काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार गर्न शारदा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सहकार्य भएको छ । इभी गाडीका लागि आवश्यक डिसी फास्ट चार्जिङ स्टेसनको बृहत् सञ्जाल विकास गर्न सहकार्य गर्ने गरी दुई पक्षबीच औपचारिक समझदारी भएका पत्रमा हस्ताक्षर भएको छ ।
नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार विस्तार गर्ने एउटा महत्वपूर्ण कदमको रूपमा, यो साझेदारीले इभि प्रयोगकर्ताहरूका लागि सुविधाजनक चार्जिङ स्टेसन उपलब्ध गराउने र राष्ट्रव्यापी रूपमा वातानुकुलित र दिगो (सस्टेनेबल) यातायात प्रविधिलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । साझेदारीले १ वर्ष भित्रमा देशभरका सय स्थानमा फास्ट–चार्जर स्थापना गर्ने योजना राखेको छ ।
हाल देशभर १६ भन्दा बढी फास्ट–चार्जिङ नेटवर्क सञ्चालनमा छन् । उपभोक्तामाझ विद्युतीय सवारीसाधनको बढ्दो लोकप्रियता र प्रयोगसँगै, पहुँचयोग्य र भरपर्दो चार्जिङ पूर्वाधारको आवश्यकता बढेको छ । हाल पोखरा–३ स्थान, काठमाडौं–३ स्थान, नारायणघाट–३ स्थान, नेपालगन्ज, बुटवल, विराटनगर–२ स्थान, वीरगन्ज, बिर्तामोड, बर्दिवास लगायतका स्थानमा विद्यमान चार्जिङ पूर्वाधार छन् ।
शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीचको यो संयुक्त पहलले देशका मुख्य राजमार्ग तथा स्थानहरूमा चार्जिङ स्टेसन स्थापना गर्नमा ध्यान केन्द्रित गर्नेछ जसले अन्ततः इभि प्रयोगकर्ताहरूलाई निर्धक्क रूपमा देशभर यात्रा गर्न सजिलो बनाउनेछ । सम्झौतासँगै ग्राहकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले एक वर्षभित्र देशभर सय वटा डिसी फास्ट चार्जर स्थापना गर्ने साझेदारी भएको हो ।
शारदा ग्रुप निसान, ओमोडा र जाइको र जिकर गाडीको आधिकारिक वितरक हो भने गोल्छा अर्गनाइजेसन नेपालका लागि लिपमोटर, सिट्रोन, प्युजियो र काइको आधिकारिक वितरक हो । साझेदारीले शारदा समूह र गोल्छा अर्गनाइजेसनसँग सम्बद्ध सबै ब्रान्डका ग्राहकलाई पहुँच प्रदान गर्नेछ । डिसी फास्ट चार्जरको लाभ राष्ट्रव्यापी रूपमा सबै ग्राहकले लिने सक्ने जनाइएको छ ।
यो सम्झौतासँगै शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले बढ्दो विद्युतीय सवारीको बजारलाई अझ प्रोत्साहित गर्ने प्रतिबद्धता प्रमाणित गरेका छन् ।
Comments are closed.