बागमतीका मुख्यमन्त्रीले आज राजीनामा दिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज राजीनामा दिने भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा हिजो दोस्रो पटक छलफलपछि लामा राजीनामा दिन तयार भएका हुन् । उनले आफ्ना तीन जना सांसदलाई मन्त्री बनाउनुपर्ने सर्त भने राखेका छन् ।राजीनामापछि कांग्रेस प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा बागमतीमा नयाँ सरकार गठनको बाटो खुल्नेछ ।

आफ्नो पक्षका १४ सांसदसहित लामा र मुख्यमन्त्रीका दाबेदार बानियाँबीच छलफल भएको थियो । सभापति देउवाको उपस्थितिमा भएको बैठकमा सरकार सञ्चालन र मन्त्री भागबन्डामा सहमतिपछि लामा राजीनामा दिन तयार भएका हुन् । नयाँ सरकारमा लामा पक्षले प्रस्ताव गरेका कम्तीमा तीन मन्त्रीको सहभागिता हुनुपर्ने सहमति भएको छ । उनले आर्थिक मामिला तथा योजना मन्त्रालय आफ्नो पक्षले पाउनुपर्ने माग पनि गरेका छन् ।

दुई दलीय सरकारमा मुख्यमन्त्रीसहित कांग्रेसका ८ र एमालेका ६ मन्त्री थिए । आन्तरिक विवादका कारण कांग्रेसका पाँच मन्त्रीले राजीनामा दिएपछि सरकारमा मुख्यमन्त्रीसहित कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्री कुन्दन काफ्ले र सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी मात्रै छन् । राजीनामा दिएका पाँच मन्त्री बानियाँको पक्षमा छन् ।

You might also like

Comments are closed.