ।
प्रोटोकल बन्छ
राष्ट्रिय प्रोटोकलमा निजी क्षेत्रको स्थान तय हुन भने बाँकी छ । यसमा पनि प्रधानमन्त्री, गृहमन्त्रीज्यूसँग बारम्बार कुरा पनि गरेका छौं । निजी क्षेत्रले योगदानको कदर गर्दै यस क्षेत्रलाई मर्यादित बनाउन एउटा सम्मानित प्रोटोकल हुनुपर्छ भन्ने हाम्रो सुरुदेखिकै धारणा र माग हो । यो विषयमा प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म पटक–पटक कुरा पु¥याएका छौँ । उहाँहरु पनि सकारात्मक हुनुहुन्छ । राज्यको ढुकुटी भर्न योगदान गर्ने निजी क्षेत्रलाई कम्तिमा इज्जत त दिनुपर्छ भन्ने हाम्रो यो माग चाँडै नै पूरा हुनेछ भन्नेमा म विश्वस्त छु ।
लगानी आउँछ
उद्योग वाणिज्य महासंघको अध्यक्ष भइसकेपछि स्वदेशी र विदेशी दुवै लगानी भित्र्याउन एड्भोकेसीको काम धेरै गरेका छौं । तत्कालीन प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा बिजनस समिट गरियो भने दुबई, कतार गएर एडभोकेसी गरिसकेका छौं । त्यसैगरी हालका प्रधानमन्त्रीज्यूसँग पनि चीनमा समिट तथा व्यावसायिक वातावरणका लागि उच्चतम प्रयास गरियो । नेपालमा लगानीको वातावरण नै छैन, स्वदेशी लगानीले केही हुँदैन भन्ने भाष्य थियो यसलाई चिर्न नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, गैरआवासीय नेपाली संघलगायतका अन्य व्यवसायीहरुलाई पनि ल्याएर हामीले काम गरेका छौं । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी बनाएर नेपालकै पूँजीले ठूला ठूला आयोजना बनाउन सकिन्छ, नेपालमा साँच्चै संभावना छ र हल्ला फैलाइएको जस्तो नकारात्मक अवस्था नेपालको होइन भन्ने भाष्य स्थापित गर्न सफल भएका छौँ । १० अर्ब चुक्ता पूँजी भएको कम्पनीको २५ प्रतिशत इक्विटी मान्ने हो भने ४० अर्ब बराबरको ठूला पूर्वाधार निर्माण गर्न सकिने अवस्था बनेको छ । बाइल्याटरल इन्भेष्टमेन्ट एग्रीमेन्ट (बीआईए) का सम्बन्धमा निजी क्षेत्रकै पहलमा धेरै काम भएका छन् ।
स्वदेशी एवं विदेशी लगानी आकर्षित गर्नेतर्पm महासंघको अर्को ध्यान केन्द्रित रह्यो । अघिल्लो वर्ष भारत, चीन र दुवइमा आर्थिक सम्मेलन आयोजना गरेको महासंघले यस वर्ष सम्माननीय प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा नेपाल चीन बिजनेस समिट आयोजना ग¥यो । हालै प्रधानमन्त्री केपी ओलीको थाइल्याण्डको औपचारिक भ्रमण तथा बिम्सटेक सहित भारत, अमेरिका एवं अन्य मुलुकका विविध सम्मेलनमा सहभागिता जनाई नेपालमा लगानी आकर्षित गर्न महासंघले भरमग्दुर प्रयास ग¥यो ।
लगानी सम्मेलन २०८१ का क्रममा लगानी प्रवद्र्धन सम्बन्धी विभिन्न आठ वटा कानुन सुधारमा महासंघले प्रभावकारी भूमिका निर्वाह गरेको छ । महासंघकै आग्रहमा द्विपक्षीय लगानी सम्मेलनको खाका सरकारले तयार पारेको छ । हालै करिब ३० वटा भन्दा बढी कानुन महासंघको सक्रियतामा संशोधन गरिएको छ । देशभित्र छरिएको सानो पूँजीलाई परियोजनाहरुमा लगानी गर्न नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड नामक कम्पनी स्थापना भएको छ । जसमा महासंघ सदस्य एवं गैर सदस्यहरुको पनि लगानी छ ।
साना र मझौला उद्योगमा ध्यान
महासंघमा साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना भएको छ । महासंघ र ट्रेड युनियन सम्मिलित फोरम स्थापना गर्ने सहमति भएको छ । एफएनसीसीआई इनोभेशन डायलगको आयोजना गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतमा विकासका लागि वित्त सम्वाद कार्यक्रम आयोजना भएको छ । सन् २०३० सम्म नेपालमा १० हजार स्टार्टअप प्रवद्र्धन गरी एक लाख रोजगारी सिर्जना गर्ने र देशलाई आत्मनिर्भर बनाउने, आयात प्रतिस्थापन गर्ने तथा देशको अर्थतन्त्रमा सघाउ पु¥याउने प्रमुख उद्देश्यका साथ स्टार्टअप नेसन २०३० सम्मेलनको आयोजना भएको छ । उद्यम तथा व्यवसाय प्रवद्र्धन सहित महासंघका सदस्यहरुको सेवा प्रवाह सुधारका लागि सचिवालय सुदृढीकरणसंगै क्षमता विकासका विविध काम भएका छन । महासंघको अनुसन्धान एवं विकास कार्यलाई प्रभावकारी बनाउन बिजनेस इन्टिलिजेन्स सिस्टम जडान गरिएको छ । उक्त प्रणाली प्रयोग गरि देशैभरका करिब २५० संघ÷संस्थाहरुमा सर्वेक्षण गरिएको छ ।
पर्यटन र प्रविधिबाट समृद्धि
अहिले पर्यटनको एकदमै ठूलो सम्भावना छ । आन्तरिक र बाह्य पर्यटन दुवै राम्रो फस्टाएको छ । पर्यटनका लागि पूर्वाधार निर्माण गर्न आवश्यक छ । त्यसपछि ऊर्जा क्षेत्रमा उत्तिकै सम्भावना छ । बढ्दो आन्तरिक बजार तथा भारत र बंगलादेशमा निर्यातको ढोका खोलेका कारण ऊर्जा क्षेत्रमा पनि हामीले धेरै काम गर्न सक्छौं । तेस्रोमा भने आन्तरिक बजारबाट कच्चा पदार्थ लिन सकिने उत्पादनमूलक उद्योगमा पनि उत्तिकै सम्भावना मैले देखेको छु । यसबाहेक सूचना प्रविधिको क्षेत्रमा पनि उत्तिकै सम्भावना देख्छु । अहिले धेरै युवाहरु यसतर्फ लागेको देखिन्छ । यसलाई क्यापिटलाइज्ड गर्न सकिएमा धेरै लाभ लिन सकिने सम्भावना भएको क्षेत्र हो ।
आईएमई अर्थात् ढकालका कुरा
हाम्रो आईएमई ग्रुपले चारवटा सिद्धान्तमा रहेर काम गरिरहेको छ । पहिलो हो, हामीले गरेको काम आमजनताको लागि आवश्यक र उनीहरुले खोजेको सेवा हुनुप¥यो । दोस्रोमा सरकारले प्राथमिकता दिएको क्षेत्र र तेस्रो आन्तरिक स्रोत साधन प्रयोग गरेर अगाडि बढ्न सक्ने परियोजनामा हामी काम गर्छौं । चौथो भने जुन परियोजना आफैंमा व्यावसायिक पनि हुनुप¥यो भन्नेमा हामी केन्द्रित छौँ । देशमा औपचारिक माध्यमबाट पहिला रेमिट्यान्स भित्रिरहेको थिएन जुन हामीे नै सुरु गरेका हौँ । अहिले रेमिट्यान्स भन्नासाथ आईएमईसँगै जोडिएर आउँछ । रेमिट्यान्स र आईएमई पर्यायवाची शब्द नै भएका छन् । त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरु मर्जर र एक्विजिसनमा जान सरकारले पनि प्राथमिकता दियो र हामीले पनि त्यसमा साथ दिँदै गयौँ । २१ वटा वाणिज्य बैंकमध्ये ग्लोबल आइएमई बैंक दरिलो बैंकको रुपमा स्थापित गर्न सफल भएका छौं । नेपालजस्तो मुलुकमा पर्यटन क्षेत्रमा धेरै सम्भावना छ भनेर नै चन्द्रागिरी केवलकार सञ्चालन गरियो । तुरुन्तै लाभ भन्दा पनि सातै प्रदेशमा केही न केही परियोजना विस्तार गर्नुपर्छ भनेर अगाडि बढेका हौँ । हामीले हाइड्रो पनि त्यसरी नै अघि बढाएका छौँ ।
उत्पादनमा जोड
हामी उत्पादनमूलक क्षेत्रमा प्रवेश गरेका हौं । खेर गइरहेको कागजलाई कच्चा पदार्थका रुपमा प्रयोग गरेर आयात हुँदै आएको कागज उत्पादन गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याएका छौँ । कागज कारखानाले आयात प्रतिस्थापन गर्ने लक्ष्य लिएको छ ।
यो कारखानामा दिनमा ७५ टनको उत्पादन क्षमता छ । अहिलेका लागि आन्तरिक कच्चा पदार्थबाट नै काम गर्न सकिन्छ । यसबाट भविष्यमा निर्यात पनि गर्ने गरी गुणस्तरमा काम गर्ने गरी गरेका छाँै । अहिले बजारमा धेरै माग रहेको ए फोर साइजको फोटोकपी पेपरलगायतका कागज उत्पादन गरिरहेका छौं भने पाठ्यपुस्तक, कपी लगायतका क्षेत्रमा हामीले आन्तरिक माग धान्ने प्रयासमा छौं ।
सिमेण्ट अर्थात् पूर्वाधार
यो पनि नेपालको कच्चा पदार्थ प्रयोग गरेर अहिले आयात भइरहेको वस्तुलाई प्रतिस्थापन गर्ने गरी काम गरेका छौँ । अब छिट्टै यो उद्योगबाट उत्पादन सुरु हुन्छ । दिनमा ७५ हजार वर्गफिट क्षमतामा उत्पादन गर्न सक्ने गरी अहिले प्लान्ट लगाइएको छ । भविष्यमा यसको माग अनुसार क्षमता बढाउन सकिन्छ । यसमा बालुवा, सिमेन्ट र कागजको प्रयोग गरिन्छ । तुरुन्त बनाउनुपर्ने खालका संरचनामा यो फल्स सिमेन्ट प्रयोग गर्न सकिन्छ । जसले लागत घटाउन र काम छिटो गर्न सघाउ पुग्छ । नेपालजस्तो प्राकृतिक प्रकोप बढी हुने मुलुकमा उद्धारपछि मानवीय पुनस्र्थापनाका लागि चाँडो भौतिक संरचना बनाउन यसको उपयोग बढी हुनेछ भने घरायसी संरचनामा पनि यो कामयावी हुने भएकाले बजारको राम्रो सम्भावना देखेरै उद्योग खोलेका हौं ।
धरातल भुलेको छैन
म शून्य व्यवसायबाट आएको र केही समय वैदेशिक रोजगारीमा समेत काम गरेको मान्छे हो । मलाई के लाग्छ भने सकेसम्म नेपालमै रोजगारी दिनुपर्छ र त्यो गर्मीमा गएर काम गर्ने अवस्थालाई सकेसम्म कम गर्नुपर्छ भन्ने नै हो । व्यापारमा तुरुन्तै नाफा कमाउन सकिन्छ । पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा भने लामो समयपछि मात्रै लाभ आउने हो । म व्यक्तिगत फाइदाभन्दा पनि देशप्रति मेरो आफ्नो जिम्मेवारीबोध गरेर नै उत्पादनमूलक क्षेत्रतर्फ लागेको हो । हामीले काम गर्दा पनि देशकै हित र बढीभन्दा बढी रोजगारी सिर्जना गर्न सक्ने तरिकाबाट काम गरेका छौँ । देशको कच्चा पदार्थको सदुपयोग, आन्तरिक रोजगारी सिर्जना तथा आयात प्रतिस्थापन लगायतका कारणले हामी उत्पादनमूलक क्षेत्रमा लागेका हौं ।
पाथिभरा र जनमन
कुनै पनि काम गर्नुअघि केही अवरोध आउनुलाई सामान्य रुपमा लिनुपर्छ । हामीले पाथीभरामा मात्रै केबलकार अपरेट गर्न लागेको होइन । यसअघि चन्द्रागिरी, गैँडाकोट र बुटवलमा केबलकार सञ्चालन भइसकेका छन् । यसैले केबलकारको आर्थिक सामाजिक लाभ लगानीकर्तालाई मात्र नभै स्थानीयलाई कसरी प्राप्त हुन्छ भनेर हामीले बुझेका छौं । अहिले केबलकार निर्माणमा बिमति राख्नेहरु पनि भोलिका दिनमा यसको लाभबाट पक्कै बञ्चित हुनुहुन्न र त्यसबेला उहाँहरुले हामीलाई धन्यवाद नै दिनुहुनेछ ।
पाथीभरा क्षेत्रमा पनि सुरुमा केही अवरोध गर्न खोजिएको थियो तर अहिले ९९ प्रतिशत जनताले केबलकार बनाउनुपर्छ भनिरहनुभएको अवस्था छ । बरु छिटो बनाउन हामीलाई दबाब नै आएको छ । राजनीतिक पार्टी, उद्योगी व्यवसायी, स्थानीय सरकार सबैले केवलकार बनाउनुपर्छ भन्नुभएको छ । त्यहाँ केवलकार बन्दा ४५/५० डिग्रीमा काम गर्न जाने युवा दाजुभाइलाई केही हदसम्म भए पनि स्थानीय स्तरमै रोजगारी प्राप्त हुन्छ । त्यहाँ रेष्टुरेन्ट चल्छ, कृषि, व्यापार, होटललगायत त्यहाँका घरेलु उत्पादनहरु बिक्छन् । यसअघि केबलकार निर्माण गरिएका क्षेत्रहरु तुलनात्मक रुपमा सुगम थिए र पनि त्यहाँका जनताले पाइरहेको लाभले स्थानीय खुसी छन् भने ताप्लेजुङ त आफैंमा दुर्गम पनि भएकाले त्यहाँका जनतालाई केबलकारले एकदमै छिटो नतिजा दिन्छ । यतिमात्रै होइन यो केवलकार निर्माणले कोशी करिडोर नै सबल बनाउँछ । केबलकार नबन्दा अहिले मानिसको तौलको आधारमा प्रतिकिलो २ सय रुपैयाँका दरले पैसा बुझाएर बोकाउँदै जानुपर्ने अवस्था छ । केबलकार बनेपछि धार्मिक आस्था राख्ने भारत तथा अन्य देशका नागरिकहरु आउनेछन् । अहिले पूर्वाधार नहुँदा आउन नसक्नेहरुलाई त केवलकारले निकै सजिलो गर्छ ।
केही देशबाहिर बस्ने व्यक्तिहरुले नकारात्मक कुरा गरेको, जिल्लाभन्दा बाहिरका व्यक्तिहरुले अफवाह फैलाउँदा नकारात्मकता बिक्ने समाजमा यसको विरोधको चर्चा बढी भएपनि स्थानीय वास्तविकता त्यस्तो छैन । जिल्लाबासीले नै जतिसक्यो छिटो निर्माण गर्न भन्नुभएको छ । सबै भाषा धर्म संस्कृतिलाई केबलकारले जोड्छ । राजनीतिक दलमा बस्नेले विकास निर्माण, रोजगारी सिर्जना गर्ने कामलाई रोक्ने, राजस्व बढाउने क्षेत्रलाई रोक्ने, आम जनताले पाउने सुविधामा रोक्ने हो भने यसले दीर्घरुपमा नै नराम्रो सन्देश दिनेछ । केही समय प्रभावमा पार्न सकिएला तर वास्तविकता त सबैले बुझ्छन् ।
कुराकानीमा आधारित :
Comments are closed.