बीमा गर्नुपूर्व योजनाको बारेमा ज्ञान हुनुपर्छ

छबिलाल पौडेल, सचिव, निप्स पोखरा च्याप्टर

निप्स पोखरा च्याप्टरका सचिव छबिलाल पौडेल सिटिजन लाइफ इन्स्योरेन्सको गण्डकी प्रदेश प्रमुख भएरसमेत काम गरिरहेका छन् । जीवन बीमाका क्षेत्रमा सक्रिय पौडेलसँग बीमाका सन्दर्भमा केन्द्रित रहेर आर्थिक आवाजले गरको संक्षिप्त कुराकानीः

तपाईंको विचारमा मानिसहरुले बीमा किन गर्ने ?

बचत तथा सुरक्षाका लागि बीमाको आवश्यकता छ । जोखिम बहनसँगै भविष्यको योजनाका लागि पनि बीमा गर्न सकिन्छ । सरकारले करयोग्य आयमा वार्षिक ४० हजारसम्म छुट दिएकाले बीमाबाट यो लाभ लिन पनि सकिन्छ । पहिला संयुक्त परिवार हुन्थ्यो । अहिले एकल परिवारको बढ्दो छ । संयुक्त परिवारमा एउटालाई क्षति हुँदा अरुले हेरविचार गर्दथे । अहिले एकल परिवारमा एक जनाले कमाउँछ, उसलाई केही हुँदा आर्थिक अवस्थामा क्षति पुग्छ र आश्रित परिवारलाई आर्थिक क्षति हुन्छ । यो समस्याबाट जोगिन पनि बीमाको आवश्यकता छ । बीमाले आत्मविश्वास पनि बढाउँछ । बिमा गरेको ३ वर्ष पुरा भएपछि ऋण लिने सुविधा हुन्छ । बालबच्चाको उच्च शिक्षा तथा पछिका दिनमा पुरा गर्नुपर्ने विवाह लगायतको दायित्वको लागि पनि बीमा गर्न सकिन्छ । बीमा धनी हुनका लागि भन्दा पनि भविष्यमा आउनसक्ने भवितव्यबाट गरिब हुनबाट बचाउने सबैभन्दा सस्तो साधन हो ।

jutta mela

बीमा कम्पनीहरुप्रति बीमितहरुको विश्वास कस्तो छ ?

धेरै मानिसहरुको सोच बीमा कम्पनीहरु भाग्छन् कि, बचत पैसा खान्छन् कि भन्ने डर पनि नभएको होइन । तर आजको दिनमा जीवन बीमा कम्पनीको पुँजी ५ अर्बको छ । निर्जीवनको २ अर्ब ५० करोड पुँजी हुनुपर्छ । यो ठूलो पुँजी हो । बीमा प्राधिकरणको लगानी निर्देशिका अनुसार कम्पनीहरुले सुरक्षित ठाउँमा लगानी गरेका हुन्छन् । हिरेक कम्पनीहरुले रि इन्स्योरेन्स गरेको हुन्छ । ठूलो संख्यामा बीमित भएकाले अरुले तिरेको प्रिमियमबाट क्षतिपूर्तिमा सहज पनि हुन्छ । नियामक निकायको प्रत्यक्ष निगरानी हुन्छ । यस कारण बीमा कम्पनीहरु सुरक्षित छन् र आफूले बीमा गरेबापतको प्रिमियम सुरक्षित छ भन्ने आम मानिसहरुले बुझ्न जरुरी छ ।

जीवन बीमा कस्तो व्यक्तिले गर्न सक्छन् ?

बीमा सुविधाबाट सकेसम्म धेरै मानिसहरुले लाभ लिनुपर्छ भन्ने सरकारको समेत प्राथमिकता छ । यसकारण प्राय सबै मानिसहरुले बीमा सुविधा लिन सक्छन् । सामान्यतय शारिरीक, मानसिक र आर्थिक रुपमा सक्षम व्यक्तिले बीमा गर्न सक्छन् । जन्मदेखि ६५ वर्ष उमेरसम्मका मानिसहरु यो सेवाबाट लाभ लिन सक्छन् ।

बीमितले बीमा पोलिसी खरिद गर्नुपूर्व लिनुपर्ने जानकारीहरु केके छन् ?

धेरैले पोलिसी खरिद गर्छन् । नबुझी कन गर्दा पछि सरेन्डर गर्ने क्रम बढ्दो छ । बीमा गर्नुपूर्व योजनाको बारेमा ज्ञान हुनुपर्छ । तिर्नुपर्ने शुल्क तथा अतिरिक्त सुविधाहरुका बारेमा ज्ञान हुनु जरुरी छ । जस्तैः दुर्घटना बीमा, स्थायीपूर्ण अशक्तता लाभ, मिनाहा लाभ सुविधा, मासिक आय सुविधा, घातक रोग सुविधा, काजक्रिया खर्च, दोब्बर बिमांक सुविधा लगायत विषयमा जानकारी लिनुपर्छ । बीमाले जोखिम बहन गर्ने वा नगर्ने अवस्था थाहा हुनुपर्छ । बीमामा विभिन्न सिद्धान्तहरु रहेका हुन्छ । जसमध्ये जीवन बीमामा बीमायोग्य हितको सिद्धान्त र परम सद्विश्वासको सिद्धान्तका बारमा थाहा हुनुपर्छ ।

निप्सको सचिव भएर पनि काम गरिरहनुभएको छ । निप्सले केकस्ता गतिविधि सञ्चालन गरिरहेको छ ?

बीमा क्षेत्रमा कार्यरत अफिसर भन्दा माथिका साथीहरु निप्समा आबद्ध हुनुहुन्छ । निप्स पोखरा च्याप्टरमा साथीहरुको आकर्षण पनि बढिरहेको छ । बीमा क्षेत्रको समसामयिक नीति नियमहरुका सन्दर्भमा बहस तथा छलफल, समय समयमा अन्तरक्रिया कार्यक्रम, सरोकारवालाहरुसँग छलफल तथा बहस लगायतका कार्यक्रम भएका छन् । समग्रमा हाम्रो मुख्य उद्देश्य बीमाको प्रचारप्रसार र प्रवद्र्धन हो । यसैमा हामी केन्द्रित छौं । स्थापना दिवसमा फुटसल प्रतियोगिता लगायत अन्य विविध कार्यक्रममा हाम्रो सक्रियता निरन्तर भइरहेको छ ।

You might also like

Comments are closed.