पोखरा । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४औं साधारणसभा तथा निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाललाई गण्डकी प्रदेशबाट उत्साहजनक समर्थन मिलेको छ । प्रदेशका प्राय सबै उद्योग वाणिज्य संघहरुले ढकाललाई सहयोग गर्ने भएका छन् ।
गण्डकी प्रदेशमा रहेका २० वटा उद्योग वाणिज्य संघमध्ये १५ वटा महासंघमा आबद्ध छन् । १५ वटा संघमध्ये १४ वटा संघका अध्यक्ष ढकाल प्यानलको पक्षमा खुलेर उभिएका छन् । महासंघ गण्डकी प्रदेशले गत फागुनको १४औं बैठकबाटै चन्द्र ढकाल समूहलाई सहयोग गर्ने सर्वसम्मत निर्णय गरिसकेको छ ।
यसैबीच, चुनावी अभियानमा रहेका ढकालसहित उनको प्यानलबाट जिल्ला नगरका उपाध्यक्षका उम्मेदवार गुणनिधि तिवारीलाई आइतबार पोखरामा महासंघ गण्डकी प्रदेशले स्वागत तथा छलफल गरेको छ । उक्त अवसरमा बोल्दै महासंघका उपाध्यक्ष एवं वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले आफ्नो व्यवसायको सञ्जाल ७७ वटै जिल्लामा रहेकाले आफूले देशभरका उद्योगी व्यवसायीको पिर, मर्का र समस्या नजिकबाट बुझेको धारणा राखे ।
‘आफ्नो व्यवसायको बजारीकरणका लागि नेपालभर घुम्ने क्रममा धरातलमा रहेका व्यवसायीहरुको चुनौति र अवसरलाई राम्रोसँग बुझेको छु,’ उनले भने, ‘सबै समस्यालाई समाधान गर्न सक्ने क्षमता म र मेरो समूहसँग छ ।’
सानो व्यापारीबाट आफ्नो पेशा सुरु गरेर अहिलेको आइएमई ग्रुपमा पुगेको स्मरण गर्दै उनले निजी क्षेत्रको असल सारथी बनेर अगाडि बढ्न चाहेको धारणा राखे । देशमा नीति, नियम बनाउँदा बिगतमा नेपाल उद्योग वाणिज्य महासंघको पहुँच नपुगेकाले अब त्योे पहुँच पुग्नेगरी नेतृत्व बनाउनुपर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै जिल्ला नगर तर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधि तिवारीले जिल्ला नगरमा १५ वर्षसम्म काम गरेको हुनाले जिल्ला नगरको समस्या बुझेको बताए ।
कार्यक्रममा ३५ वटा उद्योग वाणिज्य संघका अध्यक्षहरुको उपस्थिति थियो । उनीहरु सबैले चन्द्र ढकाल र उनको प्यानललाई सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । कार्यक्रममा महासंघका खुल्लातर्फका कार्यसमितिका सदस्यहरु र प्रदेश खुल्लातर्फका कार्यसमितिका उम्मेदवारहरुको उपस्थिति थियो । महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिवबहादुर कोइरालाले उक्त अवसरमा २ लाख रुपैयाँको अक्षयकोषसमेत घोषणा गरे ।
Comments are closed.