काठमाडौं । भदौ २३ गते सोमबार यता जेन-जी प्रदर्शनका क्रममा भएका दुःखद घटनामा परि जीवन गुमाएका सम्पूर्ण व्यक्तिहरूप्रति चन्द्रागिरि हिल्स लिमिटेडले गहिरो दुःख प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । कम्पनीले शनिबार एक विज्ञप्ति जारी गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै, शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
‘जेन–जी आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी, स्वरोजगारी, राजस्वको सदुपयोग तथा समग्र आर्थिक समृद्धिका मुद्दाप्रति हाम्रो सम्मान र साझा उद्देश्य छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘तथापि, सोही उद्देश्यका लागि भएको आन्दोलनका क्रममा भएका अकल्पनीय तथा अवाञ्छनीय गतिविधिका कारण सार्वजनिक कम्पनी (पब्लिक लिमिटेड) को रूपमा सञ्चालनमा रहेको यस चन्द्रागिरि केबलकारमा समेत ठूलो क्षति भएको छ ।’
विज्ञप्तिमा थप भनिएको छ, ‘हामी सबैलाई थाहा छ, चन्द्रागिरि केबलकार कुनै एकल लगानी भएको संस्था होइन। यो पब्लिक लिमिटेड कम्पनीका रूपमा लाखौँ शेयरधनीहरूको साझा लगानी भएको राष्ट्रिय सम्पत्ति तथा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य निर्माण गर्ने पवित्र सपनाको जगमा स्थापित भएको संस्था हो। नेपालको पर्यटन प्रवद्र्धन, राजस्व वृद्धि, रोजगारी सिर्जना र स्थानीय विकासमा यसले महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।’
प्रदर्शनकै क्रममा गत मंगलबार अन्य ठाउँहरुमा जस्तै चन्द्रागिरि हिल्समा समेत निशाना बनाई तोडफोड तथा आगजनी गरिँदा केवलकारको बटम स्टेशनमा ठुलो क्षति पुगेको बताइएको छ ।
‘यद्यपि, हाम्रो अठोट कमजोर भएको छैन । गुणस्तरीय सेवाको माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धनमा हामी कति पनि विचलित भएका छैनौँ । यहाँहरूले देखाउनु भएको सद्भाव, साथ र सहयोगले पर्यटन विकासमार्फत देशको मुहार फेर्ने हाम्रो सपना र अठोट अझै मजबुत बनेको महसुस गरेका छौँ । हामी पुनः उठ्ने छौँ र छिट्टै नै सेवा सुचारु गर्न सक्षम हुनेछौँ । हामीसँग जोडिनुभएका कर्मचारी साथीहरू र उहाँहरूको परिवारको सपना तथा आम ग्राहकवर्गको अपेक्षा अटुट राख्न थप सक्रिय हुनेछौँ । आगामी दिनमा व्यावसायिक वातावरण थप सहज बन्नेछ भन्ने अपेक्षा सहित अझ गुणस्तरीय सेवामा समर्पित रहँदै थप लगानी र रोजगारी सिर्जनामा प्रतिबद्ध रहेको यहाँहरूलाई विश्वास दिलाउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
यस कठिन समयमा क्षति कम गराउन र आगजनी नियन्त्रणमा लिन खटिएका सुरक्षाकर्मी, स्थानीय समुदाय तथा कर्मचारीहरूले देखाएको सक्रिय सहयोग र तदारुकताप्रति कम्पनीले हार्दिक आभार प्रकट गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यस परिस्थितिबाट पर्यटक तथा दर्शनार्थीहरूलाई परेको असुविधाप्रति हामी क्षमा प्रार्थी छौँ। साथै स्थानीय, समुदायको सहयोग र सुरक्षात्मक समन्वयका लागि सम्बन्धित निकायसँग विशेष आग्रह पनि गर्दछौँ ।’
Comments are closed.