काठमाडौं । सूर्य उपासना र आस्थाको पर्व छठ देशभर आज धूमधामका साथ मनाइँदै छ । आज बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिइनेछ भने भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि पर्व विधिपूर्वक समापन हुनेछ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यस पर्वमा बर्तालुहरूले कठोर निराहार व्रत बस्ने र रातभर जाग्राम गर्ने परम्परा छ। छठ व्रत सम्पन्न गर्नाले परिवारमा सुख, शान्ति र समृद्धि आउने विश्वास गरिन्छ ।
तराई–मधेसका समुदायको प्रमुख पर्व मानिने छठ पछिल्लो समय पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा पनि उत्साहका साथ मनाइने परम्परा बढ्दो छ। राजधानीमा गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, विष्णुमती र नख्खु नदी किनारहरू विशेष रूपमा सजाइएको छ ।
२०४६ सालदेखि सरकारले छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिने गरेको छ ।








Comments are closed.